राजतन्त्र फर्काउन भित्र भित्रै कसरत ?

हजारौं लाखौं जनताले रगत बगाएर ल्याएको गणतन्त्र हाम्रा पार्टी र नेताकै कारणले गुम्ने स्थिति देखा परेको छ । यतिका समयसम्म संबिधान बन्ने कुनै मेलोमेसो नदेखिनु, दलहरु आफु आफुमै फुट्नु, सत्ताकै चास्नीमा रस बस्नु, शान्ति संझौता बिरोधी अभिब्यक्ति दिनु लगायतका कारणले गर्दा अब यो गणतन्त्रनै हरणमा पर्ने संभावना देखिएको हो । हाम्रा दलहरुको दूर्गुण र नालायकीपनको फाईदा अब पूर्व राजा र छिमेकीले उठाउने त होइनन् भन्ने त्रास ब्याप्त हुन लागेको छ । यसै विषयमा हिजोको जनआस्था साप्ताहिकले एउटा चाखलाग्दो समाचार प्रकाशित गरेको छ। हेर्नुस् नेपालको गणतन्त्र गुम्न सक्ने आशयको हिजोको जनआस्था साप्ताहिकको समाचार

ज्ञानेन्द्र मनमोहनबीच केकेमा गलफत्ती ?

 काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र आफ्ना नातेदारको विवाहमा निम्तो मान्न वा तीर्थाटन गर्नकै लागि भारत गएको प्रचार भइरहे पनि करिब डेढ महिना लामो पट्यारिलो भ्रमणमा उनले आफ्नो राजनीतिक मिसनसमेत पूरा गरेका छन् । माओवादी र भारतबीच कटुता बढेकै वेला दिल्ली पुगेका पूर्व राजाले नारायणहिटी छाड्नुअघि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आफूलाई लेखेको चिठी पनि साथैमा लगेका थिए । मनमोहनको पत्रमा आफ्नो ‘स्पेस’ कहाँनेर छ भनेर खोजिरहेका उनले फेरि पनि ‘धोका’ पाएनन् भने नया“ संविधान बन्न एक सय २९ दिन मात्रै बा“की रहेका वेला यसबीचको नेपाली राजनीति निकै तरंगमय हुने अनुमान गर्न सकिन्छ । विवाह-भोज त एउटा सर्न्दर्भ मात्रै थियो, माओवादीसित नजिकिन आफ्ना केही भारदारले दिएको सल्लाहलाई अस्वीकार गर्दै ज्ञानेन्द्र भारतसित ‘कुरा गर्न’ गएको स्रोतले जनआस्थालाई बताएको छ ।

सूत्रहरूका अनुसार, दिल्ली जानुअघि पर्ूवराजालाई उनका केही भारदारले ‘राष्ट्रवादी’ शक्तिबीचको एकताको नारा अगाडि र्सार्न सल्लाह दिएका थिए । यसो गर्दा भारतविरुद्ध लागिरहेको ठूलो पार्टी माओवादीसितको सम्बन्ध सुधार हुने, नेपाली जनताको एउटा ठूलो तप्काको सहानुभूति बटुल्न सकिने, उत्तरी छिमेकी चीनको पनि साथ पाइने, नेपाली सेना पनि खुसीसाथ नजिक आउने र यसबाट कांग्रेस, एमालेलाई ठूलो घाटा लगाउन सकिने विश्लेषण ती भारदारले भारत नजा“दै ज्ञानेन्द्रलाई सुझाएका थिए । हुन पनि माओवादी अध्यक्ष प्रचण्डले भारतविरुद्ध राष्ट्रिय स्वाधीनताका लागि लड्ने नारा फालेकै थिए, यसमा दरबारले ‘जय राष्ट्रवाद’ मात्रै भनिदिएको भए ‘राष्ट्रवादी’ र माओवादीबीचको बलियो मोर्चाको वस्तुगत वातावरण पनि बन्दै आइरहेको थियो ।

तर, ज्ञानेन्द्रले यो विश्लेषणमा चित्त बुझाएनन् । उनलाई लाग्यो, माओवादीको ‘राष्ट्रवाद’लाई सहजै विश्वास गर्न सकिँदैन । सम्भवतः राष्ट्रवादको नाराका आधारमा माओवादीसित नजिक हुँदा भारतको पनि विश्वास गुमाइने अर्को सम्भावना पनि उनले देखे । त्यसपछि ज्ञानेन्द्रले अर्को लाइन लिने विचार गरे, जुन लाइन हो- गैरमाओवादीसित नजिकिने र आफ्नो ‘स्पेस’ सुरक्षित गर्ने ।

तर, यसो गर्नुअघि भारतसित एकपटक कुरा गर्ने मनसायले उनी दिल्ली भ्रमणमा गएको स्रोतको दाबी छ । गैरमाओवादीसितको एकताद्वारा ‘स्पेस’ खोज्ने लाइन लिनासाथ भारतले विगतमा दिएका गोप्य आश्वासन, संसद्वादी दलहरूले बाह्रबुँदे समझदारीमार्फत माओवादीसित मिलेकोमा गर्न थालेको पछुतो, गिरिजालगायतका नेताले ‘संवैधानिक राजसंस्था रहनेछ’ भनी दिएको आश्वासन आदिमा टेकेर अगाडि बढ्न सकिने विश्वास पूर्व राजाले लिएको बताइन्छ । पूर्व राजाको यो लाइनबाट माओवादीलाई बढी घाटा हुने सहजै अनुमान गर्न सकिन्छ । दरबारले चाहिँ यसबाट ‘आलंकारिक राजसंस्था’ नयाँ संविधानमा घुसाउन सकिन्छ कि भन्ने अपेक्षा गरेको सूत्रहरूको अनुमान छ । तर, यसका लागि मुलुकमा अब सवा सय दिन मात्रै बाँकि छ ।

