यिनीबाट नेपाली कम्युनिस्टले केही नसिक्ने ?

(आज वर्ष १६, अंक १०, २९ वैशाख २०६७ बुधबार जनआस्था साप्ताहिकमा प्रकाशित मेरो लेख) ।

एक दिन अकस्मात् फोन उठाउनासाथ एकजना महिला स्वरले भन्यो, ‘तपाईं सापकोटाजी बोल्नुभा’को हो ? तपाईंलाई एलेजी प्यालेस (राष्ट्रपती भवन) बाट फोन छ ।’

अचम्म लाग्यो । यत्रो शक्तिशाली मुलुकको त्यति बिघ्न व्यस्त ठाउँमा मेरो को होला ? किन आउने होला फोन ? मन धुकचुक भयो । केही सेकेन्डमा एकजना पुरुष स्वर बोल्यो- ‘नमस्ते, म पियर माजो बोलेको । तपाईंको चिठी पाएँ । हामी फ्रान्सेलीबारे पुस्तक लेख्दै हुनुहुँदोरहेछ, खुसी लाग्यो । म अहिले राष्ट्रपतिको प्रमुख कानुनी सल्लाहकार छु । व्यस्त छु । अबको १७ दिनपछि मैले छोड्दै छु । अनि मेरै घरमा भेटौँला हुन्न ?’ नाइँनास्ती गर्ने कुरै भएन । लगत्तै उनले एलिजे प्यालेसकी सायद आफ्नै निजी सचिवलाई फोन दिएर भेटघाटको मिति तय गर्न लगाए ।

ज्याक सिराक सत्तामा हुँदै केही दिनअघि नै उनले राजीनामा दिएर हिँड्दै रहेछन् । भेटघाटको मिति तोकियो । भेटघाट गर्ने ठाउँको ठेगाना बिजुलीपत्र मार्फत् पठाए । सगरमाथा आरोहण गर्ने पहिलो फ्रान्सेली हुन् भन्ने जानकारीसम्म थियो । अनि थियो, हाम्रो सगरमाथामा विजयी भएपछि उनी खेलकुदमन्त्री बने भन्ने हेक्का पनि । बाँकी उनको नालिबेली इन्टरनेटबाट खोजेर पत्ता लगाएँ । अन्तर्वार्ताको दिन आयो । हाम्रा अधिकांश नेता एकपटक सत्तामा पुगेपछि भव्य महल र महँगा विदेशी चिल्ला गाडी दौडाउने गरेको देख्ने अभ्यस्त यी नेपाली आँखा । नेता भनेपछि मस्ती गरेका होलान् भनेर विश्वस्त भइसकेको यो मन । यी त विश्वप्रसिद्ध आरोही । फ्रान्सेली राष्ट्रपतिकै त्यस्तो विश्वासपात्र । प्रमुख कानुनी सल्लाहकार । अन्तर्राष्ट्रिय कानुनमा पिएचडी गरेका । अन्तर्राष्ट्रिय संवैधानिक कानुनका ज्ञातामा नाम । यस्ता मान्छेको आलिशान महल देखिने भो आज । फ्रान्सका धनी, शक्तिशाली मान्छेको भव्य सुविधायुक्त भवन देख्न पाइने भो भनेर खुसी भएँ ।

