अवसान

विद्या सापकोटा

It's Me Bidhya[1]भालेको डाँकसँगै विउँझन्थ्यो हाम्रो गाँउघर । आज त अगाडी नै छटपटाइसकेको थियो यहाँको पवन । छिन्नभिन्न वातावरण, रोदनयुक्त खैलावैला ।

‘कुनाघरे काहिलाकि जेठि खसिछ, मलामी जान तयार होऔं ।’

‘ए ! हो र ? विचरिले साह्रै दुःख पाएकि थिइ, सुख पाइ ।’

‘ साह्रै जाति पो थिइ त, सौताले देखिसहन्नथी ।’

‘त्यस्तै हो, छोरा नपाउने आइमाइ के आइमाइ -‘

वाँचुन्जेल त सुख दिइन, मरेपछि पनि दुःख दिन छाडेकि होइन, कुलंगारनि आइमाइ ।’

‘आफ्नो पनि दिन आइसकेको छ कान्छि ! पापको ख्याल राखेर वोल हइ सानी दुलही’- कसैले अर्थ्याउँदै थियो ।

‘वाँचुन्जेल दुःख मै बाँचि, वैकुण्डमै वास होस ।’

 विभिन्न खाले विचारहरु धाराप्रवाह छुटिरहेको बेला अर्को कुनामा चिता जलीरहेको छ । काइली आमालाइ खाइरहेको आगोका त्यो ज्वालामा, उनका पहिल्लै डढिसकेका सपनाहरुको छायाँ पनि सकिँदै्छन् । लाग्दैछ, हारेर पनि जितेकी महान आइमाइको वियोगमा रुँदैछ पवन, सुसाउँदै छ हावा ।

 ‘गिता ! स्कुल किन ढिला आएकि ?’ आमा सुत्केरि हुनुहुन्छ । काम सकाएर आएको ।

गिता किन हिजो अस्ति स्कुल नआएकी ?

आमा विरामि हुनुहुन्छ, त्यसैले ।

गिता ! त्रि्रो जाँच पनि छुट्यो, किन यस्तो लापरवाही गरेकी ?

‘हेर न ! फेरि वहिनि जन्मेकी छ ।’

 हाम्रो वाल्यकाल यस्तैमा वित्यो । गिता र म एकै दिन जन्मेका रे । मेरी आमा र काहिली आमा एउटै गाउँका दिदि-वहिनि । एक अर्काको दुःख बाढ्ने चौतारी । मेरि आमा विरामि हुँदा म काहिलि आमाको दुःध खाएर वाँचेको रे । साँच्चै ! काहिँली आमाले मलाइ गितालाइ जत्तिकै माया गर्नुहुन्थ्यो । गाउँघरमा, बडो लक्ष्छिनकी वुहारि त्यो, त्यो आएपछि काइलोको जिन्दगि नै वन्यो । हात पनि मिठो छ, कसैलाइ केहि दिंदा हात पनि ठूलो छ । यस्तै चर्चा चल्थ्यो । समय एउटै रहेन । पुरातनवादी सोच र अन्धविश्वासले उहाँलाइ थिच्दै गयो । गितासहित सातजना अरु छोरी जन्मिए । स्वर्गको ढोका खुला राख्न छोरै चाहिने भन्दै लगातार काहिली आमा सुत्केरि हुँदै गइन् । केहि त कुपोषण भएर मरे, केही अपाङ्ग जन्मिए, विचमै रोगाएर मरे । एउटा छोरा नपाउने आइमाइ के आइमाइ ? गाँउलेले कुरा काट्न शुरु गरे । मर्दा वंश चलाउने पुत्र नभए वाँचेको के सार ? अलच्छिनि आइमाई, आफन्तले दुस्कारे । मर्दा लाश उठाउने, पानि खुवाउने छोरा त चाहिन्छ नै । वुढावुढी गन्गनाउन थाले । विस्तारै काइला बा र काइली आमालाइ पनि हो की जस्तो लाग्न थाल्यो । एकदिन काइलाबा नजानिदो पाराले खनिए,  हेर् काहिँलि । एउटा छोरा नपाउने स्वास्नी के स्वास्नी ? छोरिको लर्कन त पोइल जाने जात । तँ अलच्छिना रहिछस्, आफ्नो त कमजोर भाग्य ल्याइछस्, मेरो समेत गृहस्थी विगारिस् । वंश नास्ने भइस् । तँ साच्चै कुलगांरनी रहिछस् ।

