माओवादी अब प्रतिपक्षमा : किरण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का वरिष्ठ नेता मोहन वैद्य (किरण) ले माओवादी अब प्रतिपक्षमै बसेर नयाँ संविधान निर्माणमाinsp_4.JPG प्रभावकारी भूमिका खेल्ने बताउनुभएको छ । सोमबार सम्पन्न राष्ट्रपति निर्वाचनको परिणाम घोषणालगत्तै जनदिशासँग कुरा गर्दै वरिष्ठ नेता किरणले उक्त कुरा बताउनुभएको हो । उहाँले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षसम्म पुर्‍याउने तथा नयाँ संविधान बनाउने कार्यमा माओवादीले सरकार बाहिरै बसेर सशक्त भूमिका खेल्ने कुरा प्रस्ट पार्नुभयो । माओवादीका केन्द्रीय सचिवालय सदस्यसमेत रहनुभएका नेता किरणसँग जनदिशाले गरेको कुराकानीको सारसंक्षेप :

० राष्ट्रपति निर्वाचनको परिणामलाई कसरी हेर्नुभएको छ ?

– राष्ट्रपति निर्वाचनको परिणामलाई विविध ढंगले मूल्यांकन गर्न सकिन्छ । हामीले सुरुदेखि नै सहमतिका आधारबाट जाऔं, यसलाई बहुमत अल्पमतको विषय नबनाऔं भनेका थियौं । तर कांग्रेस-एमालेबाट संविधान संशोधन गरी बहुमतीय प्रणाली लागु गर्ने काम भयो । अहिले बहुमतीय प्रणालीअनुसार परिणाम आयो । हामी यो परिणाम स्वीकार गर्दै आफ्नै किसिमले अघि बढ्नेछौं ।

० माओवादी कसरी अघि बढ्दैछ त ?

– हामीले समर्थन गरेका उम्मेदवार राष्ट्रपतिमा नआइसकेपछि अब हामी प्रतिपक्षमा बस्छौं । कसरी अघि जाने भन्नेबारे मंगलबार हाम्रो पार्टी केन्द्रको बैठक बसेर निर्णय सार्वजनिक गर्नेछौं ।

० संविधानसभा निर्वाचनमा जनताले माओवादीलाई सबैभन्दा ठूलो पार्टीका रूपमा जिताएका छन् । जनताको मान्डेट भनेको माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने नै हो । यस अवस्थामा माओवादी प्रतिपक्षमा बस्दा जनताको म्यान्डेटविपरीत हुँदैन र ?

– यहाँले भनेझैं जनताले हामीलाई सरकारमा जानका निम्ति जनादेश दिएको स्थितिमा पनि यथास्थितिवादी, जनविरोधी र पुरातनवादी शक्तिहरूले हामीलाई सरकारमा जान नदिन लामो षड्यन्त्र र कसरत गर्दै आएका थिए । हाम्रा विरुद्ध अहिलेको जुन अपवित्र गठबन्धन बन्यो, यसले जनताको जनादेशविपरीतको स्थिति देखापर्‍यो । उनीहरूको समीकरणले हामी सरकारमा जाने स्थिति रहेन । हामी प्रतिपक्षमै बसेर फेरि जनतामा जान्छौं र यथार्थ कुरा जनताकै बीचमा राख्छौं ।

० अब एमाले-कांग्रेसलगायतका दलहरूसँग माओवादीको सहकार्य कस्तो रहला ?

– ती दलहरूसँगको सहकार्यका दुई पाटा छन् । पहिलो तात्कालिक पाटो र दोस्रो दीर्घकालीन पाटो । तत्कालीन अवस्थामा अहिले एमाले, कांग्रेस र फोरमको समीकरण छ । उहाँहरूको समीकरणको स्थितिमा सरकार बनाउने विषयमा उहाँहरूसँग सहकार्य हुँदैन । तर दीर्घकालीन रूपमा शान्तिप्रक्रियालाई तार्किक निष्कर्षसम्म पुर्‍याउन र नयाँ संविधान बनाउन हाम्रो सबै दलसँग सहकार्य हुनेछ ।

० सोमबार प्रकाशित ‘तरुण’ र ‘नयाँ विकल्प’ साप्ताहिकसहित केही पत्रिकाहरूमा ‘मोहन वैद्यका कारण एमालेसँगको सहमति तोडिएको’ भनेर समाचार छापिएको छ । एमालेसँग सहमति हुन नदिन यहाँको भूमिका रहकै हो त ?

– मैले सहमति तोडाउन भूमिका खेले भन्ने कुरा बिल्कुलै झूठा प्रचार हो । हामी समीकरणबारे पार्टी निर्णयअनुसार चलेका हौं । व्यक्तिगत रूपमा मेरो विचार भन्नुहुन्छ भने एमालेसँग जसरी भए पनि सहमति गरेरै जानुपर्छ भन्ने थियो । मैले यो कुरा अन्तिम समयसम्म राख्दै आएको छु । यो कुरा पार्टी पंक्तिभित्र प्रस्ट छ । पार्टी बाहिर पनि बदलिएको स्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमालेसँग सहमति बनाएर सहकार्य गरेर जानुपर्छ भन्ने मत राख्दै आएको छु । यथार्थ यस्तो हुँदाहुँदै मेरो कारणले सहमति तोडियो भनेर प्रचार गरिनु गलत प्रचार हो । यो मेरो सोचविपरीत छ र चरित्रहत्या गर्ने कुरा हो । प्रतिक्रियावादीका षड्यन्त्रका कारणले मेरा विरुद्ध यसप्रकारका प्रचार गरिएका हुन् ।

० राष्ट्रपति चुनावमा विदेशी शक्तिकेन्द्रहरूको चलखेल त स्पष्ट देखियो । ती शक्तिको चलखेलबारे के भन्नुहुन्छ ?

– निश्चित रूपमा विदेशी चलखेल तीव्र भएको छ । साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको नियोजित योजनाकै कारण यस्तो स्थिति सिर्जना हुन पुगेको हो ।

० विदेशी चलखेलले नेपालको राष्ट्रियता नै संकटमा परेको वर्तमान अवस्थामा वामशक्तिको एकता आवश्यक ठान्नुहुन्न ?

– वामशक्तिको कुरा गर्दा जसलाई हामी वाम भन्छौं ती रूपमा वाम भए पनि सारमा दक्षिणपन्थी तत्त्व हुन् भन्ने कुरा स्पष्टसँगै देखिएको छ । मोहनविक्रम, सीपीजस्ताको जुन रूप देखियो त्यसले उनीहरू कसरी वाम हुन सक्लान् ? यसकारण वाम एकताबारे गम्भीरतापूर्वक सोच्नुपर्छ । वाम खोल ओढ्नेहरूलाई नांगेझार पार्दै नयाँ ढंगले एकता गर्नु जरुरी हुन्छ ।

(नयाँ राजनितिक सम्झौता, परिस्थिति र समिकरणसँगै माओवादीले अब सरकारमा नजाने बताएको छ। यो नौलो परिस्थितिमा माओवादी निति र धारणा बुझ्न सजिलो होस भनेर माओवादी निकटको दैनिक पत्रिका जन दिशामा आजै प्रकाशित मोहन बैद्द (किरण) को यो अन्तर्वार्ता यहाँ साभार गरिएको हो-नेपालप्लस ) ।

तपाइँको प्रतिक्रिया