तिमीले बालेको आगोमा
–बि जे बान्तवा ‘पराइमान्छे’
तिमीले यहाँ खोजेको शुर र ताल,
अनि तिमीले रचेको सम्पुर्ण जाल
आज एउटा क्रन्दन भएर पोखींदैछ ।
तिमीलाई सुम्पिएको त्यो ताजको
मुल्य चुकाउन सकेनौ कहिल्यै,
तिमीले ओछ्याएको बिकाशको सपनाहरु
घरी घरी चक्काजाम अनि अश्रुग्याँस
बनेर यहाँ पोखिईरहन्छन ।
कहिले कसैको झुपडी जलाउने आगो बनेर
त कहिले यस देशको जनताको
छाती छेड्ने तिखो संगिन बनेर ।
तिमी हिजो सडकमा फाटेको कपडा
अनि हात्तीछाप चप्पल लगाएर नारा
लगाउँदै भौतारिन्थ्यौ, अनि त्यो
तिम्रो डेरा सम्म नपुग्ने भाडा नहुँदा
घण्टौको पैदल यात्रा चल्थ्यौ,
तर आज ताज सँगै फेरिएको तिम्रो शान
हिजोको हात्ती छाप चप्पल आजको
ईटालियन सुज, हिजोको पैदल यात्रा
आज फेरिएका लेमुजिन र लैण्ड क्रुज,
हिजोको फाटेको दौरा सुरवाल,
आजको थ्री पिस शुट, आह ! तिम्रो चम्केको
भाग्य, हिंजो त्यो सडकमा धुलो खाँदा
कस्तो लाग्थ्यो र भन्थ्यौ र
दोष थोपर्थ्यौ भ्रष्ट नेता भनेर
आज तिमी कुन ड्याङको मुला ?
हिजो सम्म तिमीमा नुन किन्ने
क्षमता थिएन,
आज शेयर होल्डर सुनमा !
तिम्रा ति फाटेका शब्दहरु देख्दा र सुन्दा
देखी-देखी अन्धा भएका छन,
तिमीलाई ताज पहिराउनेहरु ।
टुँडीखेलमा उभिएर भाषण छाँट्छौ,
कोशी ब्यारेज मेची-कालीका कुरा गर्छौ,
कहिले तिमीले टेकेका छौ ? कहिले तिमीले
देखेका छौ ? ? मेची कोशी र काली
के भएको छ भनेर ?
तिमी हिजो जनतालाई अन्धो बनाई
भाषण छाँट्यौ, अनि आज
जनताको छातीमा बिष रोपी
जनता ढाँट्छौ ।
तिम्रो गल्तीले आज नेपालआमा
चिरा चिरा पर्न लागेकी छिन,
छेऊछाउबाट खुम्चींदैछिन ।
सगरमाथा अचल र अटल थियो,
आज चोमोलुङ्मा हुन खोज्दैछ,
तिमीले कहिले हेरेको छौ,
गौतम बुद्व बिदेशीले जन्माउँदैछन,
त्यो कहिले हेरेका छौ ?
तिमी अन्धो छौ,
अन्धो भएका छौ,
तिम्रो आँखा
खोल्ने यो समय हो,
आँखा खोलेर हेर्ने गर, ढिला नहोस
तिमी अन्धो भएर तिमीले बालेको
आगोमा आफै होमिन नपरोस ।
ठुलोदुम्मा-९,
भोजपुर ।





