सम्झना

-कुष्ण गिरी समु

Krishna-Giri-gorakha-nepal

स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो ।

 सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।।

 ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा ।

 आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।।

 

 बिहान उठी पियारी मेरी पूर्वमा हेर्दिहुन् ।

 सम्झेर आफ्नु पियारा सधैं दर्शन गर्दिहुन् ।।

 पूर्वको तारा बोलाई उनी भन्दिहुन् संदेश ।

 लिएर जानु सम्झना मेरो टाढाको त्यो देश ।। २ ।।

 

 पूर्वको तारा मलाई हेर्छ संदेश बोकेर ।

 सोधुँला भन्थेँ त्यो तारालाई पूर्वमै रोकेर ।।

 खबर के छ, संदेश के छ, सुनाई जानु है ।

 कोशेली मेरो आँशुका थोपा बोकेर लानु है ।। ३ ।।

 

 बाडुली लाग्यो, बिहान-साँझ मन यो झस्कियो ।

 सम्झदै होलिन् पियारी मेरी मुटु यो चस्कियो ।।

 किन हो किन सपनी पनि नराम्रो देख्दैछु ।

 बिहान उठी, सम्झेर उनी चिठी यो लेख्दैछु ।।४ ।।

 पालुम्टार-१ कदली (गोरखा)

हाल: दोहा (कतार)

तपाइँको प्रतिक्रिया