सम्पत्ती विवरण नबुझाउनेमा गगन थापापनि ?
काठमाडौंमा आफ्नो घर हुँदा हुँदै सरकारसित डेराभाडा लिएर राज्यकोषको दूरुपयोग गर्नेमा गगन थापाको नामपनि आएको थियो । त्यति बेला धेरै नेपालीले चित्त दुखाए । गगन थापाको निक्कै आलोचना भयो । र उनले हाकाहाकी माफी मागे। अनि त्यो रकम लगेर फिर्ता दिएपछि । मान्छेले गल्ति गर्न सक्छ तर त्यसको महसुस गरेर सुधारिनु राम्रो पक्ष हो । त्यसपछि गगन थापाको लोकप्रियता, प्रसिद्दि र बिश्वास झन बढ्यो । तर के गर्ने उनीपनि नेपाली नेता न परे, कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा हालेपनि बांगाको बांगै भने झैं सम्पत्ती विवरण नबुझाउनेमा उनको नामपनि मुछिएको छ ।
सार्वजनिक पदमा बस्नेले राज्यले तोकेको समयमा सम्पत्ती विवरण किन बुझाउँदैन ? स्पष्ठ छ, राज्य कोषको दूरुपयोग गर्ने, भ्रष्टाचार गर्ने, राज्यबाट अनुचित लाभ लिनाले । आज नयाँ पत्रिका दैनिकको सम्पत्ती विवरण नबुझाउनेको सूचीमा उनको नामपनि देखेपछि अचम्म लाग्यो । गगन थापाले त्यसै गरे होलान् भनेर त भन्न सकिन्न । तर उनलेपनि सम्पत्ती विवरण नबुझाएर भ्रष्टाचार निवारणगर्न बनेको ऐनलाई धोती लगाइदिएका छन् । गगन थापा स्वच्छ प्रशासन, भ्रष्टाचार रहित प्रशासन, परदर्शिता, प्रजातान्त्रिक संस्कारको निकै वकालत गर्छन् । उनी नेपालका थोरै नेता मध्ये जनताको मनमा बसेका यूवा नेता हुन् । म पनि ब्यक्तिगत रुपमा उनको निक्कै प्रशंसक हुँ । तर के गर्ने गगन थापालेपनि पटक पटक आफ्नै देशको कानुनलाई उल्लंघन गरेर अरु नेताले झै आफुलाई कानुनको माथि ठानिदिए ।
त्यसरि सम्पत्ती विवरण नबुझाउनेमा झलनाथ खनाल, दिवाकर गोल्छा पनि छन् । यि ब्यापारी गोल्छालाई के नपुगेर होला ? एमालेको अध्यक्ष जस्तो पदमा बसेका खनाल आफैंले नियम र कानुनको उल्लंघन गर्दै विवरण नबुझाएपछि अरु कसले बुझाउला ? स्वच्छ, पारदर्शि अनि भ्रष्टाचार मुक्त समाज बनाउँछौं भन्ने माओवादीका आफ्नै सभासद देवी खड्का र शालिकराम जमर्कट्टेललेसमेत बुझाएका रहेनछन् । यो देख्दा लाग्छ-बोल्न सजिलो छ, गुलियो भाषण छाँड्न मजा आउँछ तर आफैं उदाहरण बनेर देखाउन सक्ने हिम्मत तिनमापनि छैन ।
रामशरण महत, रामचन्द्र पौडेल जस्त नेताले त पटक पटक चाखेकै हुन् राष्ट्रिय सम्पत्ती । तिनबाट भ्रष्टाचाररहित प्रशासनको कल्पना के गर्ने ? तर ब्यपारी पद्म ज्योती, प्रदिप गिरी, भीम प्रसाद गौतम, मात्रिकाप्रसाद यादव, डा शशांक कोइराला, सपना मल्ल प्रधान जस्ता स्वच्छ छबी भएकाहरुले पनि किन ऐन कानुनको उल्लंघन गरेका होलान् ? कि पदमा पुगेपछि कुम्ल्याएकैले सम्पत्ती सार्वजनिक गर्न डर लागेर होला ?




