‘जावो’ मान्छे र रातहरु

-विद्या सापकोटा
 
 म आफ्नो बाहुपासले भ्याएसम्मको सपना अँगालेर
निदरीको देशमा शरण खोजिरहेको हुन्छु
मेरो निद वेचैन हुन्छ अकारण
त्यसैले मबाट उछिट्टिने प्रयासमा फट-फटाइरहन्छ ।।
 
म हर-रातभरिको
स्वाप्निल संसारको प्रतिक्षामा तिर्खाइरहेको हुन्छु
तर मेरा रातहरु
हरेकपटक उज्यालो लालिको ब्यग्र चाहनामा डुबिरहेका हुन्छन् ।।
 
म एउटा ‘जाबो’ मान्छे,
उज्यालो भरि जिस्क्याइरहन्छ, बस्तिले/बासिन्दाले
अत्याइरहन्छ बार-बार, भोकले/विवशताले ।।
 
त्यसैले त, मलाइ अन्धकार मन पर्छ
अँध्यारोमा म फोहरलाइ पहाड सम्झन सक्छु
भुस्याहा कुकरले मेरो पिछा पनि त गर्दैन
सुकिला र सभ्य वृतमा मेरो छायाँ पर्दैन
भिडमा हराउन्न म, सडक चाहार्दै मज्जाले कावा खान सक्छु
फेरि भिखारी सोचेर कसैले दुइ पैसा पनि त फाल्दैन ।।
 
त्यसैले, रात सम्झेरै रोमाञ्चित हुन्छु
त्यसै त्यसै फुर्फुरिन्छु, उत्ताउलिन्छु
तर मेरो रात म देखेरै दिक्क छ सायद ।।
 
सायद ! त्यसैले ,
मेरा अँगाला भरिका कल्पनाहरुलाइ
ऊ सपनामा हुत्याउन पनि दिदैंन
रमाउने एउटा मिठो अनुभुती बुनेर
लोलाउन लाग्दा-नलाग्दै
टल्कदो राक्षसी दाह्रा देखाउँदै
त्यो पापि उषा ओइरिदिन्छ ।।
 
म एउटा ‘जावो’ मान्छे
सपना पनि देख्न नसकेर लुटिइरहन्छु
हदभागी म र मेरा रातहरु
असफतामै तुहिरहन्छन्, तुहिरहन्छन् ।।
 
-कल्याणपुर-७, नुवाकोट
-हालः शंकरदेव क्याम्पस, MBS 
[email protected]

तपाइँको प्रतिक्रिया