तिमीसँग जुधेका नयनहरु
-लक्ष्मी सापकोटा/बेलायत
तिमीसँग जुधेका नयनहरु
अब तिम्रो प्रेमसागरबाट छुट्टीने मन गर्दैनन्
तिम्रो मनमा बाँधिएका प्रेमबन्धनहरु
अब फेरी फुकेर अलपत्र हुन मान्दैनन्
तिम्रो चाहनामा बुनिएका कल्पनाहरु
अब सिसा बनेर टुक्रिन सक्दैनन्
तिम्रो मुटुमा धड्किने मेरा धड्कनहरु
रोकिएर मरणासन्न भै मृत्युशैयामा जान चाहन्नन्
खै कसरी बाँधिए बन्धनहरु मनका तरेलीमा
आँखाबाट खहरे बर्सिदा मनका बलेसीहरु तप्किन थाले
कसरी मिले मनका कुनाहरु अन्तरमनका सुसेलीमा
हृदयका झन्कारहरु तिम्रै गीत गुन्जाउन थाले
कसरी बने सम्बन्धहरु हृदयका माझमा
मनमन्दिरमा आशाका रंगीन किरण छर्न थाले
कसरी खुले सामाजिक जन्जिरले जेलिएका मनका ढोकाहरु
तिम्रो प्रेमपूजामा तल्लिन भएका रहरहरु मौलाउन थाले
हो, तिमीलाई नै मनको एउटा कुनामा पुज्न थाले




