जेठ १४ मा संबिधान नबने जसको शक्ति उसको भक्ति !
जेठ १४ आउन अब तिन महिनापनि बाँकि छैन । दुई वर्षसम्म आफ्ना कानमा ठेंड्की कोचेर संबिधान नबन्नुमा अरुलाई दोष लगाउँदै आएका दलले अब ७० दिनमा संबिधान बनाउलान भनेर कसैलाई विश्वास हुने कुरै भएन । बन्नपनि सक्दैन । अहिलेसम्म देशको शासकिय स्वरुप कस्तो हुने भन्ने प्रमुख पाटोमै छलफलसमेत भएको छैन प्रमुख दलबिच । राज्य संरचनाका दर्जनौं बुँदामा सहमती त के अहिलेसम्म एक पटकपनि छलफलसमेत गरेका छैनन् दलहरुले । अनि संबिधान बन्छ कसरि ? बरु दलहरु संबिधान नबन्ने अवस्थामा त्यसको दोष कसलाई लगाउने ? कसरि कुन शक्ति लगाएर सत्ता आफुले चलाउने ? भन्ने दाउ हेरेर पो बसेका छन् त ।
दलहरुमा भएको यहि भित्रि आकांक्षा हिजो नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक गरिदिएका छन् । दलहरु जेठ १४ मा संबिधान जारी नभए सत्ता कब्जा गर्ने ध्याउन्नमा रहेको गौतमले हाकाहाकी बताइदिए । हिजो राजधानीको एक कार्यक्रममा उनले ‘यदि जेठ १४ मा संबिधान नबने शक्ति हुनेले जसको शक्ति उसको भक्ति शैलीमा सत्ता कब्जा गर्ने’ बताएर दलहरुको गोप्यता खोलिदिएका हुन् ।
एमाले र कांग्रेस ले माओवादीलाई ‘सत्ता कब्जा गर्ने मानसिकतामा रहेको’ भनेर आरोप लगाउँदै आएका थिए । तर वास्तबमा सत्ता कब्जा गर्ने दाउ त माओवादीको मात्रै रहेनछ । त्यस्तो दाउमा त एमाले र कांग्रेसपनि रहेछन् । किनभने गौतमले भनेझैं बन्दुक त कांग्रेस र एमालेसितपनि छ सरकारमा रहेकाले । अर्थात् नेपाली सेना र प्रहरी सरकारकै मातहतमा रहने न हो ।
तोकिएको समयमा संबिधान नबने संबिधान सभाको समय बढाउन सकिने एक बिकल्प बाँकि भने छ नै । तर यतिका समयसम्म संबिधान बनाउन लागि नपरेका दलले अब ६ महिनानै बढाएपनि के लागिपर्लान र ? संबिधान नबन्नुमा समयको अभाव भन्दापनि नियतको प्रश्न प्रमुख रहेको छ । त्यहि परिस्थिति देखे बुझेका र नेपाली कांग्रेस, एमाले र माओवादीदेखि नेपाली सेनाको नियतसम्म छामेका नेता वामदेव गौतमले ठाडै भनेका छन्- जेठ १४ पछि देशमा जोसित बन्दुक छ उसले हतियारका बलमा सत्ता कब्जा गरेर आफ्नो सत्ता कायम गर्छ’ । अहिले देशमा कोसित छ त शक्ति र बन्दुक ? नेपाली सेना र माओवादीसित । जेठ १४ पछि होला के त ?




