कहाँ होली नुमाफुंग ?
–किरण सुब्बा / बेलायत
जब कञ्चनजंघा र फक्तालुंगको पबित्र शिरबाट
आस्थाका सुनौलो किरणहरु पोखिन थाल्छन
म त खोज्छु उनको आकृति यतै कतै,
तीनजुरे र सन्दकपुरको प्राकृतिक छटाहरुमा
गाउँ-बेंसी र माइती घरको न्यानो स्पर्शहरुमा
सायद विजयपुर र मोराहांगको उर्बर फाँटमाथि
गरिब किसानको सपना बोकी झुलेकी छिन्,
निस्फिक्री धानको बाला बनी नुमाफुंग !
जब काटिन लागेको हिमालको शिर देख्छु
बाँडिन लागेको पुज्य भूमिको मर्म सुन्छु,
तराईका स्थिर पाउहरु दक्षिण खिचिएका पाउँछु
खोज्छु उनलाई महाकाली र मेचीका अंगालोभित्र,
तर सतलज र टिस्टामा बगेका साइनो खोज्दै,
अमरसिं, बलभद्र र कांगसेरोका बीरता ब्युँताउन
काँगडा र पूर्णियाका हाम्रा ऐतिहासिक धरोहरमाथि
फुलेकी होली राष्ट्र भक्तिको प्रतिक बनी नुमाफुंग !!
जब रोजगारी, अवसर र उन्मुक्तिको खोजीमा
सुन्दर सपनाहरु बुनी युवा लाहुर लाग्छन्,
बिछोडले न्यास्रो बनेको गाउँ बस्ती र मांगहिमहरुमा
खोज्छु उनलाई च्याब्रुङ, मादल र सारंगीको धुनसँगै
हाँकपारे, सोरठी, चुटका र झ्याउरे भाकाहरुमा,
देख्छु कि कतै आमाबुबा र चेलीको मुस्कानभित्र
सायद पारिवारिक मिलनको मिठो पल उन्दै,
पर्खेकी होली लालीगुराँस सजाई डाँडाभरि नुमाफुंग !!!




