कथा: सम्बन्ध विच्छेद
-रमेश गौतम “पाल्पाली“
अदालतबाट निस्कँदा विकासले मन खिन्न पारेर सीमालाई हेरेको थियो । सीमासँग सम्बन्ध विच्छेद गर्नु परेकोमा विकासलाई त्यति चिन्ता थिएन जति दीपकको थियो । हो, दीपक बल्ल चारै वर्ष त लाग्यो । यो बेला बच्चालाई बाबुको प्रेम मात्र होइन आमाको ममता पनि चाहिन्छ । अब विकासले उसलाई मायासम्म त दिन सक्छ, तर आमाले दिनु पर्ने ममता उसले कसरी दिने ?
विकास घर पुग्दा दीपक स्कूलबाट फर्केको हुनेछ । उसले सोध्नेछ-“बुबा ! आमा खोइ – मलाई भोक लागेकोछ । आमा कहाँ जानुभयो ? भन्नु बुबा भन्नु न ।” अनि विकासले उसलाई के भनेर जबाफ दिने ? उसलाई कसरी बुझाउने ? के आमा मामाघर गई भन्ने ? अहँ, उसलाई छोडेर मामाको घर गएको कुरा त उसले सुन्नै चाहन्न । दीपकले मामाको घर भनेको आफ्नो मात्र अधिकार सम्झन्छ । उसलाई घरमा छोडेर अरू कोही मामाको घरमा गएको भनेपछि रुवाबासी चल्छ ।
गएको तिहारमा त हो, दीपकलाई आफ्नी फुपू उमाले टीका लगाएर साँझ फिर्ता ल्याइदिन्छु भनेर आफ्नो घरमा लगेकी थिई । त्यही मौका पारेर सीमा भाइलाई टीका लगाएर तुरुन्तै आउँछु भनेर गएको केही बेर ढीला भयो । दीपक टीका लगाएपछि फुपूकहाँ एकछिन पनि बस्न नमानेर “घर जाने घर जाने भनेर रुन लाग्यो” भनेर उमाले फिर्ता पठाइदिइछन् । घर आउँदा आमालाई देखेन । सोध-खोज गर्न लाग्यो । विकासले पनि मामाको घरमा टीका लगाउन गएकी छ, भनेर सोझै भनिदियो । बस्, के थियो र ! सीमा नआएसम्म त रोयो रोयो, ऊ आएपछि पनि अब उसलाई छोडेर कहिल्यै नजाने कबुल गरेपछि मात्र फुलिएको थियो । त्यस बेलाको कुरा अहिले पनि बिर्सेको छैन । त्यसो हुनाले मामाघरको त नामै पनि लिन हुँदैन ।
अब के भन्ने ? हामीलाई छोडेर गई भन्ने? त्यो पनि उसलाई पच्ने छैन । किनकि आमासित विछोड भएर दीपकले आजसम्म एक रात पनि त बिताएको छैन । कहिले कहीँ साँझ विकाससँग सुते पनि राती उठेर आमासित जानेगथ्र्यो ।
अनि ? अनि त के भनेर उसलाई सम्झाउने ? मरी भन्ने त ? कसरी मरिन्छ ? मर्दा के हुन्छ ? मरेपछि कति बेरमा आउनुहुन्छ ? यो त झन् बुझाउनै गाह्रो हुन्छ । किनकि न त उसलाई मरेको थाहा छ, न त मरेपछि मान्छे आउँदैन भन्ने नै थाहा छ । त्यसो हुनाले मरी भनेर पनि बुझाउन संकिँदैन । मरेपछि मानिस फेरि कहिल्यै आउँदैन भन्ने हो भने झन् समस्या पर्ला । बजार गएकी छ वा अन्यत्र कहीँ गएकी छ, भनेर केही बेर भुलाउन त सकिएला, तर ‘ढाँटेको कुरा काटे पनि मिल्दैन’ भन्छन्, यो पनि कति बेरको ओखती हो र ?
