चित्र-धर्तिको क्यान्भासमा
-रन्जु आचार्य
कुन्ठित मनका सुस्केराहरु
एकाएक बिलिन बन्छन्
चित्र-धर्तिको हृदय बिदारक क्यान्भासमा
निष्प्राण बन्छन् भावनाका उपनिबेशहरु
उपहास एउटा कथाको पात्रजस्तै
निरुत्तर प्रश्नका छालहरुले
किनारा रेट्न थाल्छन्
घोस्-अघोस् स्वरलहरिमा तैरदै बाचेको ढुक्ढुकी
भोकले लम्पसार हातहरु
एकपछि अर्को प्रतिघातको शिकार बन्दै
सुकेको पतिङ्गर सोहोर्दै अनि बडार्दै
मडारिन्छन् आफ्नै अबयबहरुसँग
हाँस्ने मुस्कानयुक्त दन्तलहरी
एकएक मर्किन्छन्, भाचिन्छन्, अनि टुक्रिन्छन्
निस्तेज मनोदशा भंगालीएको खहरेजस्तै
उद्घोस् गर्छन्
आफ्नै पदचाप लतिकाहरुसँग
झम्टाइको निरन्तरतासँग यसपाली
प्रकृतिको पालो परेको छ ।
आङका लुगासमेत बाँकी नराखी
खोसिएको अस्मिता
अट्टहास गरेर रोइरहेछ
कहालीलाग्दो कङ्कालसँग यसपल्ट
समयको नराम्रोसँग जम्काभेट भएको छ ।




