सरकारले दमन गर्ने, माओवादी प्रतिकारको तयारीमा
भन्नलाई न नेपाली कांग्रेस, न एमालेले नै वार्ता नगर्ने भनेको छ । न त माओवादीलेनै । माओवादीले त सरकारलाई वार्ताको लागि दबाब दिनको लागि आन्दोलन घोषणा गरेको भनिरहेको छ । सरकारलाई समर्थन गर्ने अन्य आठ दललेपनि माओवादीलाई वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेझैं देखिन्छ । यी हुन् सामान्य नागरिकले बाहिरबाट मेडियामा सुनिने, पढिने र नेताका भाषणमा पाइने कुरा । तर साँच्चै वार्ताकालागि कुनैपनि दल उति गम्भीर भएको देखिंदैन । वा कुनैपनि दल पहिलेको अडानमा कत्तिपनि नरम भएको देखिंदैन । बरु सरकार र माओवादी दुवै पक्ष आआफ्नै पूर्व अडानमै छन् । मुखले वार्ता र सहमती भनेपनि दुवै पक्ष मुठभेड निम्त्याउने दिशातिरै तयार गरिरहेका छन् भित्र भित्रै ।
माओवादीले राष्ट्रपतीको कदमलाई सच्याएर जनताको सर्बोच्चता कायम गर्न भनेर आजबाट आन्दोलनको घोषणा गर्नासाथ सरकारपनि नरमरुपले प्रस्तुत भएन । बरु सत्तापक्षीय पार्टी र सरकार स्वयं उत्तेजित रुपमा प्रस्तुत भए । उता माओवादीपनि संसद्को प्रमुख विपक्षी दलका रुपमा नभई पुरानै बिद्रोही पार्टीकै स्वरूप र उही दम्भमा देखियो । त्यहि दम्भ, उही युद्द उन्माद सोच र हठका कारण अहिले दुवै पक्ष भित्र भित्रै दमन र प्रतिरोधको तयारीमा लागेका छन् ।
सरकारले जति सुकै वार्ताको कुरो गरोस बाहिर बाहिर । उ भित्र भित्र पुरै दमन गर्ने योजना बनाईरहेको छ । नेपाली कांग्रेसका नेताहरु राष्ट्रपतीको कदमलाई कुनै पनि हालतमा कसैगरिपनी सुधार्न नसकिने बताएर माओवादीलाई पुरै झुकाएर ल्याउने । उनीहरुका शर्तमा माओवादीले टाउको झुकाऊँदै नआए सरकारलाई पुरै दमन गर्नुपर्छ भनेर उचालिरहेका छन् ।
उता नेपाली कांग्रेसकै बल र समर्थनमा टिकेको एमाले नेतृत्वको सरकार त्यसैमा स्वर मिलाएर दमन गर्ने योजना बनाइरहेको छ । माओवादी आन्दोलनलाई दमन गर्नकालागी एमालेका वरिष्ठ नेताहरुले बैठक बसेरै गृहमन्त्री भिम रावललाई निर्देशन दिए । गृहमन्त्री भिम रावललेपनी देश भरका सुरक्षा निकायलाई माओवादी आन्दोलनलाई दबाउन कडा निर्देशन दिईसकेका छन । गृहमन्त्री शान्ति सुरक्षा कायम गर्न भन्दा शान्तिपूर्ण भनिएको आन्दोलनलाई दबाउने र धम्किदिने भाषा बोलेर उत्तेजित पारिरहेका छन् आन्दोलनकर्तालाई ।
सुनिए अनुसार सरकारले प्रहरी मात्रै होइन भित्र भित्रै सैनिक समेत परिचालन गर्ने गरि तयारि गरिरहेको छ । त्यसैकालागी माओवादी आन्दोलनलाई दबाउन भनेर डाकिएको सुरक्षा अधिकारीहरुको बैठकमा नेपाली सेनालाई समेत उपस्थित गराईएको थियो ।
उता माओवादी पो के कम ? संसद अवरुद्द गरेर आफ्ना सभासदहरुलाई जिल्ला जिल्ला खटायो आन्दोलनको सक्रिय नेतृत्व गर्न भन्दै । आफ्ना केन्द्रीय नेता समेतलाई उसले आफ्नो कार्य क्षेत्र खटाएर आन्दोलनको नेतृत्व गर्न निर्देशन दियो । पार्टी अध्यक्ष प्रचण्ड स्वयंले राजधानीकै ठाउँ ठाउँमा आफ्ना कार्यकर्तालाई प्रशिक्षण नै दिए ‘आन्दोलनको आँधीवेहरी सृजना गर्ने, सरकारले दमन गरे डटेर प्रतिकार गर्ने’ भन्दै । यस्तो प्रशिक्षणमा अरुपनि वरिष्ठ नेता सहभागी भए ।
माओवादीकै केहि नेताले त कार्यकर्तालाई अब यो आन्दोलन तेस्रो जनआन्दोलनको शुरुवात, यो आन्दोलन जनबिद्रोहमा परिणत हुने, सिंहदरबार घेरेर र काठमाडौलाई ठप्प पारेर सत्ता परिवर्तन गरिने, जनताको सर्बोच्चता कायम गरिने भनेर उत्तिजित पारिरहेका छन् । यसरि बाहिर जे भनिएपनि आज देखि गर्ने भनिएको आन्दोलनको सरकारले दमन गर्ने योजना सहित तयारी गरिरहेको छ भने माओवादीले चाहिं सशक्त प्रतिकार गर्ने गरि । अन्तिम समयमा वार्ता, समझदारी, बहस र छलफलमा बढी संबेदनशिल देखिनुपर्नेमा सरकार र कुनैपनि दल गम्भीर देखिएका छैनन् । सरकारी पक्ष झन बढी जिम्मेवार हुनुपर्नेमा सरकार स्वयं नै अनिच्छुक देखिएको भान हुन्छ । लाग्छ-दुवै पक्षलाई युद्दनै चाहिएको छ । दुवै पक्षको यो युद्द उन्माद दम्भले मुलुकलाई चाहिं कहाँ पुर्र्याउने हो ?