जनआन्दोलनका वेला ०६३ वैशाखको पहिलो शाही सम्बोधनको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मनमोहन सिंहका दूत करण सिंह चिठी लिएर ज्ञानेन्द्रलाई भेट्न आएका थिए । १२ बुँदे समझदारीमा पनि गणतन्त्रको कुरा उल्लेख नभएको र भारतले ‘संवैधानिक राजतन्त्र’ नमासिने सो पत्रमा आश्वासन दिएको बताइन्छ । तर, गिरिजाको प्रधानमन्त्रीत्व कालमा अर्को वर्ष जेठ १५ गते ज्ञानेन्द्रले नारायणहिटी छाड्नुपर्ने र गणतन्त्र घोषणा हुने भयो । यसमा गिरिजाले पनि राजतन्त्रको बचाव गरेनन् र भारतले पनि । बरु मनमोहन सिंहले फेरि ज्ञानेन्द्रलाई सरक्कै दरबार खाली गरिदिनू भन्ने अर्को चिठी लेखे । उता जेठ १५ मा दरबार खाली नगरे फाइटर प्लेनसमेत आउने धम्की पनि दरबारले त्यसवेला विभिन्न च्यानलमार्फ पाएको स्रोत बताउँछ ।

ज्ञानेन्द्रले वेलाबखत आफूलाई धोका भयो भन्ने गरेकोमा त्यसले भारतलाई नै संकेत गरेको बताइन्छ । पहिले किन राजसंस्था रहने आश्वासन दिइयो र पछि चुपचाप नारायणहिटी छाड्न भनियो ? भारतसित पूर्व राजाको मुख्य चित्तदुखाइ यसैमा रहेको बताइन्छ । सूत्रहरूका अनुसार, ज्ञानेन्द्रले भन्ने गरेका छन्, ‘विगतमा हजुरबा (त्रिभुवन) ले मलाई देश चाहिन्न, बसीखाने वातावरण देऊ भन्दा अहिलेलाई त्रि्रो देश हामीलाई चाहिन्न, तिमी फर्केर उतै जाऊ भनेर पठाउने, अहिले मैले तिमीहरूले भनेको मानेर गद्दी छाड्दा मलाई कुनै स्पेस नदिने ?’

दोहोर्‍याएर दिल्ली भ्रमण

निम्तो मान्न राजस्थान गएका पूर्वराजा ज्ञानेन्द्र शाह सोनिया गान्धी र मनमोहन सिंहलाई भेट्न दिल्ली पुगेका थिए, तर उनीहरूसितको मिटिङ रद्द भएपछि फेरि राजस्थान नै फर्किएर माउन्ट आबु गए । होटलमा उनलाई भारतले राम्रै सुरक्षा र स्वागत गरेको थियो । पछि उनी दोहोर्‍याएर दिल्ली गए । त्यहाँ सोनिया र मनमोहन सिंहसित भेट गरेको औपचारिक घोषणा नगरिए पनि को-कोसित के-के बात भयो भन्ने स्पष्ट छैन ।

नेपालका राजनीतिक दलहरू आन्तरिक खिचातानीमै व्यस्त रहेका वेला ज्ञानेन्द्रले १२ बुँदे समझदारी, करण सिंहले ०६३ वैशाखमा ल्याएको मनमोहन सिंहको पत्र र दरबार छाड्ने वेलामा आएको भारतको गोप्य चिठी मात्रै होइन, पर्दाभित्र भएका अन्य ‘जेन्टलमेन एग्रिमेन्ट’लाई समेत सतहमा ल्याइदिने सम्भावना बढेको स्रोत बताउँछ । भारतीय मन्त्री एवं सेनापतिको नेपालमा बाक्लो आगमन र नेपालका चारैजना सुरक्षा प्रमुख (सेनापति, दुई आइजी र गुप्तचर प्रमुख) हरूको दिल्ली दौड, एउटा सामान्य परिघटना मात्रै हो या यसमा कुनै सिलसिला वा तादात्म्य छ भन्ने कुरा अहिल्यै खुलिहालेको छैन । तर, पूर्व राजा ज्ञानेन्द्रले भने भारतसित निकै दह्रो कुरा राखेर आएको बुझिएको छ ।

बाह्रबुँदे संकटमा

स्मरणीय के छ भने माओवादीलाई बाह्रबुँदे समझदारीमार्फत शान्तिप्रक्रियामा ल्याएकोमा भारतको संस्थापनपक्ष यतिवेला पछुताइरहेको छ । एमाले, कांग्रेसमा पनि बाह्रबुँदेको विरोध गर्ने र त्यसबाट पछुताउनेको संख्या बढ्दै छ । पूर्व राजा त त्यो सम्झौताबाट नपछुताउने कुरै भएन, यी सबै कुराको संयोग मिल्यो भने बाह्रबुँदे सम्झौता खारेज हुने र भारत, पूर्व राजा अनि संसद्वादी दलहरूबीच अर्को सम्झौता त हुने होइन ? यो प्रश्नको अहिल्यै जवाफ दिइहाल्न सकिँदैन । तर, के चाहिँ स्पष्टै भन्न सकिन्छ भने यस्तो ‘दक्षिणपन्थी’ गठबन्धन भइहालेमा शान्तिप्रक्रिया एवं संविधान निर्माण प्रक्रियाचाहिँ बीचैमा तुहिनेछ ।

तपाइँको प्रतिक्रिया