शान्ति पुरस्कार
-इश्वर दाहाल “कविजी “
ए, सञ्चालकहरु हो
मेरो शिर देखि पाउ सम्म हेर
यो सुकुमार शरिरमा
शान्ति नै शान्ति छ
कसैले विध्वंस देख्न सक्ला ?
मैले जीवनमा,
बम पड्काएको छैन
बन्दुक चलाएको छैन
जाबो खुन न चुसेको हो
शान्ति कै लागि,
सडकमा अधिकार माग्नेलाई
ज्यूँदै गाडेको छु,
समानता खोज्नेलाई पोलेको छु,
न्याय चाहनेलाई दवाएको छु,
मैले,
शान्ति पुरस्कार किन नपाउने ?
ए,
विश्व समुदाय राम्ररी बुझिराख
यो नेपाल भूमिमा
शान्ति कै लागि आजिवन लागिरहें
श्रीमतीको शान्तिको लागि
आलिसान महल बनाएँ,
छोरीको शान्तिको लागि
बैक चुर्लुम्मै डुबाएँ,
भरौटेहरुको शान्तिको लागि
राष्ट्र डुबाइरहेको छु,
यस्तो शान्ति पूर्ण काम कसैले गर्न सक्छ ?
ए, निर्णायकहरु सुनीराख
यति मात्र हैन
भेल ल्याएर अशान्ति मच्चाउने
कोशि र काली बेची दिएँ,
ठूलो शब्दले गर्जने लाउडा
थुकै नलाई निलेको छु,
आज पनि तलुवाहरुलाई
राष्ट्र रित्याई शान्त बनाउन
हुकुम दिएको छु,
भरौटेहरु जनता मार्दैछन
अब पुरै देश शान्त हुनेछ
कोही छ मेरो प्रतिद्धन्द्धि ?
पुरस्कार दावी गर्ने ?
शान्ति पुरस्कार
मैले नै पाउनु पर्छ ।
मैले नै पाउनु पर्छ ।।
थाक्ले ४ ओखलढुंगा
हाल – नवोदित साहित्यिक वाचनालय
दोहा , कतार ।
इमेल [email protected]





