अन्धो छ इश्वर आज पनि !

-शिव प्रकाश, बोस्टन, अमेरिका 

shiva_prakash_07.jpgबाँचिरहेछन्

शकुनीहरु मान्छेभित्र

फैलाउँदै पासापञ्जा कुटिलताका

लेखिरहेछन् झूठो कथा महाभारतको 

मरेका छैनन् दूर्योधनदुशासनहरु  चिथोर्दै द्रौपदीहरु

हाँसिरहेछन् भारी सभामा

बनाउँदै लाक्षागृहहरु मान्छेका वस्तीमा

गर्जिरहेछन् आज पनि

जिउँदैछन् रावणहरु

नाङ्गो नाचिरहेछन् मान्छेभित्र

किचिरहेछन् निर्धाहरु

अत्याचारका गदाले

निरिह हेरिरहेछन् हनुमानहरु

वैदेही हरण

जटायु मरण

टुलुटुलु आज पनि  

दुन्दुभि कोलाहलको बजाउँदै

घुमिरेहछन् कंशहरु

मरेका छैनन्

मान्छेभित्र हाँसिरहेछन् आज पनि

नदेखेको इश्वर,

ग्रन्थका मिथकहरु

अन्धाधुन्ध मानिरहेछ मान्छे आज पनि  

इश्वर ! किन बाँचिरहेछन् शकुनीहरु !

किन नाचिरहेछन् रावणहरु !

किन हाँसिरहेछन् कंशहरु !

किन गर्जिहरेछन् कौरवहरु !

अदृश्य इश्वर !

कि इश्वरभित्र भ्रम कि भ्रमभित्र इश्वर !

कि बाँचेर पनि

अन्धो इश्वर आज पनि    

तपाइँको प्रतिक्रिया