अनिष्ठको संकेत पाएर कोइराला सक्रिय
देशबाट राजतन्त्र गयो । गणतन्त्र आयो । उनैको सक्रियतामा देशमा १० वर्षदेखि चलेको जनयुद्द रोकियो । बिदोहीहरु शान्तिपूर्ण ब्यवस्थामा आए । आफ्नो पार्टी सरकारमा छ । आफ्नी छोरी महत्वपूर्ण पदमा छिन् । दर्जन भन्दा बढि दलको संयुक्त सरकार छ । गिरिजाप्रसाद कोइराला ढुक्कले बस्नुपर्ने हो । तर रोग र उमेरले गाँज्दै ल्याउँदा उनमा झन बढि हुटहुटी देखिन्छ । चिकित्सकहरुले आराम गर्ने सल्लाह दिँदा दिँदैपनि कोइराला यतिखेर झन बढि सक्रिय भएका छन् । किन त ?
खासगरि सेना प्रमुख कटुवाललाई बर्खास्त गर्ने माओवादी नेत्रित्वको सरकारको निर्णयपछि देशको राजनितिक अवस्था बढि खेस्किँदै गएको हो । यहि घटनापछि दलहरुबिच दूरी बढिरहेको छ । हुँदा हुँदा देशकै रक्षामन्त्रीले प्रधानमन्त्रीको निर्देशनलाई नमान्ने र नटेर्ने अवस्था छ । सेनाले सर्बोच्च अदालतको आदेश मान्न छोडेको छ । रक्षामन्त्री बिदेशीका कुरा सुन्छिन् तर आफ्नै प्रधानमन्त्रीको आदेश मान्दिनन् । बिभिन्न दलका नेताले पटकपटक भारतको भ्रमण गरेपछि शान्ति सम्झौता, सेना समायोजन, संबिधान निर्माण प्रक्रिया सबै ओझेल पर्दैगएको छ ।
स्रोतहरुका अनुसार भारतले बिद्रोहीहरुलाई शान्तिवार्तामा ल्याउन चाहेको थिएन । तर कोइरालाले भारतीय स्वार्थलाई नाघेर १४ बुँदे सहमती गर्न भूमिका खेले । जनसेना संयोजन र नेपालमा संयुक्त राष्ट्र संघलाई भित्रिन नदिने पक्षमा थियो भारत । तर कोइरालाले त्योपनि टेरेनन् । मूलत: त्यहि बेलादेखि भारत कोइरालादेखि टेढिएको थियो । अनि भारतले कोइराला बिरुद्द नेपाली कांग्रेस पार्टीकै केहि नेताहरुलाई प्रयोग गर्न थालेको हो । स्रोतहरुका अनुसार नेपाली कांग्रेसमा फाटो ल्याएर शान्ति वार्ता भंग गर्ने, एमालेमा फूट ल्याएर जनसेना समायोजन हुन नदिने र संबिधान बन्न नदिने षडयन्त्रमा लागेको हो । अहिले कांग्रेसका शेरबहादुर देउवा, उनैका विश्वासपात्र रामचन्द्र पौडेल र खुमबहादुर खड्कासमेत उनैले बनाएको उच्च स्तरिय राजनितिक संयन्त्रको बिरुद्दमा लाग्नु त्यसैको परिणाम हो ।
ब्रिहद शान्ति संझौता बिपरित माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न हुँदैन भन्ने भारतीय सेनाध्यक्ष कपुरको आवाज सित हाम्रो रक्षामन्त्रीको आवाज मिल्नु, भारतीय मन्त्रीहरुले लगातार नेपालको भ्रमण गर्नु र बिगतमा झैं कोइरालासित भन्दा शान्ति संझौता बिरोधीसित बढि निकट रहनु, हाम्रा चार जनै सुरक्षा प्रमुखहरु (सेनापती, दुई जना आईजी र एक गुप्तचर प्रमुख) ले भारतको भ्रमण, भारतीय सेनापतीले हाम्रा सुरक्षा केन्द्रको भ्रमण गर्नु, भारतीय राजदूतले हाम्रो मुस्ताङ जस्ता सुरक्षाका हिसाबले संबेदनशिल मानिएका टाउँमा निर्वाध घुम्नुलाई कोइरालाले असामान्य रुपमा लिएको बताइन्छ । पारिवारिक भेटघाटमा गएका पूर्व राजालाई भेटेर भारतीय प्रधानमन्त्री र अन्य शक्तिशाली नेताले राजनितिक मन्त्रणा गर्नुलाई कोइरालाले नराम्रो संकेतका रुपमा लिएका छन् ।
भारतले सबै पार्टीका शान्ति सम्झौता बिरोधीहरुलाई प्रयोग गरेर पार्टीमा फूट ल्याउने, नेपाली सेनालाई उत्तेजित पारेर शान्ति संझौता भंग गर्न उचाल्ने र ब्रिहद शान्ति संझौता बिरोधीहरुको गठजोड गराउने पक्षमा भारतिय संस्थापन पक्ष रहेको बताइन्छ । यसरि ब्रिहद शान्ति संझौतालाई भंग गराएर राष्ट्रपतीलाई सक्रिय गराउने, सेनाको अप्रत्यक्ष निर्देशनमा अर्को सरकार गठन गर्ने, शान्ति संझौता भंग भएको घोषणा गर्ने, अन्तरिम संबिधानलाई निस्क्रिय गराउने र बिस्तारै आफ्नो हस्तक्षेप बढाउने दाउमा भारत रहेको संकेत कोइरालाले पाएकैले उनले त्यसलाई रोक्न उच्च स्तरिय राजनितिक संयन्त्रको प्रस्ताब गरेका हुन् ।
दिर्घकालिन शान्ति र नयाँ संबिधान बन्दैनकि भनेर कोइराला निकै चिन्तित रहेको र सबै राजनितिक दलका नेतालाई ल्याएर संयन्त्र बनाउन सके त्यसले बिगतमा झैं भारतीय स्वार्थ र योजनालाई चिर्न सक्छ भन्ने सोच कोइरालामा रहेको बताइन्छ । त्यसैले उनले उच्च राजनितिक संयन्त्र बिरुद्द बोल्दै हिँड्ने देउवा र पौडेलहरुलाई समेत बोलाएर त्यसलाई समर्थन गर्न लगाएका हुन् । भारतको त्यहि अवान्छित स्वार्थ देखेरै कोइरालाले अहिले बिभिन्न देशका कूटनितिज्ञहरुसितको भेटलाईपनि तिब्र पारेका छन् ।
अनावश्यक भारतीय चलखेल र भारतले राजनितिक अनिष्ट गराउने ध्येय राखेकाले कोइरालाले अहिले शान्ति संझौता अनुरुपको काम, नयाँ संबिधान निर्माण र स्थायी शान्ति कायम गर्ने गरि राजनितिक संयन्त्रलाई सक्रिय गराउन कोइराला आगामी केहि समय झन सक्रिय बन्ने बताइन्छ ।




