गजल

-प्रकाश सापकोटा

prakasha-sapkota-golf

पिरतीको भाका छोपी गायौ भन केका लागि

हृदयको बाटो गरी आयौ भन केका लागि

 

लजाउँदै घरि-घरि लालुपाते ओंठभरि

मन्द मुस्कानको लाली लायौ भन केका लागि

 

विनसित्ति आफूलाई परेलीमा अल्झाएर

नयनको वरिपरि छायौ भन केका लागि

 

हिजो राति सपनीमा मेरै सामू उभिएर

सँगै ज्यूने, मर्ने कसम् खायौ भन केका लागि

 

साटासाट गर्ने हो कि रातो गुलाबको थुङ्गा

हैन भने यतिसारो धायौ भन केका लागि

तपाइँको प्रतिक्रिया