अलबिदा कोइराला !

[अपडेट-भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहिरो दुख ब्यक्त गरेका छन् । सिंहले आफ्नो समबेदना बक्तब्यमा कोइरालाले आफ्नो सम्पूर्ण जिवन जनताप्रति समर्पित गरेको भन्दै नेपाललाई कुशलता एवं बुद्दिमत्तापूर्वक सहि मार्ग दिन सफल रहेको उल्लेख गरेका छन् ।]

[अपडेट- नेपाली राजनीतिका शिखर पुरुष स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई राजकिय सम्मानका साथ अन्त्यष्टि गरिने हालै सम्पन्न मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ ।]

[अपडेट- गिरिजाप्रसाद कोइरालाको निधनपछि अहिले मन्त्री परिषदको आकस्मिक बैठक बसेको छ । त्यहि बैठकले कोइरालालाई  कस्तो मान सम्मानकासाथ अन्त्यष्टि गर्ने भन्ने निर्णय गर्ने छ। कोइरालालाई अन्तिम श्रद्दान्जली दिन छिमेकी देशबाट सहभागिता जनाइने भएको छ।]

नेपालको इतिहासमा दुखदायी खबर ! लामो प्रजातान्तिक ईतिहास बोकेका गिरिजाप्रसाद कोइराला अस्ताएका छन् । नेपालको समय अनुसार आज दिउँसो १२ बजेर १० मिनेट जाँदा चिकित्सकहरुले म्रित्यु भएको घोषणा गरेका हुन् । हिजै रातीदेखि अचेत अवस्थामा रहेका उनलाई चिकित्सकहरुले भरमग्दुर कोसिस गरेका थिए। अहिले कोइराला निवासमा कूटनितिज्ञहरुको ठूलो भिड लागिरहेको छ समबेदना दिनकालागि ।

त्यसैगरि देशभरिबाट उनका आफन्त, नातेदार, शुभेच्छुकहरु राजधानी आउने क्रम जारी छ । कोइराला निवास अगाडि पार्टी कार्यकर्ताहरुको विशाल समूह छ । बिदेशी तथा स्वदेशी पत्रकारहरुको उत्तिकै भिड छ । भोली बिहान ८ बजे देखि त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा राखेर दुई बजे पछि शव यात्रा गरिने छ । उनलाई आर्यघाटमा लगेर अन्त्यष्टि गरिने छ । कोइरालाले गणतान्त्रिक नेपालको संबिधान हेरेर मात्रै मर्ने इच्छा ब्यक्त गर्दै आएका थिए । तर उनको त्यो इच्छा भने अधुरै रह्यो। जिवनको अन्त्य सम्मपनि उनले सक्रिय राजनितिक जिवन बिताए । तपाईको अत्माले शान्ति पाओस गिरिजाबाबु ! हार्दिक समबेदना !!

(मानविय संवेदनाहिन प्रतिक्रियाहरु रद्द गरिने छ-नेपालप्लस) ।

गिरिजाबाबु एक महायोद्दा

स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा सन् १९२५ (सं. १९८२) मा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म भारतको बिहार राज्यको टेडी, सहर्षामा भएको थियो । भारतमा जन्मेर हुर्केका गिरिजाप्रसाद कोइरालाले भारतको स्वतन्त्रताको संग्रामलाई नजिकबाट हेर्ने मौका पाएका थिए। उनले सानै उमेर देखी उठल पुथल राजनैतिक अवस्थामा हुर्कनु परेबाट उनलाई राजनितीले आकर्षित पारेको थियो। यसकारण गिरिजाबाबुले सानै उमेरमा राजनितिमा प्रवेश गरेका थिए।

त्यति बेला नेपालमा राणाहरुको बिरोधमा बिद्रोहको आगो सल्किरहेको थियो। गिरिजाबाबुले सबभन्दा पहिले २००४ सालतीर विराटनगरको मजदुर हडतालमा सक्रिय सहभागी भएर नेपाली राजनितीमा लागेका थिए। यसले गर्दा गिरिजाबाबु राणा शासनका बेला कैयन पटक जेल परेका थिए। राणा शासनको अन्त्य पछि गिरिजाबाबु नेपाली कांग्रेस मोरङ जिल्लाको सभापति भएका थिए। गिरिजाबाबु नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक सदस्य एवं स्थापनाकालीन अध्यक्ष हुन् । २०१७ सालमा प्रजातन्त्रको अन्त्य गरि पञ्चायत कालको स्थापनासंगै नेपाली कांग्रेसका शिर्ष नेताहरु प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगाएत अधिकासं नेताहरुसँगै गिरिजाबाबु पनि नजरबन्द भएका थिए। गिरिजाबाबुले पञ्चायती व्यवस्थाको बेलामा लगातार सात बर्ष जेल सजाय भोगेका थिए। पछी जेलमा अन्य नेताहरुसगैं भोक हडताल गरेर जेलबाट छुटेका थिए ।

