आश्वासनको गुण
-रमेश गौतम “पाल्पाली“
यो आश्वासनको युग हो,
यहाँ आश्वासन बाँड्नुपर्छ,
आश्वासनको लालपूर्जा बाँड्न सके
विश्वासघातको अर्थ रहन्न ।
भोट लिनु छ तपाईंलाइ ?
सर्वसम्पन्न गराइदिने
आश्वासन दिनुस्,
जागिर खानु छ भने
भोट मिलाउन सक्ने
आश्वासन दिनुस्,
किन कि
पाएको भोट फिर्ता दिनुपर्ने
नियम छैन यहाँ ।
खाएको तलब फिर्ता गर्न
निसेनिले वाध्य गर्दैन ।
आश्वासनको अर्को पक्ष
विश्वास हो ।
कसैलाई विश्वासमा पार्नुस्
काम फत्य ।
कसैलाई दिन्छु भनेर,
कसैलाई गरिदिन्छु भनेर,
कसैलाई मिलाइदिन्छु भनेर
विश्वासमा पार्नुस्
बस्, तपाईं सफल ।
मूलमन्त्र यौटा
जानिराख्नुस्-
लाज र नैतिकतालाई
बाकसमा बन्द गर्न
नबिर्सनुस्
अनि त तपाईं
सबैतिर सफल ।
किन कि-
यो आश्वासनको युग हो,
लाज र नैतिकताको होइन ।
धुम्रबाराही- ४, काठमाडौं ।





