पथिक

विद्या सापकोटा

आस्थाको पथतिर लम्किरहेको

म एक पथिक

देवी-देवालय

मन्दिर-मस्जिद र

चर्च-गुम्वा तालतलैया

यताउता लहरिदै दौडिरहेको

बाटो नभेट्टाएर/बाटो भेटेरै /बाटो खोज्दै ।।

…………………………. 

म सुन्छु, म भन्छु, म पढ्छु

 स्वस्थानी कथा/महाभारत/धार्मिक ग्रन्थहरु

महादेवसँग सतिदेवी/पार्वती/गोमा/गंगा /ऋषिपत्नी, ……..

विष्णुसँग लक्ष्मी/सतिदेवी/ पार्वती/वृन्दा………..

त्यस्तै,

जालन्धरसँग वृन्दा/पार्वती….

नवराजसँग लावण्यवती/चन्द्रावती..

अनि पाँच पाण्डवसँगै द्रौपती

हो, अरु धेरै कथाभित्रका उपकथाहरु

कहिले १ = २, ३, ४, ५, ६…….नगन्य

अनि कहिंलेकाही

५ = १ पनि

बेहिसावी कु-निशापहरु

पवित्रताले ढाकिएका दूर्गन्धीहरु

पारदर्शीता भित्रका कपटी प्रपञ्चहरु

मात्र जित्नेको इतिहास ।।

 ………………………….

थाहा पाउँदिन/थाहा छैन

केसँग मिल्छु म,

के मा मिल्न चाहन्छु

 के बन्नु छ मलाई ……….

अझै पनि म पथिक ।।

…………………………. 

टहलिन्छु म,

विष्णुमती/वाग्मती/देवघाटका किनारहरुमा

टोलाउँछु, मूर्ति/गजुरहरुमा

धाउछु धाउँदैछु,

मन्दिर मस्जिद र/ चर्चगुम्वा

आस्थाका धरोहरहरुमा

बहलिन्छु/बहकिन्छु,

धुप, दीप र नैवेद्यका सुगन्धीहरुमा

अझै वग्दैनन् काला नियती

बोल्दैनन् ढुङ्गा

पटक्कै मग्मगाउँदैनन्

पाटका रछ्यानहरु ।।

…………………………. 

 तर

 अझै यात्रारत पथिक म

 फरक आस्थाको खोजिमा

 फरक विश्वासको खोजिमा

 कुनै वाद र प्रतिवाद भन्दा पर

 फरक उज्यालोको खोजिमा

………………………….

 पुजिने ती देवता भन्दा फरक

 भनिने त्यो राक्षस भन्दा पनि फरक

 विल्कूल मान्छे जस्तो

 एउटा मान्छेको खोजिमा

 एक स्व- स्फूर्त हाँसोको खोजिमा ।।

 कल्याणपुर , नुवाकोट

हालः शंकरदेव कलेज, काठमाडौं

तपाइँको प्रतिक्रिया