गिरिजाबाबुले नेपाल फर्के पछी सुषमा कोइरालासित विवाह गरेका थिए। सुषमा कोइरालाबाट गिरिजाबाबुको एक मात्र सन्तान सुजाता कोईराला जन्मेकी हुन। २०३१ सालमा गिरिजाबाबुको धर्मपत्नी सुष्मा कोइरालाको निधन भएको थियो। गिरिजाबाबुले
२०२८ साल देखी २०४० साल सम्म भारतमा निर्वासित जीवन बिताउन बाध्य भएका थिए।

२०३३ सालमा पटनामा भएको नेपाली काँग्रेसको अधिवेशनबाट उनी महामन्त्री निर्वाचित भए। गिरिजाबाबुले २०३३ साल देखी २०४७ साल सम्म नेपाली काँग्रेसको महामन्त्रीको कार्यभार सम्हाल्न पुगे। पुर्ण प्रजातन्त्रको प्राप्ती पछी २०४८ मा भएको आमनिर्वाचिनमा गिरिजाबाबु मोरङ क्षेत्र नं १ तथा सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित हुँदै चुनाव पछी बनेको नेपाली काँग्रेसको नेतृत्वको सरकारमा गिरिजाबाबु पहिलो पल्ट प्रधानमन्त्री हुनु भएको थियो। उँहाले २०४८ साल जेठ १२ गते देखि २०५१ मंसिर महिना सम्म जननिर्वाचित प्रधानमन्त्रीको रुपमा सत्ताको बागदोर सम्हालेका थिए।

२०५३ साल वैशाख २६ गते देखी २८ गते सम्म काठमाडौँमा भएको नेपाली काँग्रेसको नवौँ महाधिवेशनबाट वहाँ पार्टी सभापति बन्न पुगे। यस पछी फेरी २०५४ साल चैत ३० गते गिरिजाबाबु दोस्रो पटक नेपालको प्रधानमन्त्री पदमा नियुक्त भए। यस्तै २०५६ साल चैत ७ गते कांग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदिय दलको नेताको चुनावमा बिजय हाँसिल गरी गिरिजाबाबु फेरी प्रधानमन्त्री भएका थिए। त्यस पछी गिरिजाबाबुले २०५८ साल साउन ४ गते आफ्नो पदबाट राजीनामा गरेका थिए। माओवादीसहितको दोस्रो जनआन्दोलन पछि २०६३ वैशाखमा गिरिजाबाबु चौथोपटक प्रधानमन्त्री भएका थिए।

गिरिजाबाबुले माओवादीलाई द्बन्दबाट मुल राजनैतिक धारमा फर्काएका थिए। हालै मात्र देशको बिषम राजनैतिक परिस्थितीको निवारणका लागि उहाँको नेतृत्वमा उच्च राजनैतिक संयन्त्रको गठन भएको थियो। यस्तो परिस्थितीमा गिरिजाबाबुको निधनले गर्दा देशको राजनैतिक अवस्था जटिल हुने कुरालाई कसैले नकार्न सक्दैनन्। गिरिजाबाबुको निधनले देशले एक निडर राजनैतिक महायोद्धालाई गुमाउनु परेको छ

