बिदेशमा राजावादीको हरिबिजोग

नेपाली लोकतान्त्रिक मोर्चा फ्रान्सको तर्फाट आइतबार सयौं नेपाली, फ्रान्सेली र पर्यटकहरुले युवराज पारसको यूरोप भ्रमण र नेपालको निरंकुश सरकारका विरुद्ध कालोझण्डा देखाए। सयौं देशका पर्यटकहरुको भीड लागिरहने संसारप्रसिद्ध आइफल टावरअगाडि आयोजना गरिएको बिरोध कार्यक्रमपश्चात लोकतन्त्रप्रेमी नेपालीहरु युनेस्को कार्यालयअगाडि पुगेका थिए। त्यहाँ पारसलाई स्वागतार्थ युनेस्कोको एउटा हलमा बेलुकाको भोज खाने कार्यक्रम थियो। युनेस्को भवनको चारैतर्फ भ्यानका भ्यान प्रहरीहरु तैनाथ थिए। त्यहाँ नेपालीहरु पुग्नासाथ चारैतिरबाट प्रहरीहरु आएर धेरै बेर बस्नसमेत नपाइने बताए। त्यहाँ तैनाथ प्रहरीहरुले तस्वीर खिच्नसमेत नपाइने बताउँदै भने- तपाइँकै देशको सरकारले तपाइँकै राजकुमारकालागि उच्च सुरक्षा मागेपछि हामीले दिनै पर्‍यो। त्यसैले तपाइहरु यहाबाट गइदिनुहोस्।

सोही दिन एभरेष्ट नेपालका तर्फबाट दिउँसो सगरमाथा नेपाली रेष्टुरेण्टमा सशुल्क भोजको व्यवस्था गरिएको थियो। यो भोज शुल्क तिरेर खाए पनि बेलुका राजकुमारस ूग सित्तैंमा खान पाइन्छ भन्दै प्रचार-प्रसार गरिएको थियो। स्वागत भोजमा नेपालीहरुको सहभागिता न्यून हुने भएपछि यहाँस्थित भारतीय तथा भूटानीहरुलाई समेत बोलाइएको थियो। रमाइलो पक्ष त के भयो भने स्वागत कार्यक्रम आयोजना गर्ने एभरेष्ट नेपालको कार्यसमितिका सदस्यसमेत कालो झण्डा देखाउने कार्यक्रममा सहभागी हुन आइपुगे। युवराजको स्वागत गर्ने समितिमा अध्यक्ष पेम्बा शेर्पा , काजी शेर्पा , शैलेन्द्र महर्जन , निर्मल क्षेत्री र मुकुन्द अमात्यलगायतका व्यक्तिहरु थिए। स्वागत कार्यक्रमकालागि स्वागत पेम्बा शेर्पाले कर गर्न थालेपछि तपाइहरुले अति नै गर्ने हो भने म आउँछु तर युवराजलाई मैले कालो झण्डा देखाउन पाउनुपर्छ भनेर जवाफ फर्काउने नेपाली थिए तप्त भण्डारी।

कालो झण्डा देखाउने कार्यक्रममा बेल्जियम र जर्मनीबाट समेत नेपालीहरु आएका थिए। कार्यक्रममा रामेश श्रेष्ठले गाएको गीत गाउँ गाउँबाट उठ , बस्ती बस्तीबाट उठ , बेलायत निवासी कुमार लामाले शाहीयात्रा यूरोप प्यारोडी र अनुराधा पौडेलले शाही नोकरहरु आज भन्ने कविता गाउदा प्रदर्शनकारीहरुले ताली पिटेर स्वागत गरेका थिए।

कार्यक्रममा हरिहर आर्याल , निर्मल अर्याल , बामपन्थी नेता अशोक न्यौपाने र बेल्जियमबाट आएका नविन सापकोटाले आफ्ना भनाइहरु राख्दै नेपालमा निरंकुशता पराजीत नभएसम्म बिदेशबाट पनि लडाइँ जारी राखिने बताएका थिए। नेपाली राजदूतावासले युवराजको भोजबाहेकका कार्यक्रमहरु गोप्य राखेको छ। तर केही राजावादीका अनुसार महेन्द्र प्रकृति संरक्षण कोषको पेरिस शाखा गठन गर्ने तयारीसमेत भइरहेको छ र यो बुधवार केही गैरसरकारी संघ-संस्थालगायतका केही बिदेशीहरु डाकेर एक छलफल कार्यक्रम गरिने तयारी भए पनि बिदेशीहरुले नपत्याएपछि फ्रान्सेली संसदका एक सदस्यको निमन्त्रणामा उपल्लो सदनको एक कक्षमा मात्रै कार्यक्रम सिमित हुनेछ।

साभार: जनआस्था साप्ताहिक, चैत्र १६ , २०६२

तपाइँको प्रतिक्रिया