नेपाली शीरमाथि अपमानको कोशेली
-एस बी छन्त्याल / बेल्जियम
हजुरआमा दसैंको जमारा सँगै आशिर्बाद दिन्थिन कुनै बेला यसो भन्दै “ब्रिटिस लाहुरे भएस्, थुप्रै पैसा कमाएस्, क्याप्टेन ल्याप्टेन भएस् , नाम राखेस् ।” बेल्जियमको राष्ट्रिय दैनिक शनिबार अंक “फोटो अफ द डे” मा छापिएको यो तस्वीर सँगैको कट्लाइनमा लेखिएको शिर्षक देखेर हृदयमा सिंगो पहाडले किचिरहेको छ ।
दक्षिण अफ्रिकामा हुन गैरहेको विश्वकप फूटबल अबधीभर ब्रिटिश फूटबाल खेलाडी वायन रोनी (Wayne Rooney) को भिला चौकिदारको लागि गोर्खालीलाई छानिँदै छ । भैंसी जत्रा अक्षरमा यही लेखिएको छ । यसले गर्दा नेपालीहरुको स्तर भनेको चौकीदारी गर्ने हो भन्ने सन्देश विश्वभरि जान सक्छ । किनभने यसका बारेमा विश्वभरीका मानिसहरुले थाह पाउने छन् । यदी यस्तै अपमानका शब्द अन्तरराष्ट्रिय छापामा लेखिने थिए भने म त बरु भन्ने थिएँ- हजुरआमा मलाई ब्रिटिश लाहुरे होइन बरु आफ्नै देशको सम्मानित भरिया हुने आशिर्बाद दिनुस् ।





