हामी नामी छौं

डा. लेखनाथ काफ्ले / ताईपेई, ताइवान  

साँच्चै

हामी नामी छौं

अर्काको लागी नै सहि

लडाईंमा क्रस र चक्र पायौं 

अर्काको लागी सीमा फैलायौं

आफन्त गुमायौं

तै पनि

हामीले खुशीसाथ छातीमा पदक थाप्यौं

 ————–

हामीले गौतम बुद्ध पायौं

हरेक सुन्दरी प्रतियोगिताको उत्तरको लागी

कहिलै नछुट्ने प्रश्नको लागि

साँच्चै हामीले बुद्ध पायौं ?

लाग्छ

अरुले गौतम बुद्ध पाए 

हामीले सिद्धार्थ गौतम पायौं

 ————–

हामीले सगरमाथा पायौं नि त

हो

गाईड हुनको लागि

भरिया हुनको लागि

अरुको नामको लागि

आफ्नो दामको लागि 

साच्चै हामीले सगरमाथा पायौं ?

लाग्छ

अरुले साहशीको नाम कमाउने जिनिस पाए 

हामीले भारी बोक्ने कारण पायौं     

त्यसैले

हामी नामी छौं  

 ————–

हामीले पानी पायौं

काठमाडौँका हरेक झोला बोक्ने

झन्डा बोक्ने

माइक समाउनेहरुका लागि ।

खोलाहरु, शहरका झोलेहरुले

हरेक रात मोल मोलाई गर्छन्

गाउलेलाई आफ्नो कुलोको मालिक सातामा नौ चोटी फेरिएको के पत्तो

साँच्चै हामीले पानी पायौं ?

लाग्छ

अरुले मूल पाए

हामीले महशुल पायौं

 ————–

त्यसैले

हामी नामी छौं  

किनकि हामी दानी छौं

हामी यति दानी छौ कि

न मागी दान दिन्छौं

न जानी दान दिन्छौं

न बोली दान दिन्छौं

न सुनी दान दिन्छौं

न गुनी दान दिन्छौं

न तौली, न नापी दान दिन्छौं

निद्रामा दान दिन्छौं

तन्द्रामा दान दिन्छौं

आशामा दान दिन्छौं

नशामा दान दिन्छौं

दिन नहुने जानी जानी दिन्छौं

दिएको नजानी नजानी  दिन्छौं

जसरि पनि दिन सक्ने दानी छौ

त्यसैले

हामी नामी छौं ।

तपाइँको प्रतिक्रिया