उनी बस्नेरहेछन् पेरिसको ल मारे भन्ने एउटा साँघुरो गल्लीभित्र । उनले दिएको घरको नम्बर देखेर पनि म अल्मलिएँ । फुस्रो, रंग उडिसकेको सामान्य यस्तो घरमा त यी मान्छे बस्छन् जस्तै लागेन । यताउति हेर्दाहेर्दै सबै उस्तैउस्तै पुराना घर देखेपछि भित्र पसेँ । गेटसम्म छैन । यो अपार्टमेन्टले रङसमेत देख्न नपाएको निकै वर्ष भएछ भन्ने घरभित्र नपस्दै पाप्रा परेका भित्ताले हाकाहाकी बताइहाले । साँघुरो छ कोठामा पस्ने बाटो । अँध्यारो छ । भित्र जाँदा देखियो- दाहिनेतिर अति सामान्य एउटा कोठा छ । उनको सुत्ने कोठा रहेछ । सामान्य ओछ्यान पल्टाएर राखेका । सानो भान्छा । यस्तो सुविधासम्पन्न मुलुकमा बसेका उनी पकाएर खान पुग्नेबाहेक त्यस्तो केही सामान्य देखिन्न । अलि भित्रपट्टी अर्को एउटा कोठा छ । अलि कुनामा जाँदा टाउकोले छानो ठोक्छ । कुनाको किताब झिक्नुपर्दा टाउको निहुर्‍याउनुपर्छ । चारैतिर पुस्तकै पुस्तक राखेका छन् माहुरीले घार उनेजसरी । भुइँमा पनि पुस्तक छरिएका छन् । एउटा चाक्लो टेबल छ । त्यसका वरिपरि पनि पुस्तकले बार लगाएजस्तै लाग्छ । बीचमा चुरोटको धुलो राख्न एस्ट्रे । उनको कार्यकक्ष भनेकै त्यही टेबल रहेछ । ठाउँ-ठाउँमा भ्वाङ परेको गलैँचाले ढाकिएको छ भुइँ । भुइँमा दुई वटा पुरानो शैलीका कुर्सी छन्, पाहुना जाँदा स्वागत गर्ने । एउटामा बस्न मिल्छ । अर्को लंगडो अवस्थामा छ, तेस्रो खुट्टा भाँच्चिएर । तैपनि उनी बस्नूस्-बस्नूस् भनेर तारन्तर आग्रह गरिरहन्छन् । एकजनाभन्दा बढी उनीकहाँ पुग्दा कि त त्यही लंगडे कुर्सीलाई भित्ता वा पिल्लरमा अड्याएर बस्नुपर्छ कि त भुइँमा ।

उनी आफैँलाई हेक्का नभएको भने होइनरहेछ, म सामान्य जीवनशैलीमा रमाइरहेको छु भन्ने । ‘मेरा दुई बच्चा अन्तै बस्छन् । यहाँ म एक्लै । मेरो बस्ने ठाउँ यस्तै छ, चलिरहेकै छ, ‘सुनाए उनले । आफू लेखपढमा रमाउने गरेको, व्यक्तिगत जीवनशैलीलाई ध्यान दिन नसकेको अनि सामाजिक काम गर्दै फूर्सद नभएको पनि सुनाउन भ्याए । भन्दै थिए, ‘मैले सुखसुविधा र घरमा ख्याल गर्न भ्याएको छैन । हामीले अझ धेरै गर्न बाँकी छ, त्यसैले सामाजिक कामतिर दौडिने गर्छु’ अहिले चार्ल्स द गोल फाउन्डेसनमार्फत सामाजिक काममा व्यस्त रहेछन्, उनी ।

युरोपकै सबैभन्दा अग्लो मों ब्लँ हिमाल चढेपछि उनलाई सगरमाथा चढ्ने जङ चलेछ । अनि सन् १९७१ मै कोसिस गरे । तर, मौसमले तगारो हालेपछि फर्केछन् । घाइते बाघझैँ भइहाले उनी र सगरमाथाको तर्कनाले छाडेन । बर्कुँलाझैँ खस्ने हिउँ, विविध जातिको अनेक संस्कृतिको संगम । यतै झरना, उतै कुलेसा । दूधजस्ता नदी । अनि सांसद रहेकै वेला १९९८ मा फेरि नेपाल पुगे । योपटक भने उनले जिते ।

