हिजो, आज र भोलीको आकाश
–हेमन्त परदेशी
हिजो म भाँडाकुटी खेलिरहेको बेला
आकाशमा हेलिकप्टर उडेको देख्दा,
आँगनको डीलमा निस्केर
हर्ष र खुशीले नाँच्ने गर्थें ।
आमाको गुन्यूको फेरो समातेर
चर्को चर्को आवाजमा कराउँदै,
ए आमा ! हामी पनि रमिता हेर्न जाउँ न भन्थें ।
तर आज त्यही खुल्ला आकाशमाथि
तिर्खाले ब्याकुल बनेर उडिरहेको काकाकुल देख्दा समेत,
मेरी सानी छोरी कहालिएर रुने गर्छे ।
भय र त्रासले, अबरुद्ध कण्ठमा
मेरी श्रीमतीको हात समातेर,
मम्मी ! घर भित्र लुक्न जाउँ न भन्छे ।
सायद भोली मेरी नातिनीले
धर्तीमा टेकेको पहिलो पाईलासँगै,
आकाशविहीन दुनियाँको कामना गर्छे होला ।
अबोध अनि वालसुलभ आवाजमा,
“हजुल्बा ! बलु धल्ती भित्लै घल् बनाउँन” भन्छे होला ।




