दशै तिमी…!!!
– गणेश खड्का ” प्रतिक्षा “
ए दशै, तिमी आयौ…?
भर्खर बरखी सकिएर
चोखिएको देशमा
तिम्रो आगमन
उल्लासमय बन्यो त …?
कुन बाटो आयौ दशै तिमी …?
हुनेखाने हरुको घरको बाटो ?
कि हुँदा खाने हरुको घरको बाटो …?
भन्छन्- हुनेलाई दशै, बार्हैइ काल
नहुनेलाई दशै, महाकाल
जे होस् – सजाएर अमृतका घडा
सिंगारेर अक्षता जमरा
मालसिरी गाउँदै
उमंग बोकी ल्यायौ त …?
बोली नफुट्दै
टुहुरा बनेका मुनाहरुको ओठमा
सन्तान वियोगमा विक्षिप्त
आमाका रित्ता काखहरुमा
भर्भराउँदो वैंश सँगै
विधुवा बनेका
शहीद पत्नीका सिउँदोमा
बढी पहिरोले सखाप बस्तीहरुमा
गरिबीले चाल्नो भएका
थुप्रै गृहस्थिहरुमा
तिम्रो सित्तल स्पर्श
महलम-पट्टी बन्नु पर्छ
प्रिय दशै –
तिमी मेरो आस्थाको धरोहर हौ
विश्वासको पहाड हौ
मेरो प्यारो संस्कृती हौ-परम्परा हौ
तिमीले ल्याएको
खुशीको खबर
भरिभराउ महलहरुमा जत्तिकै
त्यत्तिकै छाउनु पर्छ
अभावग्रस्त झुपडिहरुमा
फाटेको टोपिबाट
आकाश चिहाउने शिरहरुमा
विपन्नताले छिद्र
नांगा आङहरुमा
भोका पेटहरुमा
महान दशै-
संस्कृति धान्नुसँग
जोडीएका तिम्रा मान्यताहरु
कतै आडम्बर नबनुन्
कतै दशा नबनुन्
छाडा स्वतन्त्रता सँगै
बरालिएका तिम्रा समर्थकहरु
परिवर्तनको ढ्वाङ् फुक्दै
तिम्रो अस्तित्व
नामेट पार्ने धूनमा लागेको बेला
फुकेको राँगोले
तोरी बारी माडे जस्तै
कतै-
तिम्रो छवी नमाडियोस्
कतै-
तिम्रो स्वरुप नफेरियोस्
कतै-
तिम्रो अस्मिता नमेटियोस्
किनकी तिमी-
राष्ट्रिय संस्कृतिको सगरमथा हौ
त्यसैले दशै तिमी-
सबैको साझा उत्सव बन
एकताको शुत्र बन
सर्वाङिण बिकासको मन्त्र बन
आफ्नै महान अर्थ बोकेर
सधैं एउटै महत्व बोकेर
संस्कृतिमा
पर्वमा
परम्परामा
र मान्यतामा ….!!!
तिवारी भञ्ज्याङ-४ भोजपुर
हाल : Fregate Island Private
Victoria ( seychelles )
Cell : 00248 797358
e-mail : [email protected]





