कथा: संजोग (भ्यालेन्टाइन्स् डे विशेष)

-विद्या सापकोटा

यो शहरको दिक्कलाग्दो बसाइ, अति अव्यबस्थित बस्ती । राजनीतिको धमिलो, भुरा माछा र ठूला माछाको घम्साघम्सीजन्य खेल । जहाँ जहिले जनता नै हार्छन् लुटिन्छन् । राजनीतिक दाउपेचमा महिनौसम्म सडकका फोहर उठ्दैनन् । राजनीतिक खिचातानि मै यहाँका स्कूल, क्याम्पस र सडकहरु फाट्टफुट्ट मात्रै खुल्छन् । फुटपाथभरि छरिएर बसेका पसलहरु आफू त सास्ति भोगिरहेका छन् नै बटुवालाई अझ सकस थपिरहेका छन् । सिंहदरवारको कुर्सी धेरै जना चढिसके र झरिसके पनि । चढ्ने र झर्ने क्रम चलिरहेकै छ । तर अवस्था उस्तै छ, अझ गिर्दो छ । झन् यो झरी………..बेलाबखत ऊ सुसेल्छे, यस्तो हुदाँहुदै पनि मान्छेहरु किन शहर शहर भनेर मरिमेट्छन् ?

यो काठमाडौं बसाइ नपच्नुको कारण बानि नपरेर पनि हो । यसै बर्ष मात्र ऊ शहर झरेकी । पूर्वी  पहाडकी ठिटी ऊ, रमिला । पढ्न पनि पाइने, शहर मै सयलको जीवन पनि विताउन पाइने भनेर राजधानीमा जागिरे केटासँग खुरक्क विहे गर्ने सहमति जनाएकी उसले । तर यहाँको जीवन सोचेजत्ति सहज कहाँ रहेछ र ? पटक्कै आत्मीयता र संवेदनाहीन समाज ।

उसैपनि काठमाडौंको चीसो, त्यसमा माघे झरी । पट्यारिलो वातावरणलाई निकास दिदैं पानी रोकिएको थियो । आकाश पनि मज्जैले खुलेको थियो । बाटाका हिलाहरु सुक्दै थे । जे होस, वातावरण घमाइलो बनेकोले सडक किनारामा निक्कनेहरु बाक्लिएका थिए । फेरी भ्यालेन्टाइनमय काठमाडौं, प्रेमिलो देखिन्थ्यो ।

 आस्मा उसकी सहपाठी, गाँउमा सगैं पढेकी । काठमाडौमा सानोतिनो जागिर गरेर एक्लै बसेकी थिई । एसएलसी पछि त भेट भएको पनि थिएन । कलेजमा संजोगबश भेट भयो । आफ्नाहरु भन्दा दुर रहेका पुराना साथी भेट हुँदा दुवै खुसी भए । त्यसपछिका दिनहरुमा नियाश्रो लागेको बेला उनीहरु एकअर्कालाई भेट्थे  ।

 भ्यालेन्टाइन डे, कलेजमा ठूलै बहस चलेको थियो । साथीहरुको प्लानिङका लिस्टहरु अनि साथीहरुका छेडछाड ! ‘यसको त कुरै छाडौं न नयाँ दुलही न परी’ । एक्लै मुस्कुराउदै कपाल मिलाइ उसले । आज विशेष निम्तो थियो, भ्यालेन्टाइन डे को । आस्माले ऊ सहित उसको पतिलाई निम्त्याएकी थिई । धेरैपटक सँगै लिएर आ भनिरहेकी पनि हो । झन् भ्यालेन्टाइन डे को दिन त विशेष कार्यक्रम नै बनाएकी थी । शर्त थियो उनीहरुको, रमिलाले आफ्नो पति भेटाउने अनि आस्माले आफ्नो ब्वाईफ्रेण्ड भेटाउनुपर्ने । तर कहिल्यै फूर्सद हुने पति भए पो । ‘कुरा बुझ न, बरु बेलुका छिटो आउछु ।’ फकाउदै श्रीमान् निस्किए ।

 गाँउमा त यो प्रेम दिवस थाहै हुन्नथ्यो । होस् एक्लै जान्छु, कताकता खसी हुदैं ऊ सडकमा झरी । भिडभाड, ठेलमठेल पन्छाउदै आस्माको सम्म पुगी ।

 आस्मा साँच्चै खुसी देखिन्थी । रमीलाई लिन दौडदै बाहिर आइपुगी । रमिला एक्लै आएको देखेर मुख कुच्याउदै चिच्चाई ।

 -ऐ रमी ! खै तेरा पतिदेव, आज पनि ल्याइनस् ?

-हेर्न उहाँलाई फूर्सद नै भएन, सरी ल । 

-ह्या, आजको दिन आफ्नी नवविवाहिताको लागि टाइम नहुने ? हाउ वोरिङ्ग यार….झन् शर्त राखेको ।

-छोड् न, के भो र ? आजै भेट्नुपर्छ भन्ने के छ र ? हाम्रो गाँउमा थाहै हुन्न नि भ्यालेन्टाइन भन्ने, हैन र ? मन अमिलो हुदाँहुदै रमिलाले कुरालाई सहज बनाउन खोजी ।

-झन् आज मेरो प्रेमी पनि भेट्टाउला, दुई जोडी मिलेर मनाउला भनेको ….आस्मा ठुस्सिदै थिई ।

-हेर न त्यस्तै हो, उहाँ काममा हुनुहुन्छ, सधै करकर गर्नु पनि भएन । संजोग मिलेको बेला जरुर भेटाउछु नी । मेरो त बिहे भैसक्यो नि, श्रीमान हुन् फेरिन्नन् अव । तेरो त प्रमी । भर हुन्न क्या, बरु छिटो भेटा …..  रमीले ठट्टा गरी ।

-लल तेरो संजोग कहिल्यै मिल्ला जस्तो छैन । हुनपनि तेरो बुढालाई भेटेर मात्र आफ्नो प्रमी भेटाउछु भनिरहे भने मै बुढी भैसकुला जस्तो छ… हिंड्, म तलाई मेरो भ्यालेन्टाइन भेटाउँछु ।

-ल न त हेरुम्, हाम्री आस्माको भ्यालेन्टाइन । मिल्यो भने कुरा पनि चलाइहालु, मै त हुँ नि तेरो कुरा बुझ्ने । रौसिई रमिला ।

-है है………. अँ तर तेरा व्यस्त पति परमेश्वरलाई अर्को भ्यालेन्टाइनसम्म भेट्ने संजोग जुरोस नी है । कुरा पक्का ! !

-अँ कुरा पक्का ….।  मस्किदै दुवै भित्र पसे ।

 तर विचित्रको संजोग, त्यहाँ आस्माको प्रेमीको रुपमा उसकै पति / उसकै भ्यालेन्टाइन सौरभ शशरीर उपस्थित थियो ।

 हाल: शंकरदेव कलेज, काठमाडौं

तपाइँको प्रतिक्रिया