म त नेता पो बनेछु
-रमेश गौतम “पाल्पाली“
नागरिकताको कागजले
नेपाली नबनेजस्तै
मेची र कोशीको नाम लिएर
कवि बनिदो रहेनछ,
कैल्ये पनि मैले
पीडाले छट्पटिएका
नेपालीको कवितै लेखिन,
आँसु र पसिनाको मूल्य के हुन्छ
वास्तै गरिन,
यसैले साथी !
किन हेर्छौ तलमाथि
म त कवि भइन ।
म देशप्रेमी पनि होइन
किन कि मैले
कुर्सी र अहङ्कार थामेर बसेँ ।
मेचीमहाकाली लुछिएकी
आमाको पुकारै सुनिन,
कोशी, कर्णाली, महाकाली
छातीमा बोकेर
अन्धकार छामेकी
उनको रोदनलाई
छिमेकी सङ्गीत ठानेर लटि्ठएँ ।
यसैले साथी !
अरु त होइन
म त नेता पो बनेछु ।
इमेलः [email protected]





