आज आम हडतालको तेस्रो दिन
भोलीदेखि स्थिति असहज-
आजसम्म सामान्य एकाध घटना बाहेक प्रदर्शनी र आम हड्ताल शान्तिपूर्ण थियो । तर भोलीदेखि ? सामान्य होला जस्तो देखिन्न । आजै बाट माओवादीले आन्दोलनको स्वरुप फेरेको छ । भोली कुनैपनि मन्त्रीलाई सिंह दरबार छिर्न नदिने उद्घोष गरिएको छ । सराकारका मन्त्रीहरु अहिलेसम्म हातहतियारयुक्त प्रहरीको गाडीमा सिंहदरबार छिर्दै आएका थिए । भोलीदेखि माओवादीले तिनलाई छिर्न नदिने घोषणा गरेको छ । सरकारले भने पक्कैपनि त्यसलाई सरक्क मानेर बस्ने छैन । उसले बल प्रयोग गरेरै भएपनि सिंहदरबार छिराउने कोसिस गर्ने छ । उता माओवादी कार्यकर्ताले भने त्यसको प्रतिकार गर्नेछन् । त्यसैले भोलीदेखि स्थिति असमान्य हुने र अवस्था देखिएको छ ।
अपडेट – आन्दोलनकारीहरु अब कडा रुपमा प्रस्तुत हुने-
नेकपा (एमाओवादी) का अध्यक्ष प्रचण्डले माओवादीहरु अब कडा रुपमा प्रस्तुत हुने दाबी गरेका छन् । त्यत्रो मानव सागर उत्रिएर शान्तिपूर्ण जुलुस, प्रदर्शनी र घेराउ गर्दापनि सरकारले कुनै सुनुवाई नगरेपछि अब कडा रुपमा प्रस्तुत हुनुको बिकल्प नभएको बताएका हुन् । उनको भनाईमा आन्दोलनकरीहरु अब दिनप्रतिदिन कडा हुँदै जाने र मागहरु पुरा गराएर छाड्ने पनि बताएका छन् । आज काठमाडौं चक्रपथलाई हजारौं युवाहरुको साङ्लोले घेराउ गरेपछि उनले त्यस्तो दाबी गरेका हुन् । उनले आन्दोलनलाई देशैभरि अझ सशक्त पार्नेपनि स्पष्ठ पारे।
अपडेट– राजधानीमा झडप-
राजधानीको सतुङ्गल र नैकाप क्षेत्रमा बन्दको विरोधमा उत्रेका एनेकपा (माओवादी) का कार्यकर्ता र स्थानीय बासिन्दाबीच झडप ।
नैकापमा एक स्थानीय बासिन्दाले मोटरसाइकल चलाएको भन्दै ५/७ जना माओवादी कार्यकर्ताले मोटरसाइकल तोडफोड गर्न थालेपछि स्थानीय बासिन्दा र माओवादी कार्यकर्ताबीच झडप भएको हो ।
बजार बन्दको विरोधमा उत्रेका स्थानीय बासिन्दाका कारण सो क्षेत्र केहिबेर तनावपूर्ण अवस्थामा पुगेको थियो ।
आफूहरूले मागेजति चन्दा दिइरहँदा पनि बलजफ्ती पसल बन्द गराउन दबाब दिएको भन्दै स्थानीय बासिन्दाले एकीकृत माओवादीका तीन कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । उनीहरूले माओवादीका लागि खानेपानी ओर्सार्ने ट्याङ्कर चल्न नदिने चेतावनी दिएकोपनि राससले जनाएको छ ।
अपडेट-सहमतीका लागि प्रधानमन्त्री सहित फेरी बैठक-
माओवादीसित सहमतीका लागि अहिले केहिबेरमा नेकपा (एमाले) र नेपाली कांग्रेसबिच बैठक बस्दैछ । माओवादीसित कतिसम्म लचक हुने र कसरि सहमतीमा पुग्ने भन्ने विषयमा पहिले सत्ता साझेदार दुई दलबिच सहमती गर्नकालागि अहिले बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । यो बैठकमा प्रधानमन्त्री माधव कुमार नेपालको समेत सहभागिता रहने छ ।
अपडेट-चक्रपथ घेरिँदै-
आज आम हडतालको तेस्रो दिन माओवादी प्रदर्शनकारीहरुले अलि भिन्न तरिका अपनाउने भएका छ । उनीहरुले आज चक्रपथ घेर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । अहिले माओवादीका यूवाहरु चक्रपथ घेराउका लागि साङ्ले जुलुस बनाउँदै छन् । नेवा राज्य समितीले त्यसको लागि सबै युवाहरुलाई रातो पहिरन दिएको छ र उनीहरु त्यहि लगाएर साङ्लो बनाएर चक्रपथ घेर्ने छन् । राजधानीबाट केहि कार्यकर्ताहरु घर फर्किन लागेको र स्थानियबासीहरुको सहभागितापनि आशा गरे अनुरुप नदेखिएपछि आम हडतालमा सहभागिता बढाउनको लागि चक्रपथ घेर्ने नौलो कार्यक्रम ल्याइएको बताइएको छ ।
अपडेट-नगर सफाई गर्दै वाईसिएल-
आम हडतालबारे कति नराम्रो समाचार मात्रै सुन्ने ? कहिलेकाहिँ त राम्रो समाचार पनि सुन्न पाए !!! आम हडतालमा उत्रिएका माओवादीको भात्री संगठन वाईसिएलका सदस्यहरुले आज बिहानै देखि काठमाडौंको सडक सफा गर्न थालेछन् । हात हातमा कुचो र फोहोर बटुल्ने सामान बोकेर हिँडेका उनीहरुको टोलीले पुरानो बसपार्क, डिल्लीबजार, पुतलीसडक, पद्मोदय स्कूलको चोक लगायतका ठाउँमा सरसफाई गरेका रहेछन् । सफाईको नेत्रित्व वाइसिएलका अध्यक्ष गणेश पुनले गरेका रहेछन् ।
°°°°°°°°°°°°°°°°°°°°°°
हिजो बेलुका भएको तिन दलको बैठकपनि बिना कुनै निष्कर्ष टुंगिएपछि आज तेस्रो दिनपनि जारी छ आम हडताल । बिहानैदेखि माओवादी कार्यकर्ता र समर्थक सडकमा उत्रिएका छन् । हिजोको भन्दा आज सहभागिको संख्यामा कमी देखिएको छ । तर मध्यान्ह पछि संख्या बढ्न सक्ने बताइएको छ । किनभने माओवादी समर्थकहरुलाई लिन सवारी साधनहरु ठाउँ ठाउँमा बिहानै देखि खटाईएका छन् । स्थानिय मानिसहरुलाई आम हडतालमा सहभागि हुन आग्रह गर्दै माओवादी कार्यकर्ताहरु परिचालनपनि गरिएका छन् बिहानैदेखि ।