विकास यस्तै यस्तै तर्कनामा अल्झियो । उसले सीमालाई हेर्यो । सीमा भने विकासतिर हेर्दै नहेरी वकिलको साथमा लुरुलुरु गई । हुन त सम्बन्ध बिच्छेद गरेर सीमा पनि त्यति खुसी छैन भन्ने कुरा त उसको अनुहारले नै देखाएको थियो । छोराको मायाँ त उसलाई पनि लागेकै होला नि ? तर के गर्नु ! सीमाको एकोहोरे ढिपीगर्ने बानीले गर्दा छोराको मायाँले पनि उसलाई रोक्न सकेन ।
विकासले कम सम्झाएको होइन सीमालाई, “हामीले सम्बन्ध विच्छेद गरेर हामी सुखी रहन सक्ने छैनौं । हामी बीचको कडी दीपक भइरहने छ । दीपककै लागि पनि हामीले केही सहनुपर्दछ । यो तिम्रो पनि छोरो हो र मेरो पनि । एक जनाको माया र ममताले बच्चालाई पुग्दैन । बाबुको माया र आमाको ममता बच्चालाई उत्तिकै जरुरी पर्छ । ढिपी नगर । दीपकको निमित्त पनि यस्तो कदम उठाउन हुन्न” भनेर विकासले भन्दा सीमाले तर्क दिएकी थिईः-“हामीले सम्बन्ध विच्छेद नगरेर एकै ठाउँमा बस्यौँ भने दीपकको मनमा झन् नराम्रो असर पर्ने छ । आखिर तिम्रो र मेरो विचार मिलेन । सोचाइ मिलेन । व्यवहार मिलेन, जसले गर्दा रात-दिन झगडा र विवाद मात्र भइरहेछ । बाबु-आमाको झगडाले बच्चाको दिमागमा कस्तो असर गर्ला ? हामी झगडा गरेको बेला ऊ लाचार भएर कसरी एक्लिन्छ ? तिमीले विचार गरेका छौ ? हो, त्यसैले हामी एकै ठाउँमा बस्नुभन्दा अलग बसेमा उसलाई मानसिक तनाव त सहन पर्दैन ।”
“यही त नहुने । हामीले झगडा गर्नुपर्ने कारण नै ननिकालौँ, मेरो भनाइ यत्ति हो । त्यसो भए दिपकलाई एक्लिनु पनि पर्दैन र हाम्रो बनि-बनाउ घर पनि उजाडिन्न । कम से कम आफ्नो लागि नभए पनि तिमीले दीपकको लागि भए पनि यो घरलाई बिगार्न हुन्न ।” “झगडा गर्ने म होइन तिमी हौ । सानोतिनो कुरामा पनि तिमीले कचकच गरिरहन्छौ । अनि त झगडा हुन्छ । तिमी चुप्प लागेर बस्ने गरेको भए कसरी झगडा हुने थियो र ?”
“तिमी के भन्न चाहन्छ्यौ सीमा ? मैले सानो तिनो नचाहिने कुरामा कहिल्यै पनि कचकच गरेको छैन । म त केवल घर गृहस्थी कसरी चलाउनुपर्छ ? छोरालाई मायाँ-मोह कति दिनुपर्छ ? इष्ट-मित्र तथा काम गर्नेसँग के कस्तो व्यवहार गर्नु पर्दछ ? यत्ति त भन्छु । अरू त केही पनि भन्दिन ।”
“भन्न के पर्यो ? मैले लाएको, खाएको, हिडेको, डुलेको र कसैसँग बोलेको समेत तिमीलाई मन पर्दैन । आखिर मैले पनि कमाएकी छु । मैले पनि काम गरेकी छु । अनि मैले आफूखुसी गर्न किन नपाउने ? मेरा पनि इच्छा, आकांक्षा र चाहनाहरू हुन्छन् । मैले किन तिनलाई दबाएर राख्ने ?”
