“पठाइदिनु है आमा गुन्द्रुक किनामा “

nepali-poet-bhupal-Rai-in-paris-0213

यो शहरमा पानी पिउँ गाउँकै तिर्सना

हो.……….यो शहरमा पानी पिउँ गाउँकै तिर्सना

पठाइदिनु है आमा गुन्द्रुक किनामा

 

-धेरै भयो आमाको हातको नखाको

यो छोराले त्यो काखको माया नपाको

 यो शहरमा ………………………….

यो गित गितकार भूपाल राईले गाएका हुन् । पेरिसमा साहित्यिक भेटघाट राख्दा त्यस साँझ नेपाल सम्झेर को कति रुन्छ ? गाउँघरको संझनाले कति पिरोल्छ ? आफुले गरेको उकाली र ओरालीको कत्तिको याद आउँछ ? आफु टाढा हुँदा बच्पनमा पाखुरा समातेर डोर्‍याएका वल्ला पल्लाघरे अनि धारोपानी गरेका सँगी साथीको यादले कत्तिको सताउँछ ? गाउँमा छोडेर हिँडेकि आमाले पकाएर दिएको गुन्द्रुक र मस्यौरा अनि खोले र सागको स्वादले कत्तिको रुवाउँछ ? यिनै विषयमा कुरा निस्कियो ।

Nepali Literals in Paris 153

ओहो हो ! अचम्म अचम्मका अनुभूती रहेछन् । त्यहि कुरा हुँदा भूपाल राई भावुक भए। खोटाङबाट काठमाडौं झरेको ठिटो त्यहि शहरमा आन्तरिक शरणार्थी बनेपछि उनलाई आमाले पकाएर दिएको गुन्द्रुक र ढिडोको असाध्यै याद आउने रहेछ । घरी घरी उनले मन रुवाउने रहेछन् । गाउँको सम्झना र साथी भाई अनि गाउँलेसितका क्षणले पिरोलिने रहेछन् । त्यहि पीडाले सताएर उनले माथिको गित लेखेछन् ।

बिदेशमा बस्ने नेपालीका के कस्ता हुन्छन् पीडा ? नेपालबाट देख्नेलाई यूरोप र अमेरिकामा बस्नेले कुस्त दाम कमाउँछन् । भौतिक सुख सुबिधा मज्जाले लिन्छन् । बिलासी जिवन बिताउँछन् । तिनको जिवन मस्तीले सुखमा बित्छ । पिर हुन्न। कुनै पिरलोले छुन्न ।तर वास्तबिकता त्यसो कहाँ हो र ? बिदेशमा नपिरोलिने कमै हुन्छन् । नआत्तिने त मन नै नहुने रहेछ । शरिर यहाँ छ तर मन सारा नेपालमै पुग्ने रहेछ ।

गाउँ छोडेर टाढा भएपछि कुल्चिँदै हिँडेको परालको त्यन्द्रोकोपनि याद आउने रहेछ । आफुले खाएको धारोको पानी घाँटीमा कुल्कुलाउने रहेछ । गाउँमा हुँदा सरोकार नलाग्ने कुनै राइँलाको अनुहारकोपनि माया लाग्ने रहेछ । नजिकको वन, छेउको कूलो, सामुन्नेको बाँसको झ्याँङ, वल्लो र पल्लो डाँडो सबैको संझनाले सताउने रहेछ । खोटाङ छोडेर काठमाडौं छिरेपछि शहरिया जिवनमा एक्लो महसुस हुँदा धेरै पटक मन रुवाएको सुनाए भूपाल राईले । ‘त्यो आफ्नै गाउँको जस्तो, आफु हुर्किएको जस्तो, आफ्नै परिपाटी, आफ्नैपन हुँदै नहुँदो रहेछ, पाइँदै नपाईने रहेछ। अनि गाउँ सम्झेर असाध्यै मन रुने रहेछ’ भने उनले ।

त्यस्तो माया लाग्छ आफ्नो देशको, आफ्नो गाउँको भने किन फर्किँदैनन् त ? के ले छेक्छ ? कसले रोक्छ र बस्छन् त जरा गाडेर बिदेशमै ? सोध्छन् धेरैले यस्तै । वास्तबिकता क्रिष्ण धरावासीले बताए । रहँदा बस्दा बस्दै केहि वर्ष बित्छन् । उताका साथीभाई लाखा पाखा लाग्छन् । यता आफ्नो सिप र लगानीको माया लाग्न थाल्छ । अनि झट्ट छोडेर हिँड्दा उता यहि गर्ने भन्ने निश्चितता केहि हुन्न । झन यता परिवार भएपछि छोडेर जाउँ परिवारको मायाले सताउँछ । यता परिवार छोड्यो उता एक्लो भइन्छ । जति उमेर ढलिँदै गयो उति यताको परिस्थिति आफुलाई मिल्दैन । यहाँ हुर्केका वालवच्चापनि यहिँको माटो, संस्क्रिति र हावापानीमा अभ्यस्त हुन्छन् । तिनका हित्त चित्त मिल्ने पनि यतै हुन्छन् । आफुलाइ यता बस्न गाह्रो भएझैं तिनलाई उता जान मुस्किल पर्छ । अनि यता न उताको भइन्छ ।

