गुनासो छ
-रमेश गौतम “पाल्पाली”
सेतो कपालमा
मेहँदी लाएर
तन्नेरी बन्नेहरूले
आफ्नो अस्तित्वमा
व्यंग्य गरेजस्तो लाग्छ ।
समान अधिकार खोज्नेहरूले
सिन्दुर पोतेको रक्षाका लागि
भोकै व्रत बसेर
गोडाको जल खाएको देख्दा
आफैलाई व्यंग्य गरेजस्तो लाग्छ ।
वास्तविकता लुकाएर
अरुलाई ठगेँ भन्नेहरू
आफू ठगिएको
पत्तो नपाएको देख्दा
राजनीति गरेजस्तो लाग्छ ।
आँखामा गाजल र
गालामा पाउडर पोतेर
समानता खोज्नेहरूले
आफ्नो मुखमा आफैं
कालो पोतेको
पत्तो नपाएको देख्दा
भ्रममा परेजस्तो लाग्छ ।
समान अधिकारको जुलुसमा
जान तम्सिएकी वीराङ्गना
साडी र फुली पाएर
फुर्किनुको साटो
कापी र कलम पाउँदा
फुर्किदिए कस्तो हुँदो हो ?
बिन्दी र नेक्लेस लाएर
बन्दी हुनुभन्दा
अफिस र घरको
समानतामा
रमाएको देख्नपाए
कस्तो हुँदा हो ?
पेण्टी र चेष्टर लगाइदिएर
सुन्दरी बनेकाहरूलाई
के थाहा ?
उनीहरू कसका लागि
सुन्दरी बनेका छन् ?
सुन्दरी बन्दैमा
अधिकार पायौं भन्नेहरूलाई
के थाहा !
कस्तो जालमा परेर
दासत्व स्वीकार्यौं भन्ने ।
त्यसैले
मेरो गुनासो छ
कसैको प्रशंसा र
अलङ्कारमा भुलेर
आफ्नो अस्तित्व बिर्सिदिनेसित ।
धुम्रबाराही– ४ , केदारगल्ली–६० / काठमाडौं ।





