समुद्रको छाल हेर्दै नेपालीले गरे भेला
कार्यक्रममा कोहि सभापति बन्छ । कसैले उद्घोषण गरेर भट्याउँछ। केहि बक्ताहरु बोलाउँछ। बक्ताले मन लागेको भाषण ठोक्छ । अर्को बक्ता आउँछ । उसले अघिल्लोलाई झन माथ गर्ने गरि चर्किएर केहि लामो भाषण ठोकेर जान्छ । कोही गित गाउने हुन्छन। तिनले पनि आफुलाई मन लागेको केहि गित गाउँछन र जान्छन । नाच्नेपनि कोहि हुन्छ र उसले नाच्छ अनि जान्छ । त्यहाँ उपस्थित दर्शक र स्रोताको बिकल्प सुन्ने र हेर्नेमै सिमित । मन परेपनि सुन नपरेपनि । इच्क्षा लागेपनि हेर नलागेपनि । मुर्त काठको ठुटो झैं ति सुन्छन, हेर्छन र जान्छन। अर्काले जे भन्छ र देखाउँछ त्यो सुन्नु र हेर्नु बाहेक तिनको कहिँ कतै सहभागित हुँदैन । स्रोताको कानलाई प्रिय लाग्नु पर्दैन । तिनका आँखा रमाउनु पर्दैन। नाच्नेले नाचे पुग्यो। गाउनेले सुनाए भयो । स्रोता मध्येको कसैले मञ्चमा गाउनेले भन्दा अझ मिठो गाउन सक्छ भन्ने सोच्दैन । कार्यक्रममा माइक समातेर उद्घोषण गर्नेलेपनि म भन्दा उद्घोषणगर्न सक्ने दर्शक मध्ये कोही हुनसक्छ भनेर ख्याल गर्दैन । मुलत यस्तै हुन्छन होइन त नेपाली कार्यक्रमहरु ? तर पर्खिनुस ! यसपटक एन आर एन फ्रान्सले गरेको कार्यक्रम त्यस्तो थिएन ।
स्वदेशमा यतिखेर समाबेशिताको खुब आवाज उठेको छ । हरेक ठाउँमा सामावेशीता । हरेक क्षेत्र र जातिमा समावेशीता । सायद त्यहि प्रभाव परेकोले हो कि । बिदेशमा बसेका नेपालीहरुबिचपनि अहिले समावेशीताको प्रभाव परेको । अस्ति आइतबार एन आर एन फ्रान्सले पेरिसबाट नजिक पर्ने दोभिल भन्ने समुद्रि किनारमा एउटा भ्रमण आयोजना गर्यो । त्यो साँच्चिनै समावेशी थियो । त्यहाँ हरेकले केहि न केहि गित, कविता, टुक्का, उखान, कथा, भजन सुनाउनै पर्ने नियम बनाइएको थियो । समावेशी भएपछि कति रमाइलो हुन्छ भन्ने त्यसले देखायो । विहान ९ बजेदेखि समुद्रतिरको यात्रा शुरु गरिएको थियो । बेलुकि ९ बजे नै पेरिस आइपुगियो । तर त्यो बाह्र घण्टाको कार्यक्रम अति चाखलाग्दो भएर बित्यो । सबैले केहि न केहि खुबी लिएरै जन्मिएका हुन्छन नै । त्यहाँ एक से एक गित र कविता, उखान र टुक्का निस्किए।
कोहि नारायण गोपालका गित सुनाउँथे त कोही “भैंसी लड्यो है माया भिर बाट हेर” भन्ने पुरानो गित गाउँथे । कोही गित गाउन नआएपछि “हरे राम क्रिष्ण हरे हरे” भन्दै भजन सुनाउँथे । केहि पनि सुनाउन नसक्नेले दुइ यूरो दण्ड स्वरुप तिर्नु भनेपछि राजु भाइले “लौ न मलाई त केहि आएन, साह्रै भो, ओठ तालु सुक्यो, उभिएर माइक समात्दैमा डर लागिसक्यो अब कहाँ गित गाउन सक्नु,। लौ न बुढि बरु दुइ यूरो दिएर मेरो कल्याण गर” भन्दा त हाँसोले सबै मुर्छा परे ।
कार्यक्रम आयोजना गर्ने मात्रै होइन दर्शक र स्रोताहरु झन तगडा, झन सक्रिय रहरेक क्षेत्रमा केहि न केहि खुबी भएका हुन्छन भन्ने देखियो । बडा हाँसो लाग्दा कथाहरु सुनाए । सानी नानी मुना वाग्लेले नयाँ राष्ट्रिय गान सुनाइन । गायनमा बुटवलका नरेन्द्र शाहीको आधुनिक गीत अनि नारायण गोपाल र हिन्दि गित गाउन वालक्रिष्णको गला निकै प्रशंसानै गर्नु पर्ने खालको थियो । लोक गितमा राजेन्द्र लम्साल चर्चित लोकगायक भएपछि एक्ला खेलाडीनै हुने भए । उनी कार्यक्रमभरि आकर्षणको मियो नै बने । उता मदन भाई र हाम्रा चितौने क्रिष्ण अधिकारीले मादलमा खुब साथ दिए । राजेन्द्रजिसँग त हँस्यौलीहरु (जोक) को खाने नै रहेछ । समय पायो कि सुनाइहाल्ने ।