राष्ट्रपतिका निकट । बहालवाला सांसद । नाम चलिसकेका आरोही । सगरमाथा चढ्ने पहिलो फ्रान्सेली । फ्रान्समा उनले पाउनुसम्म सम्मान पाएछन् । उनले सगरमाथामा विजय गरेको उपलक्ष्यमा सरकारले एक दिन र्सार्वजनिक बिदा मात्रै दिएन कि राष्ट्रिय पर्वका रूपमा मनायो पनि । फ्रान्सभरि हर्ष र उल्लासको सीमा रहेन । लगत्तै आफ्नो सगरमाथा आरोहणका विषयलाई उनेर उनले एउटा पुस्तक लेखे- माउन्तानिय पोर आँ नोम नु (एक नांगो व्यक्तिका लागि हिमाल) भन्ने । त्यो पुस्तक पनि यति लोकप्रिय भयो कि केही वर्षै सकियो ।

पहिलोपटक उनी नेपाल आरोहणका लागि जाँदा अहिलेझैँ हेलिकोप्टरले सारा सामान बोकेर लगिदिने सुविधा थिएन । चार सय भरियाको लावालस्कर अघिपछि लगाएर उनी पैदलै गएका रहेछन् । काठमाडौंमा हिप्पीयुगको रमझम देखेर भागेछन् । त्यसवेलासम्म नेपालमा त्यति धेरै जातजाति र भाषाका मानिस बस्छन् भन्नेसम्म ज्ञान रहेनछ उनलाई । नेपालको हिमालले उनलाई जीवनमा आनन्द, खुसी, सफलता, अन्तर्राष्ट्रियस्तरको आरोहीको उपाधि, प्रसिद्धी र प्रशंसा सबै दियो । जीवनको सबैभन्दा खुसीको क्षण नै सगरमाथामा पाइला हाल्दाको हो उनका लागि । त्यसैले पनि ती दिनले हरेक दिन सम्झाउँछन्, हसाउँछन् । अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहीमा उनको नाम गनिन्छ । उनी पनि त्यस्ता थुप्रै अन्तर्राष्ट्रिय पर्वतारोहीलाई त्यही सगरमाथाकै कारणले चिन्छन् । नेपाललाई के दिने ? आफूले थुप्रै लिएर केही दिन नसक्दा मन भारी हुनु अस्वाभाविक होइन । त्यही भावनाले उनको मन पनि लच्किएको रहेछ । भित्रैदेखि मनको कतै कुनामा सगरमाथा जितेदेखि नै एक खालको गुँडले घरजम गरेको रहेछ- मैले धेरै पाएँ, धेरै लिएँ, अब के दिऊँ भन्ने ।

त्यहीवेला उनले देखेका, गोडा चोबलेका, तरेका थुप्रै हिमनदी, ताल र नदीनालाको कञ्चन पानी उर्लिंदै बग्यो उनका मनमा । ओहो ! यो पानीलाई झयाप कि झयाप बोतलमा हालेर पठाए पनि नेपाललाई अरू केही चाहिने थिएन । यस्ता भीरबाट ‘मलाई प्रयोग गर, समृद्धशाली बन’ भनेर फलाक्दै बगेका यी नदीनालाबाट बिजुली निकाले पनि नेपालीको थाप्लोबाट दुःखका दिन हटाउन मुस्किल पर्दैन । अनि आफ्नै पहलमा उनले केही फ्रान्सेली इन्जिनियरलाई नेपाल पठाए, ‘लौन सम्भाव्यता अध्ययन गर, कति दाम चाहिन्छ म जोहो गर्छु भन्दै । उनले त्यसलाई युरोपेली संघमार्फ नै अगाडि बढाएका रहेछन् । नेपाली इन्जिनियरहरूले स्थानीय रूपमा सहयोग गरे ।

तर, उनको मन हाँस्न पाएन । हिमालको त्यो उचाइमा बाँध बनाउन नपाउँदै ढुंगा, गेगर र बालुवाले भत्काउँछ, टिकाउ हुन्न भनेपछि इन्जिनियरको टोली त्यसै फर्कियो । उनी निराश बने । के सहयोगका अरू बाटा कतै थिएनन् ? नेपालले त्यस्तो प्रयत्न अरू क्षेत्रमा प्रयोग गर्न नसक्दो हो ? कुनै पनि नेपाली अधिकारी, प्रशासक, नेताले उनलाई त्यसपछि कहिल्यै सर्म्पर्कसम्म गरेनन् । त्यही गुनासो सुनाउँछन् उनी- मलाई नेपालले कहिल्यै सर्म्पर्क गरेन । म पनि आफ्नै काममा व्यस्त रहेँ ।

