‘राष्ट्र संघका महासचिवनै हस्तक्षेपकारी’, निष्पक्ष को खोज्ने ?
अचम्म भएन त ? विश्वका कुनैपनि मूलुकमा हत्या हिँसा हुँदा त्यसको अनुगमन गर्ने, निष्पक्ष जाँचबुझ गर्ने, दुवै पक्षलाई चित्त बुझ्दो तरिकाले बार्ता र समझदारीमा ल्याउने सर्बोच्च निकाय नै संयुक्त राष्ट्र संघ हो । अहिले सम्मकालागि सबै भन्दा विश्वासिलो नै त्यहि हो । तर अब भने नेपालकै शान्ति संझौता कसले अनुगमन गर्ने भन्ने शंका उब्जिएको छ । किनभने नेपालका सत्ता संचालन गर्ने दलहरुले संयुक्त राष्ट्र संघका महासचिवमाथिनै माओवादीको समर्थन गरेको भनेर आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघका महासचिवनै निष्पक्ष नभएपछी त्यो भन्दा विश्वसनीय कसलाई खोज्ने ?
अघिल्लो साता संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा छलफलका लागि प्रस्तुत गर्न महासचिव वान की मूनले एक रिपोर्ट सार्वजनिक गर्दै दलहरूबीच विद्यमान अविश्वास, दिन दिनैको राजनीतिमा व्यतित समय र दलहरूको आन्तरिक मुद्दाले लचकताका साथ वार्ता गर्ने उनीहरूको क्षमतामा बाधा पुर्याइरहेको उल्लेख गरेका थिए । त्यसकालागि उनले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औल्याएका थिए । नेपालको शान्ति प्रक्रियामा जुन वाचा गरिएका थिए ति मुख्य वाचा नै पुरा नगरिएकोले उनले निकै चिन्ता ब्यक्त गरेका थिए ।
राष्ट्र संघका महासचिव वान की मूनलेनै राष्ट्रिय सरकारको आवश्यकता रहेको भनेपछि सरकारको भाग खोसिने डर हुने नै भयो । अनि सरकार संचालन गर्ने तुर तुरे धारा जस्ता २२ दलका कन्सुलिका रौँ तात्ने भैहाले । संयुक्त राष्ट्र संघकै महासचिवले त्यस्तो अभिव्यक्ति दिएपछि सरकारमा भूईचालो गए झैं भयो । ति दल भेला भए । अनि निर्णय गरे, ‘यो हाम्रो सरकारमाथिको आरोप हो । हाम्ले त माओवादीलाई सरकारमा भाग दिन खोजेकै हो । उही बटारिएको हो । उसलाई कुनै न कुनै भाग दिएर सरकारमा ल्याउने हाम्रो प्रयास अझै जारी छ । हामी हाम्रो देशमा जस्तोसुकै सरकार बनाऊँ तिम्लाई के खाँचो ? यो हामीमाथिको हस्तक्षेप हो । नेपालमा कस्तो सरकार बनाउने ?कसरि बनाउने ? कसको नेतृत्वमा बनाउने ? यो अधिकार नेपाली जनता र नेपालका राजनीतिका पार्टीहरुको हो । तिम्रो होइन’ । संयुक्त राष्ट्र संघकै महासचिव नै हस्तक्षेपकारी भएपछी अब के गर्ने ? अनमिन जाबो त झन के हो ? अब वान कि मून चुप्प लागेर त नबस्लान यत्रो आरोप लागेपछि । उनले के भन्लान केहि दिन त कुर्नै पर्र्यो ।
नेपालका राजनीतिक पार्टी न हुन्, त्यहि कुरा भारतीय राजदूतले भनेको भए ‘अच्छा अच्छा’ भन्दै शिर झुकाउँथे होलान । अमेरिकी राजदूतले भए तैं चुप मैं चुप हुने थिए होलान । कि त झन राजदूतावासमै दगुर्दै गएर पाउ समाउने थिए-लौ न हजुर हाम्रो सरकारलाई नहाल्लाइदिनुस भन्दै । तर भनाई आयो सरकार बनाउने र पल्टाउने खासै दम्भ नभएका वान कि मूनबाट । अनि तात्तीईहाले ।




