पेरिसभरि नेपालसम्बन्धी प्रदर्शन

माघ १९ को राजाको कदमबिरुद्ध रिपोर्टर्स विदाउट बोर्डरले फ्रान्सको राजधानी पेरिसमा होर्डिङ्ग बोर्डहरु राखेर प्रदर्शन गरिरहेको छ। गत सोमवार यी बोर्डहरु पेरिसका चोक र शहर तथा प्रमुख गल्लीहरुमा टाँसिएका छन्। आठ सय वटा बोर्डहरुमार्फत् हामी नेपाली राजाको कदमको बिरोध गर्दै नेपाली पत्रकारहरुको साहसिक आन्दोलनको र्समर्थन गर्दछौं बोर्डरका एशिया डेस्क प्रमुख भिन्सेन्ट ब्रोसेलले भने।

होर्डिङ्ग बोर्ड राख्न बोर्डरका कर्मचारीहरु आफैं सहभागी भए। यसको डिजाइनिङ्ग र नेपाली आन्दोलनको फोटो छान्ने काम पनि उनीहरुले नै गरे। अन्तमा झण्डासहित आन्दोलनकारीहरु चिच्याइरहेका र एक महिलालाई प्रहरीले पक्रँदै गरेको फोटो हालियो। मानौ यो उनीहरुको आफ्नै देशको कार्यक्रम हो। “नेपालको अनुभवले हामीलाई के सिकाइरहेछ भने निरकुंश सत्ताधारीहरुले स्वतन्त्र प्रेसलाई मार्न किमार्थ सक्दैनन् ” ब्रोसेलले थपे- त्यसैले स्वतन्त्र प्रेसको अस्तित्व जोगाइरहन लागिपरेका नेपाली पत्रकारहरुको साहसको सम्मानस्वरुप हामीले यो प्रदर्शन गरेका हौं । हामी पनि उनीहरुको स्वतन्त्रता आन्दोलनमा टाढै रहेर पनि समाहित छौं र ऐक्यबद्धता जनाएका छौं। हाम्रो मान्यता के छ भने राजाले सम्पूर्ण प्रेस अधिकारहरु फिर्ता दिएर नेपालको स्वतन्त्र प्रेस पुनः फर्काउनुपर्छ।

६४ झ ८० सेमीको आकारमा रहेका होर्डिङ्ग बोर्डको शीर्षक सेन्सरसिप राज्यसत्ता भनी फ्रान्सेली भाषामा लेखिएको छ। जसमा बिरोध प्रदर्शन गर्ने, लेख्ने तथा फोटोग्राफी गर्नेजस्ता अधिकारहरुमाथि लगभग प्रतिबन्ध लगाईएको उल्लेख छ।

राजाको सक्रिय शासनको बिरुद्ध पेरिसमा गरिएको यस्तो खालको कार्यक्रम यो पहिलो हो भने आरएसएफका तर्फाट गरिएको यो सबैभन्दा ठूलो बिरोध कार्यक्रम हो। नेपाललाई सुन्दरताको खानी भनिभनि परिभाषित गर्नेहरुलाई नेपालको वर्तमान अवस्थाबारे जानकारी दिन र नेपाल घुम्न जानुअगाडि एकपटक राम्रोसंग जानकार बनाउने काम यो प्रदर्शनीले गरेको भन्दै भिन्सेन्टले थपे- नेपाल सुन्दरमात्र होइन राजनीतिक रुपमा अस्थिर छ र त्यहाँ प्रजातान्त्रिक आन्दोलन चलिरहेछ भन्ने कुरा फ्रान्सेलीहरुले बुझ्नुपर्छ। उनकाअनुसार , होर्डिङ्ग बोर्ड प्रदर्शनी एक हप्तासम्म जारी रहनेछ ।

अनु पौडेलबाट, साभार: जनआस्था साप्ताहिक, माघ १९, २०६२

तपाइँको प्रतिक्रिया