हाम्रो बर्तमान र संभावित भविष्य
-हेमन्त परदेशी / गोपेटार, पाँचथर
म सँग यो छ को अहंतामा होस या ऊ सँग त्यो छ को संत्रासमा
अथवा कसैले दारी र टुप्पी पालेको बहानामा नै किन नहोस,
पृथ्बीको पाटा-पाटाहरुमा मात्र नभएर सिङ्गो ब्रम्हाण्डमा समेत
आफ्नै मात्र बर्चश्व रुचाउने मुसोलिनी र हिट्लरका प्युसाहरु
अझै पनि युद्धको शंखघोष गरिरहेकाछन् -अघोषित तेश्रो बिश्वयुद्धको ।
प्रशान्त क्षेत्र देखि सुमेरु बृत सम्म होस या मध्यपूर्ब देखि अफगानि पहाडहरुसम्म
अथवा चन्द्रमा देखि मंगल ग्रह सम्म नै किन नहोस,
जता ततै आफ्नै मात्र आधिपत्य र खुल्ला उपस्थिति देखे पछि
बिश्मार्क र नेपोलियन बोनापार्टका छाउराहरु
अझै पनि ब्रम्हाण्ड बिजयको सपना सजाउँदैछन्-कहिल्यै पुरा नहुने दुस्वप्न ।
र, यही धरतीको पाटा पाटामा अनि कुना कुनामा
जिउनुको नियतिमा आफ्नै मृत्युलाई अंगालो मारिरहेका बेसाहारा मानब आत्माहरु
भोकको पीडा अनि तिर्खाको प्यास खप्न नसकेर
बिना कुनै सर्त चुपचाप आत्मसमर्पण गरिरहेकाछन् मृत्यु सामु,
अर्थात भोक र तिर्खा सित लड्ने सामर्थ्यता नै छैन उनीहरु सँग-जीवनको अघोषित युद्ध मैदानमा ।
त्यसैले आऊ, जुटौँ हामी पनि युद्धको तयारी गरौँ
सिर्जनाका बारुदहरु ओकल्दै चेतनाको लडाईँ लडौँ
भोक, रोग र गरिवी बिरुद्धको लडाईँ होस या मानवता बिरोधि युद्ध बिरुद्धको,
यो लडाईँ तिम्रो मात्र होइन अनि मेरो मात्रै पनि होइन,
अर्थात यो हामी सबैको साझा लडाईँ हो – मानवीय मुल्य र मान्यताको ।
नत्र फेरि पनि हाम्रो आकाशमा बी-२९ सुपरफोर्ट्रेस् र बोक्स् कारहरुले
उन्मुक्त परिक्रमा गर्न र मेघ गर्जन सिर्जना गर्न बेर लाउने छैनन्,
अथवा लिटल् ब्वाय र फ्याट् म्यानको नयाँ संस्करण सँगै
बिस्मृतिको गर्भ भित्र हराइसकेका हजारौँ सादाको सासाकीहरुको कथा-
पुन: लेखिन बेर लाग्ने छैन -हिरोशिमा र नागासाकिको खाली पानाहरुमा ।
हाल: दोहा, कतार ।




