नेपालको जस्तै हडतालले म पनि डेनमार्कमा अड्किएँ

अरु कुरामा नेपाल र फ्रान्स, नेपाली र फ्रान्सेलीबिच समानता नभएपनि एउटा कुरा असाध्यै समान छ – हड्तालप्रेम । त्यहि हडताल प्रेमले गर्दा निकै नेपालीले दुख पाएझैं यहाँ यूरोपमा फ्रान्सेलीले मात्रै होइन अरु यूरोपेलीले पनि दुख पाउँछन् । मैले पनि फ्रान्सेली हडताल प्रेमको स्वाद चाखेर आज पेरिस पुग्नु पर्ने मान्छे कोपनहेगनको क्लारियन होटेलबाट यो ब्लग लेख्दै छु ।

हिजो पेरिस फर्कौंला र नेपाली र नेपाल प्रेमी डेनिसका मज्जाले कोपनहेगनमा देखे भेटेका राम्रा नरामा, रमाइला, दुख लाग्दा अनेक कथा ब्यथा लेखौंला सोचेको । हिजो बेलुका बिमानस्थल पुग्दा त ‘लौ तपाईको उडान रद्द भयो, अब भोलि मात्रै’ भनेर झ्स्याङ्गै पारिदिए । लौ बर्बादै भएन ? के के काम र योजना मिलाएको । आज काममा पुग्नुपर्ने । सब ध्वस्त । पेरिसको ओर्ली भन्ने बिमानस्थलका कर्मचारीको हड्तालका कारण कुनै बिमानपनि ओर्लन नदिएकाले रद्द गर्नु परेको रे ।

अन्तिम अवस्थासम्म कोसिस् गरियो-तैपनि अर्को कुनै उडानमा मिलाएर पठाइदिन्छन् कि भनेर । फोन दिए सम्पर्क यसमा गर्नु भनेर। भटाभट फोन गर्‍यो कसैले उठाउँदैन । घण्टौंसम्म ‘ब्यस्त छन् सबै फोन, पर्खनु भएकोमा धन्यावाद’ भन्छ। फोन गर्ने मेसिनमा हालेको पैसो छिन् छिनमै सकिन्छ । फेरी अरु पैसो हाल्यो त्यो निलिदिन्छ, सम्पर्क हुन्न ।

हद्दु भएँ, पारो चढ्यो। झोंकपनि चल्यो । र काउन्टरमा गएर भने’ यु सेल द टिकेट अन योर रेट्स्, एण्ड व्हेन देयर इज अ प्रोब्लेम नोबडि ईज देयर टु हेल्प द प्यासेन्जर्स, यू से बुल सिट गो अवे ? भेरी गुड बिजनेश। ‘

रेसेप्सनकि केटीले आफ्नो प्रतिरक्षा गर्दै रहि, मैले नर्वेजियन एयरलाई  सराप्दै रहें । अनि उ नरम भइ केहि। होटेलमा जानुस्, यो हो भनेर यो मैले प्राय आँक्न नसक्ने होटेल दिई । कति तारे हो थाह छैन तर होटेल भब्य छ । जाने र भोली पल्ट विमानस्थल फर्कने ट्याक्सीको ब्यस्था सहित ।

म अस्ति २२ तरिखनै डेनमार्कको राजधानी कोपनहेगन आएको । यहाँ केहि नेपाली र मुलत नेपालप्रेमी डेनिस नागरिक सित अन्तर्वार्ता थियो। यात्राका लागि सहयोगि थिए हेम अर्याल र सोम सापकोटा । उहाँहरुकै सहयोगमा मैले अन्तर्वार्ता गरें मेरो आगामी पुस्तकका लागि । काखे कम्प्युटर साथै लिएर आएको थिएँ तरपनि नेट सम्पर्क गर्न खोज्दा के के माग्छ के के गाह्रो भयो । अनि पहिलेनै लेखेर राखेका तर पुराना नहुने लेख मिती मिलाउँदै प्रकाशित गर्दै गरियो ।

कोपनहेगनमा दुई नेपालप्रेमी डेनिस नागरिकसित असाध्यै चाखलाग्दा अन्तर्वार्ता गरियो । नेपालीका कथा र ब्यथापनि बुझियो । नेपाली दुतावासको दुराशय र उहि हाकिमी पाराका बारेमा पनि सुनियो । नेपालीले कतिसम्म दुख गर्ने रहेछन् भन्नेपनि जानकारी मिल्यो । यि सबैको बारेमा म अवश्यै ब्लग लेख्ने छु । यो अनुभव अब भोलीबाट बाँडौंला । आजलाई यतिका दिनसम्म दिन प्रतिदिनका घटनालाई उधिनेर नलेख्दापनि नेपालप्लसमा जे जस्तो छ त्यो पढेर, प्रतिक्रिया दिएर साथ दिनु भएकोमा धन्यावाद । कोपनहेगनबाट शुभकामना !!

तपाइँको प्रतिक्रिया