बिरामी भएँ, सके भोली लेखौंला

केहि दिन देखिनै खासै सञ्चो थिएन । शरिर दुखि राखेको थियो। केहि महिना अघि लडेर कम्मरको हड्डीमा भित्रि चोट लागेको थियो र त्यसको पिडापनि थियो । फेरि केहिदिनदेखि एक्कासि दिसाबाट रगत देखा परेको थियो । यहिबेला पहिलो पुस्तकको दोस्रो संस्करणकालागि साजसज्जा मिलाउने काम भैरहेकाले केहि सुझाव दिनुथियो । नयाँ प्रकाशोन्मुख दोस्रो पुस्तकको लागि सम्पादन गर्ने साथीले बाँकि काम सक्न हुटहुटी लगाएका थिए । अहिले लेख्न लागेका दुई पुस्तकको काम पनि फाटफुट्ट थियो । यो सबै काम एकैचोटी परे ।

तैपनि आ ! मै पेल्दिन्छु नाथे दुई चारवटा रोगलाई भन्ने सोच्दै  काम गर्दैरहेको । अहिले बढि भो । मौका पाउँदा सबैले एकैचोटी पेले । आज तिन पटक पुगियो चिकित्सककहाँ । बिहानको रिपोर्ट हेर्दा चिकित्सकले मलद्वारबाट बडेमाको पाईप हालेर हेर्नुपर्छ भने । नाइँनास्ती गर्ने कुरै भएन । सारै गाह्रो हुने रहेछ मुर्छै भएँ । भएको के रहेछ भने मसिना किटाणुहरुले सानो आन्द्रामा आक्रमण गरेछन् । औषधी त कम्तिमा १५ दिन खाएर तिनलाई लघार्नुपर्ने रे । अब आजदेखि कम्तिमा भोली बेलुकासम्म आराम गर्ने सोच छ । वा पर्सीसम्मपनि होला ।

त्यसैले अबको ब्लग सकें भने भोली बेलुकातिर लेख्छु । पाठक प्रतिक्रियाकालागि अष्ट्रेलियामा पिएचडी गर्दै रहेका साथी अशोक सिलवालजीलाई भनेको थिएँ । हिजो मध्यान्ह देखिनै उहाँले गरिदिनु भएछ । वासी नहुने कुनै लेख यस्सो सम्पादन गरेर भोलिका लागि रखिदिने र बाँकि प्रतिक्रिया अपडेट गरिदिनु हुन फेरी आग्रह छ। लेख र आग्रह दुबै मेलबाट पठाएको छु ।

अहिले सम्म प्रत्यक्ष देख भेट नहुँदापनि उहाँले पहिलेपनि दुखका बेला यसैगरि मलाई सहयोग गर्नु भएको हो, सदा अनुग्रही छु, रहने छु । आखिर साथी भनेकै यस्तै दुखका बेला चाहिने त हो । आज नयाँ केहि दिन सकिएन, भोलीपनि भर छैन । त्यसको लागि तपाई पाठक साथीहरुसित क्षमा चाहन्छु।

तपाइँको प्रतिक्रिया