शब्द चित्रमा कोइराला
अब गिरिजाप्रसाद कोइराला भन्ने नाम इतिहास बनेको छ। नेपाली राजनीतिको ध्रुवतारा अस्ताएको छ। राणाकालीन अवस्थादेखि अनवरत् नेपाली क्रान्तिमा आफूलाई समर्पित गर्दै आएका कोइरालाको अवसानले नेपाली राजनीति अभिभावकविहीन बन्न पुगेको छ।
दृढ विश्वास, अटल व्यक्तित्व र प्रत्युत्पन्नमति भएका कोइरालाले नेपाली राजनीतिमा निभाएको अभिभावकीय भूमिकालाई दलहरूले आत्मसात् गर्न सकेनन् भने राजनीतिक अस्थिरता बढेर जाने निश्चित छ। अझ नेपाली काङ्ग्रेसका लागि अब महान् चुनौती थपिएको छ। इतिहासमा गौरवमय स्थान बनाउँदै आएको जिम्मेवार पार्टी नेपाली काङ्ग्रेसले कोइरालाको अनुपस्थितिमा आफूलाई दृढसङ्कल्पित बनाउँदै जनमुखी बनाउनुपर्ने दायित्व उसको काँधमा थपिएको छ।
 
यतिबेला नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर योद्धा, पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन  भएको खबरले नेपाली जनता अत्यन्त मर्माहत भएका छन्।  नेता कोइरालाको ८५ वर्षको उमेरमा आज मध्याह्न १२ बजेर १० मिनेटमा  उनकी सुपुत्री सुजाता कोइरालाको निवास, मण्डीखाटारमा निधन भएको हो।  विगत नौ घन्टादेखि अचेत अवस्थामा रहेका कोइरालाको मध्याह्न निधन  भएको नेपाली काङ्ग्रेसको सोही निवासमा बसेको आपतकालीन बैठकले  अपराह्न १ः४५ बजे औपचारिक घोषणा गरेको हो।   
लामोसमयदेखि स्वासप्रश्वासको रोगबाट पीडित सभापति कोइरालाको अचेत  अवस्थामै निधन भएको जानकारी गराइएको हो।  
मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछि  छ पटक प्रधानमन्त्री बनेका कोइराला वि.सं.२०४८ जेठदेखि वि.सं.२०५१ मङ्सिरसम्म प्रथम निर्वाचित प्रधानमन्त्री भएका थिए। उनी त्यसपछि २०५४ साल चैत ३० गते, २०५५ पुस १० गते र २०५७ चैत ७ गते प्रधानमन्त्री भएका थिए।  
सात राजनीतिक दलको सर्वसम्मत निर्णयका आधारमा तत्कालीन राजा ज्ञानेन्द्रबाट नेपाली काङ्ग्रेसका सभापति तथा नेपाली काङ्ग्रेस संसदीय दलका नेता कोइरालालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो। नेपालका प्रख्यात गान्धीवादी नेता एवम् समाजसेवी कृष्णप्रसाद कोइरालाका पाँच सुपुत्रमध्येका कान्छा छोरा पूर्वप्रधानमन्त्री कोइरालाका दुई दाजु मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला पनि नेपालको प्रधानमन्त्री भएका थिए।  पूर्वप्रधानमन्त्री कोइराला पारिवारिक राजनीतिक वातावरणका कारण सानै उमेरमा राजनीतितर्फ आकर्षित भएका थिए। उनको राजनीतिक जीवनको सुरुवात विराटनगर जुटमिलमा मजदुर नेताका रूपबाट सुरु भएको हो।  
वि.सं. १९८६ मा पिता कृष्णप्रसाद कोइराला आफ्नो निर्वासनबाट स्वदेश फर्केपछि उनले आदर्श हाइस्कुल, विराटनगरमा प्रारम्भिक शिक्षा हासिल गरेका थिए। त्यसपछि उनले त्रिचन्द्र क्याम्पस र पछि बनारस हिन्दु विश्वविद्यालयमा उच्चशिक्षा हासिल गरेका थिए।  
विराटनगरमा वि.सं. २००३ फागुन २० गते सुरु भएको ऐतिहासिक जुटमिल हडतालको नेतृत्व गर्ने मजदुरनेता कोइराला विराटनगर मजदुर युनियनका सर्वसम्मत अध्यक्ष चुनिए। उनले नेपाल ट्रेड युनियन काङ्ग्रेसका संस्थापक सदस्य र सभापति भई काम गरेका थिए।
सात सालको जनक्रान्ति सफल भएपछि उनी सङ्गठन कार्यमा लागे र सोही वर्ष नेपाली काङ्गे्रस मोरङ जिल्ला समितिको सभापति पनि भए।  
वि.सं. २०१७ मा प्रजातन्त्र अपहरण गरिएपछि तत्कालीन प्रधानमन्त्री बीपी कोइराला, नेकांका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा थुप्रै काङ्ग्रेसी कार्यकर्ताका साथ कोइराला पनि जेल परे।  एक्काईस दिनको अनशनपछि वि.सं. २०२४ मा कारागारबाट मुक्त गरिँदा उनले  सात वर्षको बन्दी जीवन बिताइकेका थिए। कारागारबाट रिहा हुनेबित्तिकै सन् १९७१ मा आमनिर्वासनमा उनी भारततर्फ प्रस्थान गरे। निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको लामो सङ्घर्षमा होमिने हजारौँ काङ्ग्रेसी योद्धाका लागि ‘गिरिजा दाजु’ प्रेरणास्रोत भए। ‘सानुबुबा’ का नामबाट कोइराला परिवारमा उनी सुपरिचित थिए।  जननायक बीपी कोइरालाले वि.सं. २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएपछि ऐतिहासिक जनमतसङ्ग्रहको केही साताअघि आममाफी पाएर उनी स्वदेश फर्किए।
पार्टीका कुशल सङ्गठनकर्ता कोइराला नेपालमा प्रजातन्त्रको पुनःस्थापनाका लागि अरू काङ्ग्रेसी नेताहरूसँग काम गर्दै आउने क्रममा अनेकौँ पटक कारावास र नजरबन्दमा परेका थिए। सन् १९८५ को सत्याग्रह तथा ऐतिहासिक जनआन्दोलन २०४६ मा कोइरालाको निर्णायक भूमिका रह्यो। वि.सं. २०४८ मा सम्पन्न आमनिर्वाचन, वि.सं. २०५१ मा सम्पन्न  मध्यावधि निर्वाचन र वि.सं. २०५६ मा सम्पन्न आमनिर्वाचनमा उनी मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
भूतपूर्वप्रधानमन्त्री कोइरालाको जन्म सन् १९२५ मा भारत सहर्सा जिल्लाको टेडियामा पिता कृष्णप्रसाद कोइराला राजनीतिक निर्वासनमा रहँदा भएको थियो।  
विंस. २०५९ असोज १८ गते तत्कालीन प्रतिनिधिसभाको विघटन गरी राजा ज्ञानेन्द्रको सक्रियतामा संसद बाहिरका व्यक्तिको अगुवाइमा सरकार गठन गरेपछि र वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रद्वारा नै सरकारको अध्यक्षता गरी निरङ्कुश शासनको सुरुआत गरेपछि नेता कोइरालाले २०५६ सालको निर्वाचित संसद पुनःस्थापना गर्ने एक मात्र माग राखी शाही शासनका विरुद्ध आन्दोलनको अगुवाइ गरेका थिए।
तत्कालीन सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको नेकपा (माओवादी) लाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याउने वचनबद्धताका साथ आठ राजनीतिक दलको अभिभावकका हैसियतले २०६२ मङ्सिर ७ गते १२ बुँदे सम्झौता गराई राजतन्त्रविरुद्धको लोकतान्त्रिक आन्दोलनमा होमिने र त्यसको  नेतृत्व लिने जस पनि नेपालको राजनीतिक इतिहासले नेता कोइरालालाई नै  दिएको छ।
 
