यहि बेला किन दगुर्न पर्यो एमाले अध्यक्षलाई भारततिर ?
नेपालका नेता प्राय भारत दगुर्छन छिसरिक्क केहि भयो भने । लेखपढ । बेद पुराण कण्ठ पार्नेदेखि आश्रय लिने । सत्ता परिवर्तनको लागिपनि भारत नै । भारत जानै नहुने त होइन नै । तर जब देशमा एकदम संकट देखिन्छ त्यहि मौकामा भारततिर दगुर्छन । आफ्नो देशको समस्याका बारेमा भित्रै छलफल गर्दैनन । नेपाली जनतालाई सुनाऊँदैनन । तर भारतीय नेताहरुलाई सुनाऊँछन् । अनि त्यतैको आशिर्वाद लिएर फर्केपछि चर्का चर्का कुरा गर्छन । केहि समय अघि एमालेका नेता केपी ओली र बिद्दा भण्डारी पुगे । अनि नेपाली कांग्रेसकी नेत्री सुजाता । सूर्यबहादुर थापा भारत पुगेर आउनासाथ नेपाली सेनामा जनसेना मिसाउनुहुन्न भनेर कुर्लिए । यहि संकटका बेला एमाले अध्यक्ष झलनाथ खनाल भारत हानिने भएका छन् । यहि बेला एमाले अध्यक्षलाई किन हानिनुपरेको हो भारत ?
भोलिबाट एकीकृत माओवादीको आन्दोलन शुरु हुँदै छ । यहि बेला संसदबाट बजेट पास हुन सकेको छैन । बजेट पास हुन नसक्दा कर्मचारीले तलबसम्म खाना नपाउने स्थिति हुँदै छ । संबिधान निमाण अलपत्र परेको छ । संसद निरन्तर अवरुद्द छ । प्रमुख प्रतिपक्ष पार्टीले आन्दोलनको घोषणा गरेको छ । यस्तो बेला सरकार संचालन गर्ने पार्टीको अध्यक्षले खेल्नुपर्ने भूमिका के हो ? कम्तिमा अहिले प्रतिपक्षलाई विश्वासमा लिने कोसिस गर्नु । सरकारलाई संयम बनाउनु । वार्ता, छलफल बहसलाई तिब्र पार्नु । सकेसम्म अहिलेको संकटको निकास खोज्न अहोरात्र खटिनुपर्ने हो । यस्तो बेला बाहिर भएका नेतापनि देश फ़र्किन्छन । तर ठ्याक्क संकट परेका बेला एमाले अध्यक्ष झलनाथ खनाल भने भारत भ्रमणमा जाँदै छन् । उनको भारत भ्रमण मंगलबारको लागि तय भएको छ ।
उनी मात्रै हो र ? उनी सँगै पार्टी महासचिव ईश्वर पोख्रेल र एमालेकै शक्तिशाली नेता भरतमोहन अधिकारीलाईपनि सँगै लैजान लागेका थिए । तर पोख्रेल र अधिकारीको यात्रा भने थाँती राखियो । र उनी एक्लै जाने भएका छन् । अन्तिम अवस्थामा आएर उनलेपनि रद्द गर्छन कि भ्रमण ? अहिलेसम्मको योजना अनुसार भने उनको भ्रमण निश्चित नै छ । भारतीय आशिर्वादमा बनेको एमाले नेतृत्वको सरकार । त्यहाँ पुगेपछि उनले पक्कै भेट्ने भए भारतीय नेताहरुलाई । अनि अहिलेको राजनीतिक अवस्थाबारे भारतीय नेताका आशिर्वाद नसुन्ने पनि त कुरै भएन । बरु उनी भारत भ्रमण बाट फर्केर आएपछि के के हुने हो नेपाली राजनीतिमा !
प्रचण्ड अस्ति भर्खर चिन गएर चिनियाँ नेतालाई भेटे । अनि चिनियाँ कम्युनिष्ट पार्टीसित नयाँ संबन्ध बिस्तार गरे । सबै भन्दा ठूलो कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष दलले चिनसित संबन्ध बिस्तार गरेकाले त्यसलाई चुनौती दिन भारतले सत्ता संचालनको मुख्य दललाई निमन्त्रणा गरेको हो भनेर विश्लेषण गर्नेहरुपनि छन् । जे भनिएपनि वास्तविक कारण चाहिं खुलेको छैन अझै ।




