आस्थाका प्रतिक

-पदम दीप सुब्बा प्रतिक

 विषमता र दूरदर्शिता शाब्दिक अनेकार्थ

 भावुकता र निसन्देह बिचको

 प्रेम र करुणाको उत्सर्ग बनेर

 अधिनायकत्व अश्विकार गर्दै

 तँ र म लाई तिलाञ्जली दिइ

 प्रस्फुटित छ आज

 गोधुलीको पुनरागमन सँगै

 अनुराग र प्रीतिका

 प्रणय प्रतिक्षाका प्रतिकहरु

 फिस्स फिस्स मुहार नचाउँदै

 जालो अनुरक्तिको बुनिरहन्छ ।

 सामाजिक र धार्मिक राजनीतिक शिरोधार्य

 सोदेश्य जीवनको आस्था कुण्डमा

 पूर्णाहुती खोजीरहेछ ।

 समर्पणका विषयहरु लीन भइ

 मानवीय अहमताको उत्खनन गर्न

 इतिहासको अपरेशन गरिरहन्छ ।

 जबकी, मानब विवेकमा

 चेतनाको संसार ओलोकित होस

 प्रशन्नताको खुल्ला आकाशमा

 स्फूर्तीको स्निग्ध उजाड हुँदैन

 अस्तित्व वोधको विलासिता खोजीरहेछ ।

 भोक, प्यास र थकाइ बिर्सेर

 कर्तव्य विमुढ लठ्ठ टेकेर

 समस्याको अग्रासनमा विराजमान

 बस्तीलाई निर्निमेस हेरी रहन्छ ।

 बलात्कृत समाज र परिवेशको

 सामन्ती चितामा

 जब ज्वाला निभ्न प्रयत्नरत हुन्छ

 अमिट प्रतिक बनेर प्यास मेट्न

 मट्टीतेल थपिरहन्छ ।

 राष्ट्रियताको नाममा रगतको होली खेलेर

 गरिब जनताको रगत पीएर

 मानव सभ्यताको तिरस्कार गर्ने

 बलेको आगो ताप्ने जमातमा

 नागरिक सर्वोच्चता उजागर नभए सम्म

 मानविय परिवर्तन नभएसम्म

 शिरहरु झुक्ने छैनन

 हातहरु रोकिने छैनन

 नागरिकहरु पछि हट्ने छैनन

 पाइलाहरु पछि हट्ने छैनन

 आवाजहरु रोकिने छैनन

नागरिक सर्वोच्चता जिन्दावाद ।

 नागरिक सर्वोच्चता जिन्दावाद ।

 पाँचथर, नेपाल

हाल-नागरिक सर्वोच्चताका लागि साहित्यिक आन्दोलन

दोहा, कतार

तपाइँको प्रतिक्रिया