यहि समुद्र कसैलाई आकर्षण त कसैलाई डरको विषयपनि भएको थियो । नेपालबाट छोरीको निम्तोमा आएकि रहिछिन एक जना आमै । पहिलो पटक समुद्र देखेकि रहिछन । जब समुद्रको छाल नजिक आउँथ्यो तब डरले आत्तिएर उनी लड्थिन वालुवामा । उनलाई त पानी धेरै देखेपछि डर लाग्ने रहेछ र वरिपरिका महिलाहरुले समात्दै थिए । नेपाल लैजान भनेर समुद्रको जलपनि बोकेकि थिइन यि आमैले मिनरल वाटरको बोत्तलमा।
हरेकले केहि न केहि सुनाइनै पर्छ भन्नासाथ साहित्यकार तथा एन आरन फ्रान्सका आइ सि सि सदस्य हरिहर अर्याललाई बसभित्रै एउटा कविता रचना गरेर सुनाउनुपर्ने बाध्यता आइलाग्यो । गित नगाएपनि बेला बेलामा निर्मल अर्यालको ठट्टाले रमाइलै थपेको थियो । त्यस्तै तिन बजेतिर काठमाडौं दिपक महर्जन, चन्द्रा अर्याल, सिस्टर, बसेला अमात्य, पराजुली र शोभा मैनालीले बनाएको प्रशंसायोग्य खाना खाइयो ।
त्यसपछि लागे कोही तास जमाउन त कोही समुद्रको पानीमा डुबुल्कि मार्न । कोही फोटो खिच्नमै ब्यस्त थिए समुद्रलाई साक्षी राखेर ।
पेरिसका कार्यक्रमहरुमा सधै अरुका फोटाहरुलाई क्यामराभित्र सुन्दर तरिकाले कैद गर्ने बिजेन्द्र प्रधानपनि यो पटक भने आफ्नि पत्निलाई अँगालो हालेर फोटो खिचाउँदै थिए। यति लामो लेन्स भएको बिजेन्द्रको फोटो बडा तन्काएर फोटो खिच्दै थिइन भाउजु बत्सला अमात्य ।
मौसमले त्यति साथ दिएन । रमरम पानी पर्यो । कुइरिमण्डल भएर वातावरण चिस्यायो । तैपनि केही साथीहरु त झ्वाम कि झ्वाम हाम्फाल्दै थिए । चिसिएको शरिरलाई तताउने माध्यम निकाले यूवाहरुले वालुवामा फुटबल खेल्ने जुक्ति । फुटबलका रेफ्री बसे एभरेष्ट नेपालका पेम्बा शेर्पा । बरु सिठि नभएपछि दुइ औंला बांगो पार्दै उनी मुखमा घुसारेर सुइ सुइ पार्दै थिए।
सर्वाधिक एक्लैले ६ गोल हानेपछि चितवनका यूवराज उप्रेती आफुले गोल्डेन बुट (सुनको जुत्ता) पाउनुपर्ने दाबी गर्दै थिए “बेस्ट प्लेयर हुँ म” भन्दै।
साँझ नौ बज्यो । पेरिस आइपुग्ने बेला भो । छुट्ने बेलापनि भयो । अनि राजेन्द्र लम्सालजिले आफैंले रचना गरेको सबैलाई मन छुने एउटा गित सुनाए-
-बिदेश जानी मनैमा थिएन
स्वदेश बस्न करिमैले दिएन
फर्क मुग्लानी
मेलापात गरेनी खान पुग्ला नी !
-जान्छु बिदेश सम्पत्ति कमाउन
काम गरेर पसिना बगाउन
फर्क मुग्लानी
मेलापात गरेनी खान पुग्ला नी !
-चन्द्र सूर्य राखौंला साक्षी
मरेपछि भेटौंला उइँ माथी
फर्क मुग्लानी
मेला पात गरेनी खान पुग्ला नी !
(यहाँ मैले झण्डै सय वटा तस्बिर राखेको छु । हेर्न यहाँ क्लिक गर्नुहोस । ठुलो पारेर हेर्न प्रत्येक डबल क्लिक गर्नुहोस र सेभ एज गरेर आफुलाई मन परेको तस्बिर लिन सक्नुहुन्छ। पहिलो पानामा नभएका तस्बिर अर्को अर्को प्रिष्ठ गरेर हेर्दै जानुहोस) ।