अझै तलब कुम्ल्याउने जुक्ति निकाले सभासदले
दुई वर्षसम्म हाम्रा सबै दलका सभासदको मुख्य जिम्मेवारी के थियो ? किन गएका थिए संसदमा ? के भनेर गएका थिए ? तिनको मूल काम शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र नयाँ संबिधान बनाउने । त्यसैको लागि गरिब नेपालीको रगत र पसिनाबाट जोगिएको तलब मासिक रुपमा भकाभक खाए । अझ के के तालिम र भ्रमणका नाममा देश बिदेश डुले । सरकारी ढुकुटी सत्यानाश पारे । बरु कतिले त फर्जी बिल बनाएरपनि खाए । तर न बन्यो संबिधान न पुर्याए शान्ति प्रक्रियालाई टुंगोमा । दुई वर्षसम्म सकेनन् । तर संबिधान सार्वजनिक गर्ने समय नजिकियो । अनि पोल्न थालेछ सभासदहरुलाई खुरुखुरु आउने गरेको मासिक तलबले । त्यहि भएर अहिले त्यो मासिक तलब अझै खानकालागि सभासदहरुले नयाँ जुक्ति निकालेका छन् । जनतालाई ढाँटेर अझै तलब खाने जुक्ति ।
माओवादीले त सरकारलाई अप्ठेरोमा पार्न होला, संबिधान सभाको म्याद नथप्ने भनिसकेको छ । सरकारसित कुनै विषयमा फेरी सहमती भयो भने थप्ला कि नथप्ला ? यसै भन्न सकिन्न । कांग्रेसले यस विषयमा आधिकारिक धारणा ल्याइसकेको छैन । सरकारमा पनि आफैं बस्ने तर जिम्मेवारी पुरा गर्न नसक्ने र राष्ट्रिय ढुकुटी सिध्याएर तलब खाने नयाँ प्रस्ताब गर्न कम्युनिष्ट नामधारी सरकार सञ्चालक एमाले सबैभन्दा अगाडि देखिएको छ ।
कानुनबिदहरुले चाहिँ संबिधान सभाको म्याद नथप्न सुझाव दिएका छन् । बरु नयाँ जनादेशकालागि निर्वाचनमा जाने सुझाव तिनको छ । तर एमालेका सभासदलाई भने तलब जाने भो भन्ने पिरलो धेरैनै रहेछ । धेरै पोलेको रहेछ । उनीहरुले संबिधान सभाको मीति अझै लम्ब्याउनु पर्ने भनेर निर्णय गरेका छन् ।
दुइ वर्षसम्म बनाउन नसकेको संबिधान अब छ महिना थप्दापनि बन्दैन भनेर एमाले नेतालाई जानकारि छ । जनतालेपनि बुझेका छन् । किनभने दलहरुबिच सहमति नभइ त्यो अब पाँच वर्ष थपेपनि संभव छैन । दलहरु सहमती गर्नुभन्दा झन् झन दशतिर फर्किँदै गएका छन् । एमाले संसदिय दलको बैठकले भने त्यो बुझेरपनि संबिधान सभाको समय बढाउन प्रस्ताब गरिसकेको छ । त्यसो भयो भने अझै छ महिना भएपनि तलब कुम्ल्याउन पाइने भयो । लाज नभएका देश लुटेराहरुको कति राम्रो जुक्ति !!




