गजल
-आर. बी. फ्लेम
जसले सक्छौं,जे जे सक्छौं, आजै काम थालिहालौं,
नयाँ नेपाल बनाउन, आऊ टायर बालिहालौं ।
भत्काइदिउँ पुरानालाई, बनाउन नयाँ नयाँ,
अफिस फोरौं, गाडी बालौं, सालिकहरु ढालिहालौं ।
दिने को हो, पाउने के हो, लोकतन्त्रलाई था होला,
माग्नुपर्ने काम हो हाम्रो, माग पत्र चाहिं हालिहालौं ।
तर्राई पहाड लेक बेसी, बनाउन समाबेशी,
दुनियाँमा पहिलो आफू, आफनो चाल चैं चालिहालौं ।
लोकतान्त्रिक भेला डाकौं, गणतान्त्रिक मोर्चा थालौं,
शाही फूल सिउरिएको पुरानो कोट फालिहालौं ।