 काहिँली आमा सुकसुकाउदै ढिपि गर्न थालिन् ‘हजुर ! अर्को बिहे गर्नुस’ । मर्दा दागवत्ति दिन त छोरै चाहिन्छ ।’ बालखैमा विहे गरेर ल्याएकि तँ, घर-परिवार संहालेकि छस्, अरुले छोरि पाइस् भनेर कुरा काटे, मैले पनि हो कि भनेर हप्काए तर काइली म मूर्ख रहेछु याचना गर्दै काइलाबाले सम्हाल्न खाजेथे ।अरुले भनेर वा तपाई रिसाउनुभयो भनेर हैन मलाइ छोरो चाहिन्छ तपाइ जे भन्नुस-अर्को विहे गर्नैपर्छ । मैले वंश धान्ने सन्तान दिन सकिन त, तँपाइ त दिन सक्नुहुन्छ, वरु म खोज्छु केटी । उनले ढिपी छाडिनन् । काहिलाबा लाइ पनि आखिर छोरै चाहिएको थियो । केहिदिनपछि धुमधामसँग विहे भयो । ‘कान्छि आमा’ ल्याउँदा काहिलि आमा आफैंले सवै व्यवस्था गरिन् रे, वुइकलमा बसेर रुँदै उनले गाँउलेहरुलाई भनेकि थिइन् रे, ?’अव मेरो घरमा छिट्टै छोरो जन्मिनेछ । तिमिहरुले अब औंला ठड्याउन पाउदैनौ ।’

अश्मिन ! हाम्रो त दुइटा आमा, एउटा भाइ पाउने आमा, अर्को वहिनि पाउने आमा, गिताले अर्कोदिन फूर्कँदै सुनाएकी थिइ ।

 स्कुलमा खुट्टे खेल्ने, वाटाभरि रमाइलो गर्दै हिड्ने, वाटामा फल्ने फलफुल सवै सिध्याउने, सल्लाको पात थुपारेर चिप्लेटि खेल्ने हाम्रा दिनहरु सकिदै गए । साँच्चै गिताको भाइ जन्मियो । अरु केहि वहिनी पनि । कान्छि आमा मात्र होइन, काहिलि आमा, गिताहरु सवैले ज्यान दिएर छोराको हेरचाह गर्न थाले । ‘गिता अव ठूली भैसकी, अक्षर चिन्न सकिहालि विवाह गरेर अव पठाइदिनपर्छ’ कान्छिआमाको हुकुम लगाइन् । गिता स्कूल जान छाडिन् ।

 गाँउ समाजको एकोहोरो रिति अनि त्यही बीचमा पेलिएको हामो बालापन मनभित्र अन्तरद्धन्द्ध चलिरहेको बेला पुरै देश द्धन्द्धले आक्रान्त बन्दै थियो । देश ढाक्दै अशान्तिको बादल मडाडिरहेको थियो । गाउँमा शान्ति सुरक्षाको अवस्था नाजुक हुँदै गयो । आफ्नो दाजुभाइविच पनि विश्वास गरिन छाडेको थियो । हामलाई गाउँ छोड्न उर्दि आयो । हामि विनाकारण आफू जन्मेको घर गाउँ छाडेर शहरमा शरण लिन पुग्यौ । ‘ठूलो मानिस वनेस् ।’ गाउँ छोड्दा काहिलि आमाले टाउकामा हात राखेर आर्शिवाद दिइथिन् ।

 “अश्मिन ! तिमी राम्रोसँग पढ । आमा भन्नुहुन्छ ‘तिमीले ठूलो मान्छे बनेर गाउँको नाम राख्नेछौ ।’ मैले त पढ्न पाइन तर ठिकै छ, भाइ पनि अव त स्कुल जाने भैसक्यो । कान्छिआमा हामी कसैलाइ पनि देखिसहन्नन्, गाँउघर सुस्ताएको छ , उजाडिएको छ । तर पिर नमान, म पनि मुक्तिको लागि लड्नेछु । आफ्नो लागि, आमाको लागि, पुरै देशको लागि म लड्नेछु । भोलिदेखि नै मेरो यात्रा शुरु हुनेछ । अव भेट होला, नहोला । तिमिले प्रगति गर्नैपर्छ ।” गिताले चिठी पठाइछ, पढेर रणभूल्लमा परे म । उ मुक्तिको लागि छापामार बन्छे रे, युद्धमोर्चामा जान्छे रे । कस्तो मुक्ति खोजेकी हो उसले –