भर्खरै शेर्पा पहिरन देखेको । केही बेरमै फेरि बख्खुजस्ता लुगा लगाएका अर्कै जाति । छिनभरमै फेरि घुम ओढेजस्ता लुगा लगाएका तामाङहरू । नाङ्ला फड्कारेजस्ता रिङ हल्लाउँदै आएका तामाङ्नी । यो के हो यस्तो ? कतै कलाकारले रङ भरेको त होइन ? जिल्लाराम परेका रहेछन् उनी । त्यसो त नेपाल पुग्दादेखि नै खुसीका फोहोरा फुट्न थालेका रहेछन् उनका । विदेशीका लागि भर्खरैदेखि खोलिएको त्यो नयाँ मुलुकभित्र धेरै रहस्य छन् भन्ने अवगत नभएको त होइन नै । प्राकृतिक रूपले सजिएको । मिलनसार, खुला र दयालु आत्मा भएको । विविध सांस्कृतिक र संस्कार बोकेको सानो मुलुक हेर्न पाउँदा अरू थुप्रै विदेशीझैँ उनी पनि हर्षे बहुलाए । तिनै खुसी र रमाइलोका बीचमा उनी वेलाबखत अचम्म पनि पर्नेरहेछन् । सुनाए- मलाई त्यो देशमा स्कुल नै नजाने बालबालिका पनि छन् भन्नेसम्म जानकारी थिएन ।

नेपालीसित विदेशीलाई मुर्छा बनाउने धेरै तत्त्व छन् भन्छन् पियर माजो । पैसा त यही मुलुकमा छ नि ! भौतिक सुख-सुविधा पनि मनग्गे छ, पश्चिमी मुलुकमा । हिमाल पनि त नभएका होइनन् । ताल-तलैया, वन र जंगल हेर्न पनि त नेपाल पुग्नैपर्छ भन्ने छैन नि ! के ले बनाउँछ त त्यस्तो हुरुक्क ? सुनाए- नेपालीहरू दयालु छन् । हँसिलो अनुहारले स्वागत गर्दा सबैलाई आत्मीयता बढाउँछ । हार्दिकता उत्तिकै पाइन्छ नेपालीमा । दुई हात जोडेर नमस्कार टक्य्राउँछन् । ॐ माने पद्मे हुम भन्दै सत्कार गर्छन् । हामी पश्चिमाका लागि त्यो ज्यादै मीठो कुरा हो । यस्ता कुरा हामीले हाम्रो देशमा पाउँदैनौँ । हामीलाई भुतुक्क पार्ने यस्तै स-साना कुराले हुन् ।

सिगारका अम्मलिरहेछन् उनी । एउटा सिगार छोटिन नपाउँदै अर्को सिगार लाइन लागेर टेबलमा आइपुग्नेरहेछ । फुंग सिगारको धुवाँ उडाउँदै उनी अफ्रिका र ल्याटिन अमेरिकाका मुलुक गएका सम्झना सुनाउँथे । अनि क्षणभरमै फेरि नेपालको भूगोलमा आइपुग्थे । १९९८ मा नेपाल जाँदा उनले शेर्पाहरुलाई भेला गराएर निकै नाचगान गरेका रहेछन् । सगरमाथा विजयी भएर फर्केपछिको त्यो नाचगान उनको मानसपटलमा निरन्तर नाचिरहनेरहेछ । सन् १९७३ मा सगरमाथामा पहिलो प्रयास गर्दा लगेका शेर्पाहरुलाई नै अर्कोपटक १९९८ मा लगेछन् । त्यत्रा वर्षम्म पनि उनी सर्म्पर्कमै रहेका । ‘उनीहरूले मलाई आ-आफ्नो घरमा लगेर सत्कार गरे । त्यसको छुट्टैखाले आनन्द आयो । सँगै मिलेर खाइयो । रक्सी पनि मज्जाले पिइयो । नाचगान र मज्जा गरेर निकै हाँसियो,’ मुस्किलले हाँस्ने उनी यो बेला भने दिल खोलेरै हाँस्दै सुनाए, ‘१९७८ मा भएको भेटका क्षणहरूको सम्झना पनि भरपुर गरियो । तर, मलाई के नराम्रो लाग्यो भने यति विछट्टै सुन्दरता बोकेको यस्तो मुलुक घरायसी झगडाले गाँजिएको । राजनीतिक र सांस्कृतिक समस्याले विकास पनि अवरुद्ध भएको ।’

