जनताका २४ माग पुरा गराउन प्रचण्डलाई २४ किलोकै माला

IMG_3862

प्रसंग अलि पहिलेको हो । एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्ड त्यतिबेला प्रधानमन्त्री थिए । प्रधानमन्त्रीसँग नागरिकका आशा हुन्छन् नै । सुदूरपश्चिम जिल्ला कैलालीमा कैलाली महोत्सव थियो । महोत्सव उद्घाटन गराउने मात्रै होइन त्यहि मेसोमा जनताले प्रचण्डसामु मागपनि राखे। यस पटक सुदूरपश्चिमवासीले आफ्ना माग राख्नपनि बडो रोचक तरिका अपनाए । राजनितिक पार्टीका नेता र प्रधानमन्त्री तथा मन्त्रीहरुले जनतालाई निकै आश्वासन दिने गरेकाले हुन सक्छ, सुदूर पश्चिमवासीले प्रचण्डसमक्ष २४ माग राख्दा हरेक मागै पिच्छे प्रतिनिधित्व हुनेगरि उनका घाँटीमा माला पनि पहिर्‍याइ दिए। यसरि मागै पिच्छे माला लगाएर सायद प्रधानमन्त्रीलाई बढि जिम्मेवारि र दायित्वको महसुस होस भनेर होला ।

 २४ माग बराबर २४ सै किलोको माला घाँटीमा बोक्दा प्रचण्डको अनुहार मालाले झण्डै छोपिएको थियो । प्रचण्ड हौसिएका थिए । हजारौं सुदूरपश्चिमवासीको लर्को देखेर पुलकित भएका उनी माला फुकालेर मञ्चमा चढे । अनि अस्पत्ताल बनाउने, सडक बनाईदिने, सुदूरपश्चिम क्षेत्रमा एउटा विश्वबिद्दालय बनाइदिने लगायतका आश्वासन दिए ।

IMG_3891

 प्रचण्ड सत्तामा रहुञ्जेलसम्म उनले दिएका अश्वसन र जनताका २४ माग मध्ये कुनैपनि पुरा हुने मेसो चलेन । उनी सत्ताबाट बाहिरिएपछि त झन हुने कुरै भएन । सरकारी स्तरबाट दिएका आश्वासन पुरा हुनु पर्ने हो । किनभने प्रधानमन्त्रीले जनतालाई दिने आश्वासनमा राज्य जिम्मेवार हुन्छ । तर त्यसपछि प्रधानमन्त्री बनेका माधव नेपालले ति मागको कुनै वास्ता गरेका छैनन् । अहिले सत्तामा सुदूरपश्चिमकै भिमबहादुर रावल ग्रिहमन्त्री छन् । सरकारमा उनको पद निकै शक्तिशाली मानिन्छ । आफैंले पुरा गर्न नसकेपनि उनले सकारात्मक पहल गर्न सक्छन् । उनलेपनि सुदूरपश्चिमका जनताका माग पुरा गराउन अहिलेसम्म कुनै पहल गरेका छैनन् ।

 त्यति बेला कैलालीमा माला पहिर्‍याइदिने जनताले भनेका थिए-हाम्रा माग जति पुरा हुँदै जान्छन् अर्को पटक मालाको तौलपनि घटाउँदै लगिन्छ । जनताका एउटै मागपनि पुरा नभए अझ थपिनसक्छन् मागपनि । त्यस्तो भएको खण्डमा मालापनि थपिँदै जान्छन् । प्रधानमन्त्रीले मालाको अझ गह्रुंगो भारी बोक्नुपर्छ । साँच्चै अबका प्रधानमन्त्रीलाई सुदूरपश्चिमका जनताले कति किलोको गह्रुंगो माला बोकाउने हुन् ?

तपाइँको प्रतिक्रिया