एक्लो बृहस्पति
-कपिल अधिकारी / ताइपे, ताइवान
उ एक अराजक
भाग्छन, भाग्छु देखेर
अन्ट, सन्ट
बोल्छ, सोध्छ
खिस्याउँछ हामीलाई
बर्षा गर्छा प्रश्नको..
हाम्रो आस्था मा धावा बोल्छ
उपहास गर्छ आजको
धर्म, संस्क्रिति, इतिहास र वर्तमानलाइ
————-
उ बुद्धलाई गन्दैन
हामीलाई बुद्धु भन्छ
नाबालक छाडेर
सुत्केरी स्वास्नी छोडेर
बन बिहार गर्नेलाई
बिहार मा स्वानीमान्छे राख्न हुन्न भन्नेलाई
पूजा गरेकोमा,
लोक नै चेला भएकोमा
उ खिल्ली गर्छ
देवताको कि प्रतिक नारि असमानताको ?
————-
राम र लक्ष्मणको भातृत्व
परापुर्बकाल को समलिंगी
ओ ! तिम्रो धर्मात्मा युधिष्ठिर
जुवाडे -स्वास्नी बाजी थाप्ने
अरनिको ?
अहिलेका तिस लाख अरनिको हेर भन्छ
————-
हाम्रो संकृति नै, धर्म नै विकृत उ भन्छ
प्रहार गर्छ
किन राम राजा को छोरा ?
कृष्ण राजा नै ?
स्रङचङगम्पो पनि राजा रे…
उसकै दुइ रानी सेतो र हरियो तारा रे..
बुद्ध पनि राजकुमार, राजाकै छोरा
भृकुटी राजकुमारी रे …
किन लेखिन्छ कथा राजा कै
बनाइन्छ देवता राजा नै
म जस्ता तिमि जस्ता उ जस्ता उनि जस्ता
किन केहि बन्दैनन् ?
सोध्छ मलाइ
————-
म आजलाई हेर्छु
नेता, नेत्री को छोरा नेता छन्
नेता, नेत्री की छोरी नेत्री छन्
रिम्पोछेको छोरा रिम्पोछे
पत्रिका मा छन् उनकै स्तुति
छाएका छन् जताततै
परिवार वरीपरि घुमेको छ
आजको ठुला मान्छे !
————-
घाँसीले कुवा खन्नु पर्ने
घाँस बेचेर बाँच्नु पर्ने
त्यो महिन्द्र मल्ल धुँवा हेरर बस्थ्यो रे
तर कसैको भकारी मा अन्न छ छैन
कसैको लाउन जमिन छ छैन
उसले सोधेको छैन
कसैको दलानमा पुगेको खै कसैलाई
थाहा छैन
एक असल राजा उसकै गुणगान
तिमीले भन्ने उदाहरण !
————-
के पढी रहेछौ ?
के पढाई रहेछौ ?
के रोपी रहेछौ दिमाग मा ?
उ आक्रमण गर्छ
मेरो, हाम्रो आस्था मा
मेरो दिमागमा
उ एक अराजक
पागल हो कि एक्लो बृहस्पति
सोध्छु आफूलाई
अनि फेरी सोध्छु सबैलाई
के रोपी रहेछौं हामी हाम्रो दिमाग मा ?
केहि कतै नौलो बीज छ कि ?




