एउटी विवश महिला

-कृष्ण गिरी “शम्भु”

Krishna-Giri-gorakha-nepalम यहाँ अहिले तपाईंहरू सामु एउटी वेश्या आइमाईको हैसियतले आएकी छु । हो, म यहाँ तपाईंहरूलाई मेरो कथा सुनाउन आएकी छु । आशा गर्छु, सुनिसकेपछि तपाईंहरूले मेरो र म जस्ता हजारौँ वेश्या बनाइएका र बनेका आइमाईहरूको अवस्था थाहा पाउनुहुने नै छ ।

तपाईंहरू सामु उभिएर, त्यसमा पनि तपाईं र समाजले चरित्रहीन अंकित आइमाईको रूपमा यहाँ आएर बोल्नु के सरल होला त ? निश्चय पनि छैन तर … तर म त्यही गरिरहेछु । किनभने म चाहन्छु तपाईंहरू थाहा पाउनुहोस् एउटी वेश्या, जो तपाईंहरू जस्तै हाडछाला र मासुले बनेकी छ । हामीभित्र पनि दिल छ । भावना छ । कसैको दिदीबहिनी हौँ त कसैको छोरी हौँ । त्यसैले हामी पनि सम्मानको व्यवहार चाहन्छौँ । त्यसैगरी हामी पनि अधिकार चाहन्छौँ । मानव अधिकार ।

म बेचिएँ । बलात्कृत भएँ । कुटिएँ । पिटिएँ । तपाईंहरूजस्तै समाजका पुरुषको यौन पिपासु भोक मेटाउनका लागि । म अपमानित भएँ । बलजफ्ती पुरुषहरूको खेल्ने वस्तु बनाइएँ । पेलिएँ । अनि कठपुतली बनाइएँ पुरुषले आनन्द पाउनका लागि खेल्न सक्ने । मैले अरूका लागि आनन्द लिनुपर्ने र केहीका लागि नाफा कमाई दिनुपर्ने । तर मेरो आफ्नोलागि भने केवल लज्जा, बेइज्जती, दुःख-दर्द र ग्लानिसिवाय केही भएन ।

अझ तपाईंहरूजस्ता अधिकारकर्मी संस्थाबाट त हामी दोहोरो शोषणमा पारियौँ । साथै भन्नुहुन्छ भने तपाईं … हो, तपाईंले त हाम्रै कारणबाट राम्रो कमाइवाला काम पनि पाउनुभयो । तर त्यसबापत तपाईंले हामीबीचमा विभेद ल्याइदिनुभयो । आफ्नो दातालाई खुसी पार्ने प्रतिवेदन तयार पार्दा हामी खुसी छौँ रे । र यो हाम्रो व्यवसाय हो रे । अनि समाजमा हाम्रो छायाँबाट बचाउन हामीलाई खास क्षेत्रमा बस्न दिनुपर्छ रे ।

ओहो… प्रहरी, हामी त उनका पेवा नै हौँ नि होइन र ? जब जब उनीहरूको यौनतृष्णा जाग्छ आइपुगी हाल्छन् । त्यति मात्र हो ? चाडपर्व, महिनाको अन्तिम मितितिर र उनीहरू घर बिदामा जानुपर्दा उनीहरूको गर्जो टारिदिने टक्सार नै हामी नै त हौँ नि ! अरू कसलाई निचोर्न सक्छन् र तिनले ? कहिलेकाहीँ पक्राउ पनि गर्छन् । तर ती सबै नाटक हुन्छन् । किनकि जब उनीहरू हामीलाई पक्रन्छन् हामीलाई थाहा हुन्छ यसपटक उनीहरूको आवश्यकता अलि ठूलै छ । सायद हाकिमलाई नजराना बुझाएर पदोन्नति हात पार्नु या कमाउ क्षेत्रमा सरुवा हुनु । यो मेरो निजी तथा पक्का अनुभव हो किनकि यस्ता तजबिजीमा म तीन/तीन पटक परिसकेकी छुँ ।

अब तपाईंहरू आफैँ भन्नुहोस् यस्तो राम्रो आम्दानीको स्रोतलाई कोही आफैँ ताला लगाउन चाहन्छ र ? त्यसैले समाजमा वेश्यावृत्ति रोकिन सक्छ र ? अनि महिला बेचबिखन कसले र किन रोक्ने ? वेश्यावृत्तिको मुहान नै यही बेचबिखन हो । ए… तपाईंले सोध्नुभएको ऊ कसरी भनेर ? ल उसैबाट सुन्नुहोस् कसरी बाध्य भई भनेर ।