“सीमा मैले तिम्रा इच्छा, आकांक्षा दबाएर राख त भनेको छैन । खालि आफ्नो औकात र इज्जत अनुसार व्यवहार गर । कसैसँग ज्यादै टाढा र कसैसँग ज्यादै नजिक हुनु राम्रो हुँदैन पो भनेको हो ।”
“हामी काम गर्छौं, कमाउँछौं, त्यस अनुसार खर्च गर्छौं, हामीले चाहेकोलाई भित्र र नचाहेकालाई पर सार्छौं । त्यसमा कसैले टाउको दुखाउनुपर्ने कारणै छैन ।”
“तिम्रो कुरामा म असहमत छैन सीमा । तर हामी समाजमा बस्छौँ । सामाजिक रीति-थितिलाई बिर्सेर समाज भित्र अटिन्न, आफ्ना बन्धु-बान्धव, इष्ट-मित्रहरूलाई एकदम पर र्सार्न मिल्दैन । घरमा बस्ने काम गर्ने मान्छेको पनि इच्छा, आकांक्षा र इज्जत हुन्छ । एउटा कुकुरलाई त उसको जात र स्तर अनुसार सञ्चालन गर्नुपर्दछ भने मान्छेलाई पशुवत् सञ्चालन गर्न मिल्दैन ।”
“मैले पशुवत् व्यवहार कहाँ गरेकी छु ? काम गर्न राखेको मान्छेबाट काम त लिनै पर्छ । त्यसलाई खान दिएको छ, लाउन दिएको छ र तलव दिएको छ । अनि त्यसले काम नगरेर मैले गर्ने त ?”
“तिमीले काम गर्न जरुरी छैन सीमा, काम त त्यसले गरिहाल्छ । त्यसलाई काम नगराऊ भनेको पनि होइन । त्यससँग गरिने व्यवहार मात्र बदल भनेको हो । त्यो गरीब छ, अनपढ छ, त्यसो हुनाले हामीकहाँ काम गर्न बसेको हो । तिम्रो अंग्रेजी लवज त्यसले नबुझ्न सक्छ, तर त्यस प्रति गरिएको व्यवहार र राखिएको भावना अवश्य त्यसले बुझ्छ । तिमीले हप्काउँदा त्यसले जबाफ फर्काउँदैन, त्यो अवश्य हो । तर तिमीले हान्ने गरेका शाब्दिक झटाराहरू त्यसका मुटुसम्म पुग्छन् भन्ने कुरा उसको अमिलिएको अनुहारले देखाउँछ ।”
“मैले रामेलाई चाट्नुपर्छ ? एउटा काम गर्दा दश ठाउँ गल्ती गर्छ । एउटा गर् भन्यो भने अर्को गर्छ । त्यस्तोलाई गाली नगरे कसलाई गर्ने ? यसरी गराउँदा त राम्रो काम गर्दैन, अझ सोझो मुखले भनेर काम गर्ला ?”
