मलाइ तिम्रो दरवार चाहिँदैन

-शिव प्रकाश

shiva_prakash_07.jpg

दरवार वाँढ्दै हुनुहुन्छ

नयाँ मालिकहरु

राजा हैन

किन चाहियो मलाई दरवार !

राजा हुन रण गर्नु पर्छ

गणको स्वामी हुनु पर्छ

वध गर्नु पर्छ

मैले त्यो गर्न सकिन 

दरबारको आश छैन

घरबार विहिन नागरिक

शहीदको रगतले

स्वाधिनता पोतिएको

एउटा स्वतन्त्र देशको मालिक भए पनि

नयाँ मालिकहरुका उग्रगामी

अनुत्तरदायी भाषणमा मात्र

मालिक मानिएको

यथार्थमा हैन

मालिकहरु नै होमालिक

दरबार बाढ्ने वास्तविक मालिक  नयाँ मालिक !

घरबार विहिन

दर्जा हिन

भोक पचाएर

पीडा पिएर

नाड्गो ओढेर

अभावमा बाँचेको

मान्छे हुनुको यातना भोग्दै

आँखाभरि शहीदको सपाना साँचेको

निर्धो नागरिक

मलाई तपाइँहरुको सैन्य दस्ता होइन

शान्तिको त्राण दिनुहोस्

 यो धरतिमा तपाइँ आफूहरु बाहेक

जस्ता अरुको पनि अलिकति हक भने

मलाई दरवार हैन

पाइला टेक्ने एक चपरी जमीन दिनुहोस्

मन राजाको जस्तो नभए पनि

हाडछाला, मासु रगतले बनेको

उस्तै शरीर भएको उही देशको नागरिक हुँ

दर्जा फरक भए पनि

यथार्यमा तपाइँको राजा जस्तै पनि मान्छे हुँ

त्यो मान्छेलाई मालिकहरुले दरवार दिए पनि

यो मान्छेलाई आङ् ओत्न

एउटा झुपडी मात्र दिनुहोस्

नयाँ मालिकहरु,

राजा हैन

मलाई दरवार चाहिंदैन

तपाइँको प्रतिक्रिया