वि.सं. २०६२ चैत २४ देखि निरङ्कुश राजतन्त्रका विरुद्ध १९ दिने आन्दोलनपश्चात् २०६३ साल वैशाख ११ गते अन्ततः राजा ज्ञानेन्द्रको शाही शासन अन्त्य गराई संसदको पुनःस्थापनामार्फत नेपाली लोकतान्त्रिक प्रणालीको थालनी उनकै प्रधानमन्त्रीत्वबाट सुरु भएको थियो।
सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिपूर्ण आन्दोलनमा ल्याउने र  पुनःस्थापित संसदमार्फत राजशाहीको अन्त्य गर्ने एकमात्र मिलनविन्दुका रूपमा अघि सारिएको संविधानसभाको निर्वाचनको अभियान पनि उनको नेतृत्वबाट  सुरु भयो र अन्ततः नेपाली इतिहासमा विगत छ दशकदेखि थाती रहेको संविधानसभाको निर्वाचन २०६४ चैत २८ गते सम्पन्न भयो।
यसअघि विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर गरी तत्कालीन सरकार प्रमुखका तर्फबाट आफूले र विद्रोहीका तर्फबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा जारी दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्य भएको घोषणा गरेका हुन्। शान्तिप्रक्रियालाई यहाँसम्म ल्याउन उनको विशेष योगदान  रहेको छ।
 