“तिमीले नबुझेको यही हो । त्यो अनपढ छ, अबुज छ, हाम्रो व्यवहार र हामीले प्रयोग गरेका शब्दको अर्थ र आशय बुझन सक्दैन । त्यसमाथि तिम्रा अँग्रेजी लवज र तिम्रो झम्टाइले ऊ त्यसै नर्भस हुन्छ र तिमीले भनेको कुरा केहीपनि बुझ्दैन । तर त्यो मानिस हो । मानिसलाई सिकायो भने जति पनि गर्न सक्छ । खालि उसप्रति सद्व्यवहार र राम्रो मुखले बोल्नु पर्छ ।”
“मैले कुनै दूर्ब्यवहार गरेकी छैन । उसको स्तर अनुसार व्यवहार र कर्तव्य अनुसार काम गराएकी छु । मैले खान नदिएकी छैन, लाउन नदिएकी छैन । उसलाई काम गराउन राखेको हो काम त गराउनै पर्छ ।”
“काम गराउनुपर्छ, यसमा दुई मत त छँदैछैन । केवल व्यवहारको कुरो हो । हामीकहाँ काम गर्नेले समयमा खान र समयमा काम गर्न पाउँदैन । तिमीले साँझको खाना राती दश बजे खान्छ्यौ र सुत्छ्यौ । तर त्यसले खाएर काम सक्दा १२ बज्छ । विहान तिमी ६ बजे उठ्दा चिया तयार हुनुपर्छ । अनि ८ बजे खाना । ऊ कति बेला उठ्दो होला ? र काम सक्दो होला ? घरको सफाई-सुग्घर गर्नु, दूध ल्याउनु, तरकारीहरू ल्याउनु, तयारी गर्नु, चिया-खाना बनाउनु, दीपकको टिफिन तयार गर्नु, तैपनि कहिल्यै राम्रो मुखले अराइनौ । उसले सधै गाली मात्र पाउँछ ।
तिमीले लक्ष्मीसित पनि यस्तै व्यवहार गरेकी थियौ । रामेभन्दा सानी थिई । तैपनि राम्रो काम गरेकी थिई । अघि पछि त तिमीले ऊसँग राम्रो व्यवहार गरिनौ गरिनौ । उसको बाबु आएको बेलामा समेत लक्ष्मीलाई जगल्ट्यायौ । उसको बाबुले कति चित्त दुखाएको थियो ! “बरु एक छाक सिस्नो उसिनेर ख्वाउँला साहेब्नी, तपाईको घरमा छोरीलाई राख्दिन ” भनेर पाकेको भात समेत नखाई गएको थियो ।”
“त्यसले मलाई के फरक पर्छ त ? कालो गए गोरो आउँछ ।” सीमाले वेवास्ताले उत्तर दिएकी थिई । त्यस पछि विकासले सम्झाउन पनि छोडेको थियो ।
यति सोच्दा सोच्दै विकास कृष्णपाउरोटी मण्डार निर आइसकेको थियो । नजिकै पान पसलमा गएर एउटा चुरोट किनेर सल्कायो । अब कता जाने ? एक छिन टोलायो । चुरोटको धुवाँ सँगै उसको दिमागमा साइँलो काकाको धमिलो अनुहार पनि आयो ।
लक्ष्मीलाई उसको बाबुले फिर्ता नलाँदैको कुरा हो । एक दिन विकासका साइँला बाबु घर (अर्घाखाँची) बाट आएका रहेछन् । बूढाले सोध्दै खोज्दै पकनाजोलमा भतिजाको डेरा पत्ता लगाएर पुगेछन् । संयोगवश विकास अफिसबाट आएको थिएन । सीमा डेरामा थिई । साइँलो बाले विकासलाई सोधे- “उसको डेरा यही हो” भनेर खर्याए । कहिले आउने, कहाँ गएको ? सबै कुरा निध्याउन चाहे । तर सीमालाई झर्को लाग्यो । उसले को हो ? किन आएको हो ? प्रतिप्रश्न बूढालाई गरी । बूढाले आफू विकासको साइँलो बुबा भएको कुरा सुनाए ।
अर्धानो कमिज सुरुवाल माथि अर्धानै कोट लगाएका, पहाडदेखि ट्याक्टर, ट्रक र बस गर्दै आएका र यात्राले थकित चाउरी परेको अनुहार देख्दै सायद सीमालाई घृणा लागेर आए होला । उसले पन्छाउने उपायले भनेकी रहिछः- “उहाँ त जनकपुरतिर टुरमा जानु भएको छ । १२, १५ दिनपछि आउनु हुन्छ । उतिबेलै आउनुस् ।” भनेर ढोका थुनेर भित्र पसिछ ।
बूढा, कहाँ जाने ? के गर्ने ? अलमल्ल परेर फर्केका रहेछन् । क्षेत्रपाटी नआउँदै विकाससित भेट भएको थियो । विकासलाई देख्ने वित्तिकै बूढाले आर्श्चर्य मानेर सोधेका थिए-“होइन ! विकास जनकपुर गएको होइन र ? किन फर्किस् ?”