धरावासीले यिनै समस्याहरुलाई केलाएर शरणार्थी भन्ने उपन्यासनै लेखेका रहेछन् । सायद त्यहि पुस्तकको होला एउटा घतलाग्दो प्रसंगनै सुनाए- परिवार आफ्नो थात थलो छोडेर बसाई सर्छ । बसाई सर्ने बेला सबै लैजान्छन् । तर आफु बसेको धरतीको मायाले पोरोलेपछि उनीहरुले एउटा मुजुरलाई भने त्यहिँ  छोडिदिन खोज्छन् । सम्झनाको लागि । तर मूजुरपनि परिवारसँगै पछि पछि लाग्छ । अनि बसाई सर्नेले त्यो मूजुरलाई ढुंगाले हानी हानी लघारेर फर्काउन खोज्छन् । कमसेकम आफ्नो एउटा चिनो त रहोस । आफु जन्मेको थलो कति प्रिय हुन्छ भन्ने यसले देखाउँछ ।

साँच्चिकै आफु जन्मेको ठाउँको माया टाढा हुँदा झन बढि लाग्ने रहेछ । छोटो समयकालागि बाहिर बस्दापनि संझनाले घोचिराख्ने रहेछ । चिमोटिराख्ने रहेछ । आँखा वरिपरि नाचिराख्ने रहेछ आफुलाई धरती टेकाउने थलो । राजदूत पत्नी निता श्रेष्ठ त्यहि सुनाउँदै थिईन । जन्मथलो धनकुटा क्षेत्रको असाध्यै संझना आउने रहेछ ।

“चार वर्षमा फर्केर गईन्छ भन्ने पक्का छ। तैपनि यिनै चार वर्षपनि नबित्दै आफ्नो गाउँघर र देशको संझनाले सताउने रहेछ” निता श्रेष्ठले यसो भन्दा यहिपनि निकै लामो लागेछ क्रिष्ण धरावासीलाई । उनी त झन् दुई हप्तामै आत्तिएका रहेछन् । वरिपरिका साथीहरुलाई सोधे क्रिष्ण दाईले “तपाई कहिले देखि यता वसोवास गर्दै हुनुहुन्छ ? तपाई नी ? ” कसैले १० वर्ष, कसैले, १५, कसैले ५ वर्ष त कसैले ३० वर्ष देखि बस्दै आएको बताएपछि उनी आत्तिएझैं गरे। अनि निता श्रेष्ठतिर फर्केर भने-तपाई चार वर्ष भन्नुहुन्छ । हामीले नेपाल छोडेको दुई तिन हप्ता भयो र त हामी कहिले नेपाल पुगिएला भनेर आत्तिईसकेका छौं ।

नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायको चिन्ता र नेपालको संझना सुन्दा अत्यास लाग्दो थियो । फ्रान्स बसेका तिन दशक हुन लागेछन् । यस बिचमा नेपाली भाषाका धेरै शब्दहरु स्म्रितिबाट हराए । दिनभरि काममा फ्रान्सेली भाषा बोल । केहि लेख्न परे फ्रान्सेली भाषामै । नेपालीसितको भेटघाट, जमघट र भेला हुने भनेको विरलै हुन्छ विशेष मौका वा चाड पर्वमा। बाँकि समय संगत गर्ने भनेको फ्रान्सेलीसितै हो । अनि नेपाली भाषामा खासै लेखपढ गर्नु पर्दैन । घरमा परिवारसँग एकाध घण्टा भन्दा बोलिँदैन । हुँदा हुँदा त सपनापनि फ्रान्सेली भाषामै देख्न लागेका रहेछन् उनले। अनि नेपाली भाषा र नेपालबाट अलि टाढिएको, केहि गुमाएको ठानेर पिरोलिने रहेछन् ।

कतिपय चाहिँ यता आएको वर्षौं भयो । एक्लो जिउ लिएर आएकाहरु दुई तिन छोरा छोरीका माता पिता बने। तिनको घरजम भएर पनि नाती नातिना ब्याज पाक्ने बेला हुन लागिसक्यो । तर गुम्ने रहेछ त्यहि नेपालको गाउँ घर। नाच्ने रहेछन् हरेक दिन तिनै बारीका डल्ला । तिनै साथी । तिनै खेत, त्यहि कुलो, र उहि भकारो अनि आफुले हेरेको फूर्कि गाई र उसको बाच्छो । त्यहि करेसो बारी । उनै कागतीका बोट । सपनामा आफु जन्मेको गाउँ नदेखेको त रातै नहुनेपनि रहेछन् ।

तपाईहरु गाउँघरबाट टाढिएका साथीहरुलाई कस्तो लाग्छ, देश छोडेर बिदेश पुगेका मित्रहरुलाई कस्तो संझनाले पिरोल्छ लेख्न नबिर्सनुस् है त ?

तपाइँको प्रतिक्रिया