मेरो खाट
-डा. लेखनाथ काफ्ले / ताइपेइ, ताईवान
बिरामी म देश जस्तै
खाटमा लडेको छु
म सुतेको खाट
सीमा जस्तै
साँघुरिँदै, खुम्चिँदै छ
यताबाट, उताबाट
डर लाग्छ
एकदिन
साँघुरिँदै गएको मेरो खाटबाट म
यताबाट उता
र
उताबाट झन् त्यता धापाइएकाहरु जस्तै
दोश्रो, तेश्रो पनि नभै
गन्तिमै नपरेको चौघेरा तिर लखटिने पो हो कि ?
अनुभवले आँग नलाग्ने
सपनाले ज्यान नढाकिने भएपछि
सबै भएर पनि सुकेको यो पंच महाभुतलाई
संजीवनी दिने यो समाजमा साँच्चै एउटै कोहि नहोलान् र ?
मेरो आशा
श्वास भन्दा पनि पर छ
एउटा कमिलाको गोलो
पक्कै हात्ती धपाउन आउने छ
र
म बिरामि नै सहि
अर्को बिहानी हेर्न
हरेक रात म मेरो खाटमा निदाउने कोसिश गर्न सक्ने छु




