युवराज आउँदा कालोझण्डा

पेरिस, आगामी आइतबार भियना हुँदै फ्रान्स आउन लागिबक्सेका युवराज पारसलाई यहाँस्थित नेपालीहरूले कालो झण्डा देखाउने तयारी गरेका छन्। यो कार्यक्रमलाई सफल पार्न तथा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग र र्समर्थन गर्न यहाँ लोकतान्त्रिक मञ्च नै गठन गरिएको छ। मञ्चले अहिले यहाँका मानवअधिकारवादी संघ-संस्था , सञ्चार माध्यम र नेपालप्रेमी फ्रान्सेलीहरूमाझ सर्म्पर्क बढाउने काम जोडतोडका साथ गरिरहेको बताइन्छ। अष्ट्रियालाई दुईवटा कलिला गैंडा दिएर यूरोपियन मुलुकहरूबाट शाही शासनको पक्षमा र्समर्थन बटुल्न फ्रान्स आउन लागेको आशंकामा कालोझण्डाको तयारी गरिएको हो। उता , केही नेपालीको गोजीबाट खर्च व्यहोर्नेगरी युनेस्कोको केन्द्रीय कार्यालयमा युवराजको स्वागतार्थ रात्रिभोज दिन लागिएको छ।

पहिलो संकटकालमा नेपाललाई पत्रकारहरूको प्रमुख जेलघर बनाउने र दरबार हत्याकाण्ड हुँदा प्रधानसेनापतिको कार्यभार सम्हालेका प्रज्ज्वल समशेर जबरा यहाँस्थित नेपाली राजदूत छन्। उनकै अगुवाइमा अहिले युवराजको स्वागतका लागि नेपालीहरूको भीड जम्मा पार्न दैनिकजसो व्यक्तिगत फोन गर्ने र “तपाइँजस्तो शिक्षित र जानेबुझेको मान्छे, तपाइँजस्तो सहयोगी मानिसले युवराजलाई स्वागत नगरे कसले गर्छ” भन्दै मानिसहरूलाई फकाउन थालिएको छ। यसरी फकाउने काम विगत दुई हप्तादेखि जारी रहेको छ। स्मरण रहोस्, पेरिसमा हुने नेपाली कार्यक्रमहरूमा राजदूतको कहिल्यै पनि सहभागिता रहने गरेको छैन।

युवराजलाई कालो झण्डा देखाउने काम पेरिसको प्रसिद्धस्थल आइफल टावरअगाडि रहेको थ्रोकादेरो भन्ने ठाउँमा हुने भएको छ । मुलुकमा प्रजातान्त्रिक आन्दोलन चलिरहेको र दैनिक काटमार भैरहेको बेला युवराजको व्यक्तिगत भ्रमणले नेपाललाई कुनै पनि उपलब्धि नहुने भएकोले युवराजलाई कालो झण्डा देखाउने तयारी गरिएको बताउँदै मञ्चका सदस्य अशोक न्यौपानेले जनआस्थालाई भन्नुभयो- “नेपालीहरू जुन मुलुकमा भए पनि आफ्नो देशप्रतिको कर्तव्य भुल्न सक्दैनन्। झन् फ्रान्सजस्तो प्रजातान्त्रीक मुलुकमा बसेर आफ्नो देशलाई निरंकुशतन्त्रको दिशामा धकेल्ने व्यक्ति र संस्थालाई र्समर्थन र सहयोग गर्ने भन्ने त प्रश्नै आउँदैन। ”

यहाँ गठन गरिएको प्रजातान्त्रीक फ्रन्टमा पञ्चायतकालमा नख्खू जेल तोडेर भागेका पूर्व कम्युनिष्ट नेता अशोक न्यौपाने , नेपाली कांग्रेसका नेताहरू किरण प्रधान र हरिहर अर्याल, पेरिसवासी अन्य नेपालीहरू हेमन्त उपाध्याय, जीतासिंह कटुवाल, कविन्द्र कायस्थ र अनुराधा पौडेल हुनुहुन्छ। साभार: जन आस्था साप्ताहिक, चैत्र ९, २०६२

तपाइँको प्रतिक्रिया