शुभकामना नदिनु मलाई नयाँ वर्षको

-हेमन्त परदेशी

एकसरो लगौटी लगाएर खालि खुट्टा हिडेको देखेर,

तिमी भित्र एउटा अब्यक्त जिज्ञासा उठिरहेको होला ।

सोधौँ कि नसोधौँको द्विबिधामा,

तिम्रो गला अबरुद्ध बनिरहेको होला ।

—————-

त्यसैले, म भन्छु तिमीलाई,

यसपल्ट पनि मैले बरखी बारेको छु ।

पत्याऊ या नपत्याऊ तिमी,

तर म पोहोर साल जस्तै दुस्खमा परेको छु ।

—————-

हो, दुख !

कहिले निलकाँडा बनेर पैतलाहरुमा बिझ्दो रहेछ,

कहिले सोला बनेर कलेजोमा घुस्दो रहेछ,

अनि कहिले उचाल्नै नसकिने बोझ बनेर,

थाप्लोमा बजारिदो रहेछ ।

—————-

नसोध मलाई मेरा पीडाहरु,

अनि नबल्झाऊ मेरा मनका घाऊहरु ।

जे छन् म भित्रै छन्,

अनि जति छन् त्यो पनि मसितै छन् ।

—————-

सहानुभूति पोख तिमी,

हृदयबाटै स्वीकार्छु म ।

तर मेरो दुख पैँचो नमाग,

किन भने, दुख दुख नै हो ।

अर्थात यो चुरोटको खिल्ली जस्तो-

सजिलै माग्न र बाँड्न सकिने कुनै बजारिया चिज होइन ।

त्यसैले त हरेक साल,

यसरी नै दुस्ख बोकिरहेको छु म ।

—————-

अर्थात, बिवश छु म,

आफ्नो कर्तब्यको अगाडी घुँडा टेक्न,

र बिवश छु,

आफू दुखेर पनि अरु कसैको मृतात्मालाई बैतरणी तार्न ।

त्यसैले, शुभकामना नदिनु मलाई नयाँ बर्षको ,

म दुखमा शोक मनाइरहेको छु,

अर्थात कर्तब्यको अपरित्यक्त बन्धन चुँडाल्न नसकेर,

यसपल्ट पनि मन नलागि नलागि,

पुरानो सालको अवशानमा सधैँ झैँ बरखी बारेको छु ।

तपाइँको प्रतिक्रिया