बुझें बुझें
-बेनाम
देशै मेरो संसार मेरो, सबै मेरै भन्ने
चन्द्रमा र सूर्यपनि, आफ्नै जस्तो गर्ने
बन्दूक, बुट र हतियारको भय देखाएर
टाटेपाटे बर्दिधारी, पछि लगाएर ।१।
एक्लै हिँडडुल गर्दापनि, सडक पुरै छेक्ने
वालवच्चा बुढाबुढि, जबर्जस्ति ल्याउने
निहुँ पार्ने जनमत, बुझ्नलाई भन्दै
भन्ने अनी बुझे बुझे, टाउको बांगो पार्दै ।२।
केको बुझ्नु जनमत, खोज्थ्यो जयजयकार
गर्थ्यो उसले ङिच्च हाँस्दै, आफै नमस्कार
सोझासाझा अनपढ, देख्नै नहुने
बांगो मुख मर्काएर, उतैउतै जाने ।३।
सोधेझैं पनि गर्ने, के छ खबर भनि
‘अत्याचार भो‘ भन्ने जवाफ, पाउँथ्यो उसले अनि
आफ्नो बिरोध गरेपछि, केको सुन्न सक्थ्यो
बुझें भनि झारा टार्दै, अघि बढिहाल्थ्यो ।४।
नेताजति देशद्रोही, भन्ने आरोप लाउने
अधिकारकर्मीलाइनी, सत्तोसराप गर्ने
भ्रष्टाचार गरे भन्थ्यो, कसले गरे भन्दा
ब्रम्हलूट गर्ने चाहिँ, रैछ उसकै धन्दा ।५।
पिसाब फेर्न जाँदापनि, हेलिकोप्टर चाहिने
सिंगो बोईङ एक्लै चढि, देशविदेश घुम्ने
अनी भन्ने भ्रष्टाचारी, नेता भए रे
पत्रकार र समाजसेवी, त्यतै मिलेका रे ।६।
गोरखा र पोखरा त, नुवाकोटको भिर
चितवन, हेटौडा र, धरानको शिर
जता अग्यो उतै चाहिने, उसलाई दरबार
अनि लाउँथ्यो सडकपेटि सबै तारबार ।७।
नदीनाला, वन जगल, किन बाँकि राख्थ्यो
भेटेजति भित्रभित्रै, आफ्नो नाममा सार्थ्यो
जंगलका बाघभालु, म्रिग बँदेलपनि
बेच्यो उसले खोजिखोजि, रौं समेत गनि।८।
बिदेशमा पुर्याएर, गैंडाका खाग
जनतालाई लगाउने, संरक्षणको धाक
घण्ट त्रिशुल मूर्तिजति, लग्यो छानीछानी
रित्यायो उसले सारा, पुरातत्वपनि ।९।
त्यस्तो मान्छे कहाँ पुग्यो, चुपचाप छ नि
हुरिबतास अगाडिको, शान्ति छाको हो कि
त्यसले त केको बुझ्थ्यो, बुझ्नुपर्छ हाम्ले
लखेटेर फालौं अब एक जुटभइ सबले ।१०।