 म विगतलाइ संझिएर टोलाइरहन्थे । काठमाडौंको प्रदुषण, किरासरी मान्छेहरु, बोल्न नभ्याउने व्यस्तता, कसैले-कसैलाइ चिन्न नपर्ने माहौल, एउटा सानो कोठा, बुढा वा र रोगि आमा दिग्दारिकासाथ समय विताउथ्यौ हामी । शान्ति आउनुको साटो गाउँघर जर्जर भएको खवरहरु अखवारमा छाएका हुन्थे । बाटाभरि लालुपाते फूल्ने मेरो गाउँ, सिरु र दूवोको पातहरुको स्पर्श दिने मेरो ठाउँ, मलाइ ममता चुसाएर वढाउने, आर्शिवाद दिने आमाको गाउँको वारेमा सुनेर डाँको छोडेर रुन मन लाग्थ्यो । समय हो वित्दै जान्छ रोए पनि, हाँसे पनि । महिला मुक्तिको लागि, देशको मुक्तिको लागि वन्दुक वोकेर हिँडेकि गिता कहिल्यै फर्किन । युद्धमोर्चामा लड्दा-लड्दै क. गिताले विरगति प्राप्त गरिन रे । उनी शहिद भइन् रे । के हो मुक्ति ? कस्तो मुक्ति पाइ गिताले ? दुःखि आमालाइ वेहाल वनाएर, निरिह वावुलाइ शोक रुझाएर देशको मुक्ति हुन्छ – निरुत्तर म ।

 विस्तारै देशमा शान्तिका स्वरहरु गुन्जिन थाले । मेरो वुवा सधै भन्नुहुन्थ्यो, मर्ने वेला त, म आफ्नै घर जान्छु । म अन्तिम पटकपनि मेरै झरनाको, त्यही मुलको पानि खाएर र्स्वर्ग जान चाहन्छु । अन्ततः हामी गाउँ आयौं । मेरो साथी माटोमा मिलाएको गाउँ, मेरा दिदि-वहिनि हराएको गाउँ, मेरा छिमेकिहरुलाइ परदेशी बनाउने गाउँ, तैपनि प्यारो मेरो गाउँ, मेरि काहिलि आमाको गाउँ ।

 धपक्क दारी, फोहोरी लुगा, जिर्ण शरिर, उमेरभन्दा अगाडि चाउरिएका अनुहार, ठिटलाग्दो अवस्थाका काइला बा । “छोरालाइ काठमाडौंको राम्रो स्कुलमा भर्ना गरिएको छ, एउटा छोरो । २, ३ वटि छोरिको विवाह भयो, ठाहिलिलाइ वम्वै पुर्‍यायो भन्छन । गिता शहिद वनि । कान्छि दुलहि चौविसै घण्टा रिसाएको रिसायै गर्छिन् । काहिली विचरी, काम, गाउँघरको मान-मर्यादा, छोरा-छोरिको पिरले मर्नै लागेकि छ । अव त होस पनि गइसकेको छ ।” हामीलाइ देख्नासाथ भक्कानिए उनी । सौताको छि : छि : र दुर : दुर, छोराछोरिको मृत्यु, रोग र वेपत्ता, अभावको जीवन, रित्तिइँदै गइरहेको गाँउघर काइली आमामा धेरै नराम्रो छाप परेछ । छिनमा राम्रो कुरा गर्ने, छिनमा वेहोस हुने अनौठो रोग लागेछ उनलाइ । छोरो शहरमा कुलतमा फसेछ,नशामा डुवेर सडकमा लम्पसार पर्छ रे । सारा सम्पक्ति उठाइसकेछ । कान्छि आमा काहिलि आमाको कुदृष्टि परेको भन्दिरहिछन । काहिलि आमा छोराको खवर सुनेर वाँकि एउटै साहारा टुट्यो भनेर मुर्छित प्रायः ।