साइँलो बाको कुरा सुनेर विकासलाई आर्श्चर्य लाग्यो । किनकि उसको बाहिर जाने कुरो समेत चलेको थिएन ।
“कसले भन्यो तपाईंलाई म जनकपुर गयो भनेर ?” उसले उल्टै सोध्यो ।
“तेरो डेरा बल्ल बल्ल पत्ता लगाएर गएको थिएँ । त्यहाँ एक जना महिला थिइन् । उनैले भनेको हुनाले म त लजतिर बास खोज्न हिँडेको ।”
विकासले बुझिहाल्यो । यो काम सीमाको हो, भनेर । एक पटक उसको मामा आएको बेला पनि सीमाले यसै गरी फिर्ता पठाएकी रहिछ । धेरै दिनपछि विकासले थाहा पाएको थियो । त्यो बेला पनि विकास र सीमाबिच झगडा भएको थियो र सीमाले भनेकी थिईः-“त्यस्ता पाखण्डी पहाडियालाई मैले नाता जेडेर सम्बोधन गर्न सक्दिन । त्यस्ताको सेवा गर्न पनि सक्दिन । त्यसो हुनाले त्यस्ता असभ्यलाई हामीकहाँ नल्याउनु” भनेर ।
त्यस बेला विकासले अमिलिएर बस्नुसिबाय केही गर्न सकेको थिएन । साइँलो बालाई पनि उसले डेरामा लैजान सकेन । कतै सीमाले यसो उसो भनिदिई भने साइँलो बाले चित्त दुखाउनुहुनेछ भनेर विकासले साइँलो बालाई होटलमा लग्यो । बाबु छोरा दुई रात त्यसै होटलमा बसे । घुम्नु पर्ने ठाउँ घुमे र साइँला बा गएपछि बल्ल विकास डेरामा फर्केको थियो । सीमाले सोधेकी थिईः-“होइन, अफिस गएको मान्छे कहाँ गएको हो ? घरमा खवर पनि नगर्ने ?” भनेर ।
“तिमीले पठाएरै जनकपुर गएको त हो ! किन खबर गर्नु पर्यो ?”
कुरा बुझे आफैलाई हो । भने जस्तै दुवैले कुरा बुझेका थिए । त्यसभन्दा बढी कुरा केही भएन ।
यस्तै विचार गर्दा गर्दै विकास डेरामा पुगिसकेको थियो । दीपक स्कूलबाट आइसकेको रहेछ । विकासलाई देख्ने बित्तिकै उसले “आमा खै ?” भन्यो ।
विकास झल्याँस्स भयो । जुन कुराको लागि उसले यत्रो तर्कना गरीरहेको थियो । त्यसको टुङ्गोमै ऊ पुग्न सकेको थिएन । तर अब विचार गर्ने समय थिएन, उसले भनिहाल्यो- “आमालाई अस्पतालमा राखेकोछ बाबु ! तिम्रो आमालाई अस्ती नै जस्तो पेटमा ऐया भयो ।”
“आमालाई अस्ती नै जस्तै पानी झुण्डाको छ बाबा ?”
“छैन बाबु ! छैन । तिमीले दुःख दिएनौ, हेर्न गएनौ भने पानी झुण्डाउन पर्दैन, नाकमा पाइप राख्न पनि पर्दैन । तिमी हेर्न नजाऊ, ज्ञानी भएर बस है बाबु”
“हुन्छ बाबा, हुन्छ । म ज्ञानी हुन्छु ।”
“स्याबास, मेरो छोरा कति ज्ञानी छ होकि ? लौ तिमीलाई भोक लागेको छ, अब खाजा खाने है !” भनेर दीपकलाई खाजा खान दियो । यति सजिलै समस्या सुल्झेकोमा विकासलाई सम्बन्ध विच्छेदको कुनै दुःख त लागेन, तर बालकको मनले के आमालाई सजिलै विर्सन सक्ला ?
(एक मोहर– पाल्पालीका कथाहरू बाट) ।