संविधानसभाको पहिलो बैठकमार्फत २०६५ जेठ १५ गते २४० वर्षको राजतन्त्रात्मक शासन प्रणालीबाट मुलुक पहिलोपटक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गर्‍यो। त्यसपछि मुलुकमा राष्ट्रपतिको निर्वाचन भई २०६५ साउन ८ गते पहिलो राष्ट्रपति डा.रामवरण यादवको घोषणा हुनुअगाडिसम्म उनले मुलुकको कार्यवाहक राष्ट्रप्रमुखको समेत जिम्मेवारी सम्हालेका थिए।
संविधानसभाको निर्वाचनमा आफनो दल नेपाली काङ्ग्रेसले दोस्रो ठूलो राजनीतिक दलको हैसियत प्राप्त गरेपछि निर्वाचनामार्फत सबैभन्दा ठूलो दलका रूपमा स्थापित तत्कालीन नेकपा (माओवादी) लाई त्यसै सालको भदौमा सत्ता सुम्पी उनले राजनीतिक अभिभावकको भूमिका निर्वाह गरेका थिए।
वि.सं. २०६७ जेठ १४ गतेसम्ममा संविधानसभा एवम् नेपालको अन्तरिम संविधान, २०६३ अनुरूप नयाा संविधानको निर्माण र माओवादी लडाकू एवम् हतियारको समायोजन हुन नसक्ने गुनासो व्यापकरूपमा उठेपछि पहिलो ठूलो दल एकीकृत नेकपा (माओवादी) र तेस्रो ठूलो राजनीतिक दल नेकपा (एमाले) का शीर्षनेताको सहभागितामा उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन गरी त्यसको नेतृत्व पनि उनैले गरेका थिए।
 
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कोइरालाको पार्थीव शरीरलाई आइतबार बिहान ८ बजे दशरथ रङ्गशालामा राखिने निर्णय नेपाली काङ्ग्रेसको शनिबार बसेको केन्द्रीय समितिको आपतकालीन बैठकले गरेको छ। आइतबार अपराह्न २ बजे शवयात्रा गरिनेछ। उनको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
घोडा चढ्ने लड्छ। समाजपरिवर्तनलाई अभिष्ट बनाएर अघि बढेको मानिसले कतै जस र कतै अपजस पाउनु स्वाभाविक हो। यस्तै नेपाली क्रान्तिको इतिहासमा आफूलाई होमेर कति जस र कति अपजस बटुलेका कोइरालाले पछिल्लो समयमा खेलेको भूमिका अत्यन्तै सराहनीय छ। संसदीय दलहरू र नौलो जनवादी सिद्धान्त बोकेको तत्कालीन नेकपा (माओवादी) बीच सहकार्य गराई मुलुकलाई द्वन्द्वको अवस्थाबाट शान्तिस्थापनातर्फ अग्रसर गराउनमा कोइरालाको केन्द्रीय भूमिका रहेको थियो। विशेष गरी वि. सं. २०६३ यता नेपाली राजनीतिमा उत्तरदायी व्यक्तिका रूपमा चिनिँदै आएका कोइराला ‘न्याय नपाए गोरखा जानू’ भनेजस्तै ‘निकास ननिस्के कोइरालाकहाँ जानू’ भन्नेसम्मको उखान बनिसकेका थिए ।
यस्तो अवस्थामा बिनासर्त कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रूपमा उभ्याइएको भए नेपाली राजनीतिले उनको सम्मान गरेको ठहर्थ्यो। र अहिलेको सङ्कटसमेत आउने थिएन। किनभने गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिक धरातलमा मात्र सीमित व्यक्ति थिएनन्, छिमेकी मुलुक र अन्य नेपालका शुभचिन्तकहरूका सामु पनि उत्तिकै स्थापित नेतृत्वका रूपमा परिचित थिए।
अब बितिसकेको छ। मुलुक सङ्कटको घडीमा उभिएको छ र हामीले एउटा युगपुरुष गुमाएका छौँ। यस्तो अवस्थामा उनको आदर्शलाई मनन गरेर व्यवहारमा उतार्ने प्रयास गर्नु नै नेपाली राजनीतिका लागि सही मार्ग हुन सक्छ। अलबिदा कोइराला । (विक्लि नेपाल डट कमबाट) ।

तपाइँको प्रतिक्रिया