 ‘तँ….तँ यत्रो भइसकिस् अस्मिन ! तँ ठुलो मान्छ वनिस् नि हैन ? बन्नुपर्छ, गाउँको नाम राख्नुपर्छ । गिता शहिद भइ । मेरो छोरो छ नि, उ पनि अव ठूलो भइसक्यो । मलाइ पाल्छ । अव फेरि रमाइलो हुन्छ हगि अस्मिन ?’ मलाइ देख्नासाथ एकैसासमा सवैकुरा भनि भ्याईन् उनले । केहि हराएजस्तो, केहि भेट्टाएजस्तो उढेको अनुहार मलाइ कस्तो कस्तो लाग्यो । कान्छि आमा भूत-भूताउदै थिइन् ? ‘अव फेरि वोक्सिनिको चुरिफुरि वढ्ने भो ।’

 हामी गाँउ आइ पुग्दा नपुग्दै हावासरी फिलिलि हल्ला फिँजियो । काहिली आमाको मुटु, उनको ज्यान अडि्कएको छोरो, दूर्ब्यवसनकै क्रममा अर्को समुहसँग कारोवार नमिल्दा अपहरण परेछ ।तर अचम्म काइली आमा मज्जाले हाँस्न थालिन् । मेरो छोरो ठूलो मान्छे वन्यो हा……..हा….हा । अश्मिन ! मेरो छोरो ठूलो मान्छे भयो हैं…..हा…हा…..हा ।

 काहिँलि आमा हाँस्दा-हाँस्दै ढलिन् । उनको दागवत्ति दिने छोरो, र्स्वर्गको ढोका खोल्ने छोरो अपहरणमा परेको छ, मुक्त भैहाले जेल पर्छ ।

खै त काहिलिको छोरो ? वाँच्लिन जस्तो छैन !

के को त्यस्को छोरो हुनु ? यो मरेर के हुन्छ ? कान्छि आमा दुरवचन ओकल्दै थिइन्।

गाउँलेहरु जम्मा भए । काहिलि आमालाइ तुसलीको मठमा सारियो  । मेरि आमा पिल-पिलाउन थाल्नुभयो । म रुन पनि सकिन । काहिलि आमाले बनाउन चाहेको ‘ठूलो मान्छे’ कति लाचार त्याहा वस्नै सकिन । पिल-पिलाउँदै हिडेथे घरतिर । केहि खान मन लागेन । निद्रा त झन् कुन दुर देशमा पो हो ।’काहिलि आमा नवाँचेकै वेश कमसेकम वुढेसकालमा सौताको दूर्ब्यवहार सहन त पर्दैन । फेरि छोराको पिर पनि पर्दैन । सके गिताको यादको साटो र्स्वर्गमै भेट हुन्छ की ?’ अमिलो मन बनाउदै ममतामयी आमाको मृत्युको कामना गर्दै ओछ्यानमा पल्टिएथे । तर विहान नहुँदै……….।

 म त स्मृतीहरुमा घोत्लिन पो पुगेछु । साँच्चै “मेरी वाल सखि गिताकि आमा, मुक्तिको लागी लड्ने कमरेडकी आमा, छोरा पाउन सौता भित्त्राउने अचम्मकी आमा, मलाइ स्तन चुसाउने ममतामयी आमा, सौताको विद्रोह नगरी गाउँलेको भाडा माझ्दै हिँड्ने आमा, पोइल जाने जातको लर्कन लगाउने आमा, समयले ‘लच्छिनकीबाट वोक्सि वनाइएकी आमा’, मेरि काहिलि आमा वौलाएर मरिन् । बोहोसि मै सिद्धिइन् । उनको सपनाको स्वर्ग हानिइन् । आशु निख्रिएका राता आखाले एकपटक फेरी हेरे चिता त रित्तिसकेको थियो, उड्दै अनि बग्दै खरानीका कणहरु ।।

 कल्याणपुर -७, नुवाकोट

-हालः शंकरदेव क्याम्पस (काठमाडौं)

[email protected]

तपाइँको प्रतिक्रिया