म…, म तपाईंहरू जस्तै । अझ खासमा त नवधनाढ्यहरूको बाहुल्य रहेको ‘डान्स तथा केविन’ रेष्टुरेन्टमा वेट्रसको नोकरी गर्दै थिएँ । वियर र रक्सीले मात लागेपछि ग्राहकहरूलाई उनीहरूकै निजी सम्पत्ती ठान्थे तरै पनि मैले आफूलाई बचाइरहेकी थिएँ । एक दिन काम सकेर म आफ्नो घर फर्किदै थिएँ, तीनजना मान्छे मेरो पिछा गर्दै थिए । अनकण्टार ठाउँ पारेर मलाई ठूलो रुमालले छोपिदिए । र दुईजनाले झ्याइँकुल्टाइँ पारेर नजिकैको घरमा हुले । त्यसपछि एक हप्ता उनीहरूले लगातार मलाई बलात्कार गरेपछि एक सम्भ्रान्त महिलाको घरमा पुर्‍याए । पछि थाहा पाएँ, सारै थोरै रकममा बेचिएँछु । अहिले यिनै महिला, भैगो उनको नाउँ नलिउँ । उनी तपाईंहरूबीच अति सम्पन्न र समाजसेवीको नाउँले परिचित छन् ।

हामीले नचाहँदा नचाहँदै पनि हामी वेश्या बनाइएका छौँ । हामी तपाईंहरूलाई नै सोध्छौँ ल भन्नुहोस् हामीलाई वेश्या कसले बनायो र कसले भन्यो ? हामी सुरुमा तपाईंहरू जस्तै समाजमा संलग्न व्यक्तिहरूबाट ठगियौँ । लुटियौँ । बरबाद भयौँ र वेश्या बन्न स्वीकार गर्‍यौँ । जब तपाईंहरूको क्रूर पञ्जाबाट फुत्कियौँ, हाम्रो चारैतिर अँध्यारै अँध्यारो थियो । कोही हामीलाई स्वीकार्न तयार थिएन । स्वीकार गर्नु त परै जावस् राम्रो र सहानुभूतिको दृष्टि समेत दिएनन् । यसैले, बाँच्नुको बाध्यताले हामी वेश्या बन्यौं । अब चाहिँ आफ्नै इच्छाले बन्न स्वीकार गर्‍यौँ । यो हाम्रो तपाईंहरू जस्ता समाजका व्यक्तिहरूलाई चुनौती हो । सक्नुहुन्छ भने रोक्नोस् । भोलिका दिनहरूमा यस वृत्तिमा आउने स्रोतको मुहान रोकिदिनुहोस् ।

यो कुनै टेलिसिरियलको धारावाहिक कथा थिएन । यो त हामीजस्ता गरिबी र अभावमा पिल्सिन बाध्य आम महिलाको वास्तविकता हो । अनि अरू आश्चर्य कुरा त हामी चाहिँ खराब, अनि हामीलाई यो चरित्र प्रदान गर्ने तपाईंहरू चाहिँ असल ? यो जत्तिको असामाजिक र अन्याय अरू के होला र ? तपाईंहरूले कहिले सोच्नुभएको छ ‘किन हामी वेश्या बन्यौँ भनेर ? सुरुमा हामीलाई विभिन्न प्रकारले तपाईंहरूले नै यसतर्फ धकेल्नुभयो । जब पूरापूर मात्रामा धकेलियौँ तब मात्र यसलाई अपनायौँ । सक्नुहुन्छ तपाईंहरू अझै पनि हामीलाई पुनस्र्थापना गर्न ?

कत्ति मार्मिक र कति कारुणिक थिए उसका ती प्रत्येक शब्दहरू !!! ऊ धाराप्रवाह बोलिरहेकी थिई । तर कसले बुझ्ने कोसिस गर्‍यो र त्यहाँ, उसका भावना, अनि उसका वेदनाहरू ? उसका जिब्राहरू फट्फटाई रहेथे । ओठहरू काँपिरहेथे । आँखाहरू पीडा र वेदनाले रोइरहेथे । तर समाजका हामीजस्ता सम्भ्रान्त व्यक्तिहरू उनीहरूको पीडामा कहिल्यै पीडित हुन सकेनौँ । उनीहरूको पक्षमा हामीले कहिल्यै आफ्नो आवाजलाई गहन बनाउन सकेनौँ । उल्टै उनीहरूलाई परोक्ष र अपरोक्ष तरिकाले प्रताडित गर्न छाडेनौ । कहिले उनीहरूको अधिकार पाउनुपर्छ भन्ने नाउँमा त कहिले ‘रेड लाइट एरिया’ को वकालतमा । तर कहिल्यै उनीहरूलाई रेडलाइट एरिया पुग्नुपर्ने बाध्यतालाई केलाउने प्रयास गरेनौ । के सामाजिक व्यक्ति र सम्भ्रान्त वर्गको हैसियतले यो हाम्रो दायित्वभित्र पर्दैन ? कहिल्यै नटुंगिने बहसको विषय र अनाडी प्रश्न पस्किन पुगेको छ- एउटी वेश्याले सुनाएको कथाबाट ।

पालुम्टार-१, कदली, गोरखा
हाल: दोहा (कतार)

तपाइँको प्रतिक्रिया