खोई तिम्रो वर्गीय प्रेम ?
-रामप्रसाद घिमिरे / सालझण्डी-७, रुपन्देही
कति सुन्दर परिचय थियो तिम्रो
आधी आकास
कोमल नारी
सृष्टिकी जननी
प्रेमकी खानी
धैर्यताकी पहाड
त्यती मात्र कहाँ हो र ?
नारी मुक्ति अनि
पुरै मानव मुक्तिका लागि
मृत्यु वा मुक्तिको कसम खाएर
संर्घषमा होमिएकी योद्धा
क्रान्ति नायककी संगिनी
जनताद्धारा अनुमोदित विरंगना
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
के भयो आज तिमीलाई ?
कहाँ गयो तिम्रो नारित्व ?
किन सुक्यो तिम्रो संवेदना ?
खोई तिम्रो वर्गीय प्रेम ?
खोई प्रतिशोधको मशाल ?
खोई इतिहासको स्मरण ?
तिम्री बहिनी बलात्कृत हुँदा
खुसिले गदगद हुन्छेउ रे
तिम्री छोरीको चीरहरण हेरेर
ताली बजाउँछेउ रे
हत्यारा र अपराधीहरुलाई
निर्दोष बालिकाका बलत्कारीहरुलाई
तक्मा बाँड्दै हिँड्छेउ रे
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
आजकल त तिमी
जुन थालमा खायो
त्यही थालमा चुट्छेउ रे
कानुनी राज्यको खिल्ली उडाउँदै
निशाफ माग्नेलाई कुट्छेउ रे
राजनीतिक परामर्स लिन
वर्ग-बैरीकोमा जान्छेउ रे
शिशाको घरभित्र बसेर
सहकर्मीलाई ढुङ्गा हान्छेउ रे
टुप्पामा बसेर फेद काट्छेउ रे
पद-पैसासँग वर्गीय प्रेम साट्छेउ रे ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
हुँदा हुँदा अव त-
आफ्नै वर्गको खैरो खन्छेउ रे ।
जसको शिकार गरियो
उसैलाई शिकारी भन्छेउ रे ।।