सत्ताको मूलकेन्द्रमा नरहे पनि उनको पहुँच यो देशमा अझै कम्ती छैन । राष्ट्रपति ज्याक सिराकको कालमा नौ वर्षसंवैधानिक सल्लाहकार भए । ३० वर्षति सांसद र पाँच वर्ष युवा तथा खेलकुद मन्त्रीको भूमिका पनि पूरा गरे । फ्रान्समा पाँचौँ पटकमा स्थायी गणतन्त्र आएपछिका प्रथम राष्ट्रपति चार्ल्स द गोलसँग पनि काम गर्ने अवसर पाए उनले । उनको त्यही प्रभाव, प्रसिद्धी, इमानदारी र ज्ञानकै कारण राष्ट्रपति निकोर्ल सार्कोजीले पनि उनलाई फेरि संवैधानिक सल्लाहकार बन्न आग्रह नगरेका होइनन् । तर, उनले स्वीकार गरेनन् ।

पुस्तकका लागि ३० विशिष्ट फ्रान्सेलीको अन्तर्वार्ता लिँदा म नेपाललाई उनीहरूले गर्नसक्ने सहयोग र सम्भाव्यता अनि उनीहरूको तत्परताबारे पनि बुझने कोसिस गर्थें । पियर माजोलाई पनि नेपाल अहिले दसौँ वर्षलामो द्वन्द्वबाट प्रजातान्त्रिक पद्धतिमा फर्किएको, अब नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन प्राविविधक र आर्थिक सहयोगको खाँचो रहेकाले फ्रान्सले कस्तो सहयोग गर्न सक्ला ? अनि युरोपेली परिषद्मा लबी गर्नेबारे उनी के सोच्लान् ? यही प्रश्न तेर्स्याएँ ।

यसपटक उनी भावुक देखिए । सिगार च्यापेका उनले एस्ट्रेमा अड्याए । किन हो कुन्नि भित्तामा झुन्डिएका सगरमाथा आरोहणका फोटातिर आँखा डुलाउँदै भने, म थुप्रै देशमा सहयोग गर्न आफैँ अघि सरेँ । नेपाललाई झन् किन नगर्ने ? नेपाल स्वयंले हामीलाई यस्तो सहयोग देऊ, नभनेसम्म फ्रान्स आफैँले तिमीहरूलाई यस्तो सहयोग गर्छु भन्ने कुरा हुँदैन ।’

अन्तर्वार्ता क्रममा गला तन्किएर काँध देखिने गन्जी अनि सुर्किने गाँठोसहितको हाफपाइन्टमा उपस्थित उनले आश्वस्त पारे, ‘यदि नेपाली दूतावासले मलाई ‘पियर माजो, तपाईंले हाम्रो देशलाई यस्तो सहयोग गरिदिनुपर्‍यो’ भनेर मागोस् त म यो लुगा पनि नफेरी भोलिपल्टै काठमाडौं जान तयार छु । नेपाललाई जेजस्ता सहयोग चाहिन्छ तयार छु ।’

तपाइँको प्रतिक्रिया